सोसल मिडिया
रुकुम पश्चिम / ‘हुनेलाई दशै, नहुनेलाई दशा’ त्यसै भनिएको हैन । रुकुम पश्चिमको एक बादी परिवारको बस्तीमा दशैं हैन दशा आएको भन्दै बादी समुदाय खिन्न बनेका छन् । नयाँ लगाउने, मिठो खाने, टिका लगाउने, दक्षिणा र आर्शिवाद बाँड्ने चलन रहेको समाजको कारण चौरजहारी नगरपालिका १ मा रहेका बादी समुदायमा दशैं उल्लासमय हुन सकेको छैन ।
“कसैले पत्याएर ऋण दिए त एक छाक मासुभात खाने हो,” ६४ बर्षिय पशुपति बादीले भन्नुभयो, “हाम्रा दिन यस्तै हुन्, दशैले झन् ऋण थप्छ, दशा बन्छ हामीलाई ।” घरमा साँझ बिहानको छाक टार्न धौ धौ परिरहेको बेला खर्चिलो र भुड्किलो बन्दै गएका चाडपर्वहरुले गरिब परिवारलाई थप पीडा हुने गरेको छ । “घरमा भात खाने चामल छैन, दशैंमा टिका बनाएर निधार रंगाउने चामल झन् कहाँबाट पाउनु,” पशुपतिले भावुक बन्दै थप्नुभयो, “यसै त गरिबका दिन, चाडवाडले गर्दा ऋण माथी ऋण ।”
२२ घरपरिवार रहेका यस बादी बस्तीमा ९६ जनसंख्या रहेको छ । न कसैको जागिर, न उच्च शिक्षा । न गतिलो घरबास, न त जग्गा जमिन । माछा मार्ने, मादल र सुल्पा बनाउने पेशा अंगालेका बादीहरुको पेशा लोप हुँदै गएपछि झन् परिवार पाल्न संकट लाईलागेको छ ।
६६ बर्यिय बिसे बादीका अनुसार पहिला पहिला चाडवाडमा मादल बनाउने, मेलापर्वमा सुल्पा बनाएर बेच्ने र प्राय खोला र नदिमा माछा मारेर खर्च धान्ने गरिन्थ्यो । तर अहिले मादल, सुल्पा बिक्रि हुन छोडेकोले पेशा नै संकटमा परेको उहाँको बुझाई छ । खलोमुठी गरेर पेट पाल्ने गरेका बादी परिवारमा रोजगारीको समस्या बल्झदै गएको छ । बिष्ट (साहु)हरुले दिएको अन्नमुठीले सधैभरी नपुग्ने भएकोले बादी परिवारमा सरकारले रोजगारीको व्यवस्था गरिदिए ठुलो कल्याण हुने आशा बिसे बादीले व्यक्त गर्नुभयो ।
आफू, श्रीमती र छोराछोरी सहित १२ परिवारको घरमूली रहेका भिमबहादुर बादीले चाडवाड आउँदा झन् समस्या हुने गरेको बताउनुभयो । “छोराछोरीेले नयाँ नाना र चिचि भन्दै दशैं पर्खेका छन्, कहाँबाट ल्याएर मन बुझाउनु”, उहाँले थप्नुभयो, “चाडवाड आउँदा गरिबीको पीडा नराम्ररी सहनुपर्छ ।”
पछिल्लो पटक बादी समुदायका पुरुषहरु बजारमा मालबहाक गाडिका सामान लोडअनलोड गर्ने गर्दछन् । दिनभर सामान बोेकेर आएका गाडिको सामान झार्ने र पु¥याउने काम गरेर आउने रुपिँयाले दाल चामल, नुन, तेलको जोहो गरेर छाक टार्ने गरेका छन् । दशैको बेला बजारमा त्यो काम पनि कम भएपछि उनीहरुलाई दैनिक छाक टार्न मुश्किल हुने गरेको छ ।
बादी परिवारको मुख्य समस्या भनेकै खाना र लगाउनको हो । चाडपर्वकै लागि भनेर परिवारमा नयाँ लुगा किनेको याद नभएको भिमबहादुरले बताउनुभयो । बढ्दै गएको परिवार संख्या, बेरोजगारी र महंगीले थप मारमा पारेको उहाँले उल्लेख गर्नुभयो ।
सरकारले जनता आवास कार्यक्रम अन्तर्गत जमिन भएका केहि परिवारको घर बनाईदिएको छ । बासको अभावमा सदियौ देखि फुसको छानोमुनी बस्दै आएका उनीहरुलाई घर हुँदा ठुलो राहत मिलेको छ । तर, कतिपयको नाममा जग्गा नहुँदा अवस्था उस्तै छ । जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरहरुमा शौचालय छैन । शौचालय बनाउने जमिन नहुँदा अझैपनि खुला ठाउँमा दिशापिसाब गर्न बाध्य छन्, बादी समुदाय ।
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले स्थानीय सरकार गरिब र विपन्नमैत्री नै रहेको बताउनुभयो । ‘उहाँहरुको स्वास्थ्य बीमा निशुल्क गरेका छौ,’ नगरप्रमुख बादीले भन्नुभयो, ‘कक्षा १० सम्मको शिक्षा निशुल्क, खानेपानी शुल्कमा पनि गरिब तथा विपन्न परिवारलाई छुटको व्यवस्था गरेका छौ ।’ एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानीको मिटर जडान देखि पाँच युनिटसम्मको पानीको महशुल नगरपालिकाले तिरिदिने गरेको छ ।
जनता आवास कार्यक्रमबाट सबैको घर बनेतापनि बुहारी भित्र्याएर अलग हुने छोराहरुको कारण सबैलाई घरबास नपुगेको उहाँले उल्लेख गर्नुभयो । गरिब र विपन्नहरुलाई उत्पादन तथा रोजगारीमा जोड्नको लागि सामुहिक तथा व्यक्तिगत खेती तथा व्यवसायमा अनुदान दिने नीति ल्याएको उहाँले जनाउनुभयो । केहि गर्छु भन्नेहरुको लागि स्थानीय सरकारको साथ सधै रहने समेत उहाँले उल्लेख गर्नुभयो ।