Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बौलाहा कुकुरले टोकेपछि मरेका पशुचौपाया जथाभावि फालिए

मरेका जनावरको शव जमिनमुनि गाड्न वडा कार्यालयको आग्रह
२०७९ असाेज १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१०, मा बौलाहा कुकुरले टोकेका पशुचौपाया मरेपछि जथाभावि रुपमा फालिएका छन् । गाउँका खोला तथा खोल्सामा मरेका जनावर देखिएपछि गाउँलेहरु रोग फैलने डरले थप त्रसित बनेका छन् ।

भदौ ११ गते बौलाहा कुकुरको टोकाइबाट घाईते भएका मध्य ११ वटा पशुचौपायहरु केहि दिनअघि मरेका थिए । वडा अध्यक्ष धनबहादुर खड्काले वडा कार्यालयले गरेको सूचनाको वेवास्ता गरेर केहि स्थानीयले मरेका जनावरहरु खुल्ला रुपमा फालेको बताउनुभयो । मरेका पशुचौपायाहरुको शव गाडेर व्यवस्थापन गर्नुपर्नेमा खुल्ला रुपमा खोलामा फालिएपछि संक्रामक रोगहरु फैलने डरमा स्थानीयहरु रहेको उहाँले बताउनुभयो ।

मंगलबार जिल्ला स्वास्थ्य कार्यालयबाट गएको स्वास्थ्यकर्मीको टोलीसामु स्थानीयले खोला तथा खोल्सामा जथाभावि मरेका जनावरहरुको शव फालेको गुनासो गरेका थिए । स्वास्थ्य कार्यालयका डाक्टर ओसियन पुन, पशु प्राविधिक भुवन चौधरी, मुसीकोट नगरपालिका स्वास्थ्य सेवा शाखाका बेदाराम ओली सहितको टोलिले अनुगमनको क्रममा मरेका जनावरहरु खोला तथा खोल्सामा फालेको अवस्थामा रहेको गुनासो आएको जनाएको छ ।

डा. ओसियन पुनले जथाभावि फालिएका शवहरुबाट पानीजन्य रोगहरु फैलन सक्ने भएकोले शवहरु माटोमुनि गाड्न आग्रह गरिएको बताउनुभयो । केहि स्थानीयहरु त्रसित भएको पाईएकोले सतर्क रहन र नआत्तिन सुझाव दिएको उहाँले जनाउनुभयो ।

वडा कार्यालयलले एक सूचना समेत जारी गरेर मरेका पशुचौपायहरु खुल्ला रुपमा फाल्दा संक्रमण फैलिएर थप क्षति हुनसक्ने भएकोले कम्तिमा चार मिटर गहिरो खाडलमुनि मरेका पशुचौपाया गाड्न आग्रह गरेको छ । बौलाहा कुकुरले जनावर तथा दुई जना मानिसलाई टोकेको थियो ।

त्यसयता वडा कार्यालयले नगरपालिकाको पशु सेवा शाखासँग समन्वय गरेर खोप शिविर सम्पन्न गर्नुका साथै सचेतनामुलक कार्यक्रमहरु गरिरहेको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रेबिजको संक्रमण थप नफैलियोस् भनेर गाउँमा रहेका सबै कुकुर र संक्रमित कुकुरले टोकेका पशुचौपाया रहेको घरका अन्य सबै पशुलाई खोप लगाईएको छ ।

बौलाहा कुकुरको टोकाइबाट घाइते भएका मध्य दुई वटा गोरु, एउटा गाई, एउटा भैंसी, एउटा पाडो र चार वटा कुकुर केहि दिन अघि मरेका थिए । थप क्षति हुन नदिनका लागि वडाको पहलमा गाउँमै शिविर संचालन गरेर रेबिज विरुद्धको खोप लगाइएको छ । बौलाहा कुकुरले टोकेको पशुको सम्पर्कमा रहेका नौ जना स्थानीयले पनि जिल्ला अस्पतालमा गएर खोप लगाएका थिए ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्