प्रदेश एक को राजधानी विराटनगर निश्चित

काठमाडौँ २२ बैशाख ।

प्रदेश नं १ को राजधानी विराटनगर कायम हुने भएको छ । सत्तारुढ नेपाल कम्युनीष्ट पार्टी नेकपाले प्रदेश १ को राजधानीका लागी विराटनगरको प्रस्ताव प्रदेश सभामा पेश गरेको छ ।

आईतबार प्रदेश संसद सचिवालयमा दर्ता भएको प्रस्तावमा नेकपाले राधजानी विराटनगर तोक्ने तथा प्रशासनिक क्षेत्र मोरङकै सुन्दरहरैचा, विराटनगर र सुनसरीको ईटहरी राख्न सकिने उल्लेख गरिएको छ ।

यस्तै नेपाली काँग्रेसले पनि प्रदेश राजधानीका लागी विराटनगरको प्रस्ताव पेश गरेको छ । सत्तारुढ र प्रमुख प्रतीपक्षले विराटनगरलाई राधजानी गराउने प्रस्ताव पेश भएपनि दुवै दलका धनकुटाका सांसद, संघिय समाजवादी फोरमका सांसद र काँग्रेसका प्रकाश प्रताव हाङमाङले धनकुटालाई राजधानी बनाउन भन्दै प्रस्ताव पेश गरेका छन् ।

पेश भएको प्रस्तावमा भोली नै कार्यव्यवस्था समितिको बैठक बसेर अन्तिम टुंगो लगाईने मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् ।

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले बिराटनगरलाई नै राजधानी तोकिने बताए । नेकपाले राजधानीका बिषयमा फरक प्रस्ताव पेश गरेका सांसदले भोलीसम्म प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने रुलिङ गरेको छ ।

नेपाली काँग्रेसले पनि आफ्ना सांसदलाई फरक प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । प्रदेश १ सरकारले नाम र राजधानीको टुंगो लगाउन आज सम्म प्रस्ताव पेश गर्ने समय दिएको थियो ।

नामबारे कुनै पनि प्रस्ताव नपरेको संसद सचिवालयले जनाएको छ । नामको बिषय भने अब संसदको अर्को अधिवेसन सम्मका लागि थाँती रहने भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  २१:०५
प्रतिक्रिया दिनुहोस्