Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कालोपत्रे भएको आठ वर्षसम्म पनि सञ्चालनमा आएन चौरजहारी विमानस्थल

विमानस्थल सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती
२०७९ असाेज २५
tribeni2

रुकुम पश्चिम / दशै तिहारको बेलामा सञ्चालनमा आउने अपेक्षा गरिएको रुकुम पश्चिमको चौरजहारी विमानस्थल यस पटक पनि सञ्चालनमा आएको छैन । विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणहरुले सास्ती पाउने गरेका छन् ।

लामो समयदेखि बन्द अवस्थामा रहेको चौरजहारी नगरपालिका –१, स्थित यस विमानस्थललाई चाडवाडको बेलामा सञ्चालनमा आउने स्थानीयले अपेक्षा गरेका थिए ।

चौरजहारी नगरपालिका २, का मदन कुमार गौतमले आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यस वर्ष दशैतिहारमा सञ्चालन गरिने आशा बोकेतापनि निराशामा परिणत भएको बताउनुभयो । तत्कालिन स्थानीय सरकारका जनप्रतिनिधीहरुसँगको टोलीसँग विमानस्थल सञ्चालनको लागि पर्यटन मन्त्रालय जाँदा दशैतिहारको बेलामा सञ्चालनमा ल्याउन सकिने आश्वास पाएको उहाँले जानकारी दिनुभयो । तर विमानस्थल सञ्चालनको कुनै प्रक्रिया सुरु नगरिएको उहाँको भनाई छ ।

स्थानीय खिमप्रसाद जैसीले विमानस्थल बेवारिसे जस्तै भएको बताउनुभयो । चाडपर्वको बेला सडक यातायातमा जोखिमपूर्ण यात्रा गर्दै आउने सर्वसाधारणहरु जहाजको सुविधा लिनबाट बञ्चित भएको उहाँले बताउनुभयो । ‘न गतिलो सडक बनेको छ, न भएको एर्पोटमा जहाज आउँछ,’ जैसीले भन्नुभयो, ‘राज्यको ठुलो सम्पति खेर गईरहेको छ, जनताले कष्ट भोगिरहेका छन् ।’ चाडवाडको बेला शहर तथा परदेशबाट घर फर्कनेहरुको भिडले गाडिको यात्रा चुनौतिपुर्ण रहेको छ ।

२०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी चौरजहारीमा विमानस्थल बनाइएको थियो ।

२०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्ग कालोपत्र गरिएको थियो । पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपिँयाको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउन कम भए । पछिल्लो पटक यो विमानस्थल बन्द जस्तै छ । विमानस्थल र टावर कुनैमा कर्मचारी छैनन् । 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्