Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादीहरु गाउँमा जनभेट गर्दै, काँग्रेसहरु काठमाडौंमा 'नेता भेट्दै'

उम्मेदवार सिफारिस पछि के गर्दै छन् रुकुम पश्चिमका दलहरु ?
२०७९ असाेज १२
tribeni2

रुकुम पश्चिम / आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएको छ । रुकुम पश्चिममा क्रियाशिल रहेका सबै राजनीतिक दलहरुले उम्मेवारीको लागि नेताहरुको नाम आफ्नो माथिल्लो पार्टी निकायमा सिफारिस गरिसकेका छन् ।

जिल्लाको प्रमुख दल रहेको नेकपा माओवादी केन्द्रले पहिलो चरणको जनभेटघाट सम्पन्न गरेको जनाएको छ भने माओवादीको प्रमुख प्रतिस्पर्धि रहेको नेपाली काँग्रेस टिकटको लागि काठमाडौंमा नेता भेटघाटमा व्यस्त रहेको देखिन्छ ।

जिल्लामा मुख्य प्रतिस्पर्धि दल माओवादी केन्द्र यतिवेला आफ्नो तल्लो कमिटीबाट कति मत आउँछ भनेर आँकलन गर्न थालेको छ । माओवादी केन्द्रले चुनाव लक्षित गरेर पार्टीको जिल्ला कमिटिको बैठक, पालिका स्तरिय बैठक र वडा कमिटीहरुको बैठक सकेर टोल कमिटीहरुको बैठक बसाल्दै हिडेको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले बताउनुभयो । यस्तै उहाँले पार्टीका सवै जनवर्गिय संगठनको पनि बैठक सकेको बताउनुभयो ।

उहाँका अनुसार माओवादी केन्द्रले जिल्लामा गोपाल शर्माको नेतृत्वमा २७२ जना, प्रदेश निर्वाचन क्षेत्र नम्बर 'क' मा गोर्ख बहादुर केसीको नेतृत्वमा एक हजार ५१ र प्रदेश निर्वाचन क्षेत्र 'ख' मा विशाल शर्माको नेतृत्वमा एक हजार ५१ जनाको निर्वाचन परिचालन कमिटी खटाएको छ ।

यता अर्को मुख्य प्रतिस्पर्धिका रुपमा रहेको दल नेपाली कांग्रेस भने चुनावी कार्यक्रम लिएर जनताको घरदैलो जान सकिरहेको छैन । पार्टीका सवै नेता यतिवेला काठमाडौँमा रहेका कारण चुनावी कार्यक्रम लिएर जान नसकेको नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु बताउँछन् । जिल्लाबाट उम्मेदरवारका लागि सिफारिस भएका नेताहरु काठमाडौ पुगेर आफू निकट नेताहरु भेट्नमै व्यस्त देखिन्छन् ।

यति वेला जिल्लामा एकजना मात्रै उम्मेदवार छानिएर आउन नसकेका कारण पनि जनताको घरदैलोमा जान ढिला भैरहेको नेपाली कांग्रेस रुकुमका सचिव परमेश्वर भण्डारीले बताउनुभयो । पार्टीका केन्द्रिय सदस्य, प्रदेश महामन्त्री, जिल्ला सभापति, जिल्लाबाट उम्मेदवार सिफारिस भएका अधिकांश नेताहरु काठमाडौँमा टिकट मिलाउनमै व्यस्त रहेको उहाँको भनाई छ । अव उहाँहरु फर्के लगत्तै चुनाव लक्षित कार्यक्रममा जोडिने सचिव भण्डारीले उल्लेख गर्नुभयो ।

यसैगरि जिल्लामा क्रियाशिल रहेका नेकपा एमाले, नेकपा एकिकृत समाजवादी, राप्रपा, जनमोर्चा लगयतका दलहरु पनि खुल्ला रुपमा चुनाव लक्षित कार्यक्रम लिएर मतदातामाझ गएका छैनन् ।
सत्तामा रहेका दलहरु आगामी निर्वाचनमा गठबन्धन गरेर चुनावमा जानको लागी सिट बाँडफाँटको चाँजो मिलाउन कसरत गरिरहेका बेला रुकुममा भने काँग्रेस र माओवादी केन्द्र बीच चुनावी गठबन्धनको सम्भावना क्षिण रहेको छ । अलग अलग चुनाव लड्ने मनसाय अनुसार नै माओवादी मतदाता बिचमा गएको छ भने काँग्रेसले केन्द्रकै निर्णय कुरेर बसेको देखिन्छ ।

गएको स्थानीय तहको चुनावमा पनि जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले तालमेल गरेर चुनाव लडेका थिए भने नेपाली कांग्रेस र नेकपा एमाले मिलेर चुनाव लडेका थिए ।

सांगठानिक एकता, चुनाव लक्षित गतिबिधि, समयमै उम्मेदवारको टुंगो लगायतका कारण माओवादी जिल्लामा थप सक्रिय बन्दै गएकोछ भने केन्द्रबाटै गठबन्धनको जोड र टिकटको फिक्स भएमा बल्ल गाउँ जाने काँग्रेसको चुनावी शैलीले झन् कमजोर मत परिणाम आउने सम्भावना रहेको छ ।

माओवादीले प्रतिनिधि सभा निर्वाचनमा वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश निर्वाचन क्षेत्र 'क' मा महेन्द्र केसी र प्रदेश निर्वाचन क्षेत्र 'ख' मा राजकुमार शर्मालाई उम्मेदवार बनाएर गाउँ गएको छ । काँग्रेस, एमाले, समाजवादी लगायतका दलहरुमा भने उम्मेदवारको टुंगो छैन, मतदाता आकर्षण गर्ने गतिबिधि छैन । माओवादी भित्रैको किचलोको कारण आफू तिर मत आउने 'च्याँखे' दाउमा र गठबन्धनको भागको आशामा काँग्रेस रहेको देखिन्छ ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्