सोसल मिडिया
रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकाले किसानलाई अनुदानमा बीउ वितरण सुरु गरेको छ ।
किसानलाई कृषि पेशामा व्यवसायीक रुपमा लाग्न प्रेरित गर्ने र उत्पादनमा वुद्धि गर्ने उद्धेश्यका साथ अनुदानमा बीउ वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
सिस्ने गाउँपालिकाका कृषि शाखा प्रमुख दिनेश ओलीका अनुसार किसानहरुलाई ८० प्रतिशत अनुदानमा गहुँ र चाईनिज लसुनको बीउ विरतण गर्न थालिएको हो । उहाँका अनुसार गाउँपालिकाभरिका एक हजार दुई सय घरधुरी किसानलाई गहुँको बीउ र सात सय घरधुरीलाई लसुनको बीउ वितरण गरिने छ । प्रति किसान गहुँको बीउ न्युनतम पाँच देखि अधिकतम १५ किलोग्राम र लसुन न्युनतम तीन देखि पाँच किलोग्राम वितरण गरिने कृषि शाखा प्रमुख ओलीले जानकारी दिनुभयो । मंगलबार मात्र गाउँपालिकाको वडा नम्बर ५ र ६ का १२० जना किसानलाई बीउ बितरण गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र उपााध्यक्ष गोपाल रेउलेले किसानहरुलाई बीउ प्रदान गर्नुभएको हो ।
बीउ वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष रेग्मीले व्यवसायीक कृषि पेशा गरेर आर्थिक उपार्जनमा लाग्न किसानहरुलाई अनुरोध गर्नुभयो । किसानहरुको हितका लागि स्थानीय सरकार लागिपरेको हुनाले उत्पादनमा बृद्धि गर्न र बजार माग अनुसारको उत्पादन बढाउन उहाँले आग्रह गर्नुभयो ।
गाउँपालिकाले बाँकि किसानहरुलाई सम्बन्धित वडा कार्यालयबाटै बीउ वितरण गर्ने जनाएको छ । बीउको मागका लागि निवेदन दिन गाउँपालिकाले सूचना आह्वान गरेको थियो । किसानहरुको माग अनुसार बीउ वितरण गरिने गाउँपालिकाले जनाएको छ ।