Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिरोले त्रिवेणीको एक गाँउ, क्याम्पस र आलु चिप्स उद्योग जोखिममा

tribeni2

रुकुमपश्चिम /  त्रिवेणी गाउँपालिकाको एक गाउँ पहिरोले जोखिममा परेको छ । गाउँपालिकाको वडा नम्वर २ स्थित बर्खेटाकुरा टाकुरडेरा टोल लगातार परेको झरीसँगै आएको पहिरोको जोखिममा परेको हो ।

सिम्रुतु–रुँघा–रोल्पा सडकखण्डमा झरेको पहिरोको कारण पाँच वटा घर उच्च जोखिममा रहेका छन् भने पहिरो माथि रहेको गाउँ नै जोखिममा रहेको वडा सदस्य भगवती कठायतले बताउनुभयो । उहाँका अनुसार गीता चन्द, बिरबहादुर कठायत, टिकाराम पुन, नारायण चन्द र छबिलाल पुनको घर उच्च जोखिममा रहेका छन् ।

पहिरो झरेको ठाउँमा पानीको मूल जागिरहेको कारण पहिरो झर्ने क्रम अझै नरोकिएको स्थानीयले बताएका छन ।  पहिरो झर्दै जाँदा माथिल्लो भागमा रहेका करिब २५ घर समेत जोखिममा रहेका छन् । पहिरो रोकथामको कुनै उपाय नगरिएमा ठुलो क्षति हुनसक्ने समेत स्थानीयले बताए ।

पहिरोका कारण सिम्रुतु–रुँघा–रोल्पा सडकखण्ड असार महिनाको अन्तिम साताबाट अवरुद्ध रहेको वडा सदस्य कठायतले जानकारी दिनुभयो ।

स्थानीय गीता चन्दले आफ्नो दुई वटा घरको आँगन पहिरोमा मिसिएको बताउनुभयो । घरका सदस्यहरुले घर छोडेर आफन्तको घरमा बसिरहेको समेत उहाँले जानकारी दिनुभयो । घर मुनिबाट खनिएको सडकमा बर्षा लागेसँगै नियमित पहिरो गईरहेको तर रोकथामको कुनै प्रयास नभएको समेत उहाँले उल्लेख गर्नुभयो । घरमा रहेका सामान निकाल्नुपर्दा डराई डराई घरभित्र पस्ने गरेको समेत चन्दले बताउनुभयो ।

स्थानीय लिलामणी दाहालले पहिरो झरेको स्थान माथीको गाउँसँगै पहिरोमुनी रहेको सिम्रुतु शिक्षा क्याम्पस र आलु चिप्स उद्योग समेत जोखिममा रहेको बताउनुभयो । क्याम्पस र उक्त उद्योगको पर्खालसम्म पहिरो आएको र थप पहिरो आईरहेको उहाँले जनाउनुभयो । कर्णाली प्रदेश सरकारको ६० लाख रुपिँयाको लगानीमा आलु चिप्स उद्योग स्थापना गरिएको थियो । माथिबाट आएको पहिरो र तलबाट बढेको सिम्रुतु खोलाको कारण क्यापस र आलु चिप्स उद्योगमा जोखिम बढेको छ ।

कुनै मानवीय र भौतिक क्षती नभएतापनि कतिबेला घर पहिराले लैजान्छ भन्ने पीरमा स्थानीय रहेको दाहालको भनाई छ । अहिलेपनि निरन्तर पहिरो झरिरहेकोले स्थानीयहरु थप त्रास बढेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्