Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महतमा बनेको टेलिकमको टावर सञ्चालन

२०७९ असाेज १५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिका ६, महतमा निर्माण भएको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । चाडवाडको रमझमले रौनक दिएको महत गाउँमा सञ्चार सेवा सुरु भएपछि स्थानीय सर्वसाधारणहरु थप खुशि भएका छन् ।

भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिं श्रेष्ठले लामो समयको प्रयास र पहलपछि महतमा रहेको टेलिकमको टावर सञ्चालनमा आएको बताउनुभयो । उहाँका अनुसार यस अघि टावर सञ्चालन नहुँदा भूमे गाउँपालिकाका सर्वसाधारणहरु सञ्चारको सहज पहुँचमा थिएनन् । भरपर्दो सञ्चार सेवा नहुँदा स्थानीयहरु अग्लो डाँडा, अर्को गाउँ र सदरमुकाम रुकुमकोट गएर सञ्चार सम्पर्क गर्न बाध्य रहेका थिए ।

टावर सञ्चालनमा आएपछि सबैतिर फोन लागिरहेको र गाउँमा खुशियाली छाएको भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो । उहाँले फोनको टावर बनेर पनि सञ्चालनमा नआउँदा फोन गर्न नै अर्को गाउँ जानुपर्ने बाध्यता अब हटेको बताउनुभयो । टावरले अहिले भूमे गाउँपालिकाका अधिकांश वडामा काम गर्न थालेको छ । ‘हिजो मात्रै सञ्चालनमा आएकोले अन्यत्र वडामा मोबाइल नेटवर्कले काम गरे÷नगरेको खबर आएको छैन,’ बुढाले भन्नुभयो ‘हाम्रो मोबाइलमा राम्रो काम गरेको छ ।’

दशैं तिहारको बेलामा गाउँमा नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आउँदा थप खुशि भएको स्थानीयले जनाएका छन् । भूमे गाउँपालिका ६, महत गाउँका कमल बुढाले चाडपर्व मनाउन गाउँ फर्केकाहरु झनै रमाएको बताउनुभयो ।

उहाँका अनुसार अध्धययनको लागि शहर गएका बिद्यार्थीहरु र रोजगारीको लागि परदेश गएकाहरु गाउँमा आएसँगै सञ्चार सेवा सुरु हुँदा गाउँमा दोहोरो रौनक छाएको छ । घर बाहिर रहेका आफन्तहरुहरुसँग मोबाईलमा कुरा गर्न अव अन्यत्र जानुपर्ने समस्याको अन्त्य भएको बुढाले जनाउनुभयो ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०८:१०
प्रतिक्रिया दिनुहोस्