Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वर्षाले रुकुम पश्चिमको डाँगीमोडनेर राप्ती राजमार्ग भासियो

२०७९ असाेज २२
tribeni2

रुकुम पश्चिम / लगातारको वर्षाको कारण राप्ती राजमार्गको रुकुमपश्चिम खण्ड भासिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ६ डाँगीमोड नजिक राजमार्ग भासिएको हो ।

मुसीकोट–झुल्नेटा–सल्यान सडकखण्ड अन्तर्गत डाँगीमोडनजिक करिब २२ मिटर सडक पहिरोसँगै भासिएको रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

लगातारको वर्षाले शुक्रबार दिउँसो सडक भासिएपछि राजमार्गमा यातायात बन्द भएको छ । प्रजिअ घिमिरेले सडक डिभिजन कार्यालयसँग समन्वय गरेर वैकल्पिक बाटो निर्माण गर्ने तयारी भैरहेको बताउनुभयो । “भासिएको सडकखण्ड तत्काल निर्माण हुने सम्भावना कम छ,” प्रजिअ घिमिरेले भन्नुभयो, “तत्कालको लागि अर्कोतिरबाट बाटो खोलेर यातायात सुचारु गर्ने कोशिस भैरहेको छ ।” पानी नरोकिएकोले काम भने सुरु हुन सकेको छैन ।

वर्षासँगै आएको पहिराले जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । दशैंको टिका थाप्न जिल्लाबाहिर गएका सर्वसाधारणहरुले बाटोमा हैरानी खेप्नुपरेको प्रतिक्रिया दिएका छन् । सल्यान र रुकुमपश्चिमको सिमाना नजिकको खौला र डाँगीमोडमा बाटो अवरुद्ध हुँदा रातभर यात्रुहरु गाडिमै बस्न बाध्य भएको गाडि चालक विकास केसीले जानकारी दिनुभयो । लगातार पानी परिहदा अन्य यात्रुका साथै बालबालिका र जेष्ठ नागरिकहरुले समेत रातभर गाडिमै जाग्राम हुनुपरेको यात्रु चेतनाथ घिमिरेले बताउनुभयो ।

जिल्लाका अन्य ग्रामिण सडकहरु समेत अवरुद्ध रहेका छन् । 

लगातारको वर्षाको कारण आएको पहिराले त्रिवेणी गाउँपालिका –६ का विभिन्न स्थानमा क्षति समेत भएको छ । वडा अध्यक्ष भद्रबहादुर सिर्पालीका अनुसार पहिरोमा परेर स्थानीय राजेन्द्र पुनका ६ वटा ब्याउने बाख्रा मरेका छन् । त्यसैगरी सोहि वडाको बाँठाकोटमा पहिरो आउँदा स्थानीय पदमबहादुर घर्तिको घर पुरिएको छ । लगातारको वर्षाको कारण आएको पहिरोले घर्तीको दुईतले घर पुरिएर क्षति गरेको हो । पहिरोले घरमा बाँधेर राखेको एउटा बाख्रा र १५ वटा कुखुरा मरेका छन् । पीडितको पाँच जनाको परिवार अहिले आफन्तको घरमा शरण लिएर वसिरहेको बताईएको छ ।

यसैगरी वर्षा सुरु भएसँगै गत मंगलबारदेखि रुकुममा बिद्युत सेवा अवरुद्ध भएको छ । विभिन्न स्थानमा गएको पहिरो र ढलेका रुखका कारण बिद्युतका पोल र तारहरुमा क्षति भएकोले विद्युत लाईन प्रशारण हुन नसकेको विद्युत प्राधिकरण कार्यालय रुकुम वितरण केन्द्रले जानकारी दिएको ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्