Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बरू डिभी भर्नू तर समुद्र तरेर अमेरिका नआउनू!

२०७९ असाेज ३१
tribeni2
  • शिवहरि खतिवडा

अमेरिका आउनुपर्यो दाइ, कसरी आउने होला ?

छोराछोरीले १२ पास गरे अब अमेरिका कसरी पठाउने होला ?

अरु देश कसरी जाने होला ?

अमेरिकामा बसेको ८ वर्षमा नेपालमा भएकाले धेरै सोध्ने गरेका प्रश्नहरू हुन् यी। नेपालबाट सोध्नलाई त सजिलो हुन्छ। कुनै सहयोगको आशमा ठूलो विश्वासको साथ सोधिएको हुन्छ। कोही कोही त साथीहरू तल्लो बाटो दलाललाई पैसा खुवाएर आउँदैछौँ, सहयोग गर्नुपर्यो पनि भन्छन्। तर अमेरिकामा बस्नेलाई यो अवस्थामा जवाफ दिन त्यति सजिलो छैन।

एक यहाँको कानुनअनुसार कुनै पनि व्यक्तिलाई गैरकानुनी रुपमा अमेरिका आउन र बस्न प्रोत्साहन गर्नु दण्डनीय छ। अर्कोतर्फ भर्खर १२ पास गरेका कलिला बच्चाहरूलाई विदेश पढ्न पठाउने रहरलाई हामीले कसरी हुन्छ भन्ने?

नेपालको परिस्थिति र अवस्थाले यस्तो रहर लाग्नु सामान्य हो तर यस्तो अवस्थामा विदेश बस्नेले पनि सिधैँ सहयोग गरिहाल्न सक्ने अवस्था हुँदैन।

अहिले सन् २०२४ को लागि अमेरिका आउने चिठ्ठा कार्यक्रम डिभी खुलेको छ। स्थायी बसोबासको लागि अमेरिका आउने एउटै मात्रै सस्तो र कानुनी बाटो हो डिभीको बाटो। धेरै नेपालीले डिभी भरिरहनु पनि भएको छ। देशभक्ति भावनाले ओतप्रोत भएका कतिपयले डिभी नभरेको पनि हुनुपर्छ तर काठमाडौंमा डिभी भर्नेहरूको लाइनले भने अवसर पाए देशभक्तिले रोक्दैन भन्ने देखिन्छ।

स्वभाविक पनि हो। अवसर नभएको स्थानबाट अवसर पाए को जाँदैन र? त्यसलाई सामान्य रुपमै लिनुपर्छ। बाहिरी आडम्बरमा जति नै अमेरिकाको विरोध गरे पनि अमेरिका आउने चाहना सबैमा हुने देखिन्छ। नेपालबाट मात्रै होइन, अमेरिकामा संसारबाट मान्छे आउन खोज्छन्। अमेरिकाको सीमामा दैनिक हजारौं मान्छे भेला हुन्छन्, अमेरिका छिर्न पाउने आशमा।

डिभीको माध्यमबाट अमेरिका आउँदा केही बेफाइदा हुँदैन। यसरी अमेरिका आउँदा यहाँ अमेरिकाकै नागरिक बन्ने कानुनी हैसियत प्राप्त हुन्छ। यसको विषयमा यस अगाडि नै ब्लग लेखिसकेको छु। डिभी भर्दा केही ध्यान दिनुपर्ने कुराहरू यहाँ स्मरण गराउन चाहन्छु।

एक पटक मात्रै भर्नुस्

धेरै आवेदन दिए डिभी पर्न सक्छ भन्ने आशले धेरैले आफ्नै नाममा धेरै वटा आवेदन भर्ने गरेको पाइएको छ। अमेरिकी विदेश मन्त्रालयले एक जना व्यक्तिको लागि एउटा मात्रै आवेदन भर्न पाउने व्यवस्था गरेको छ। एकभन्दा बढी आवेदन दिए सबै आवेदन स्वतः खारेज हुन्छ। अर्थात् त्यो वर्षको लागि तपाईंको कुनै आवेदन नै स्वीकर गरिँदैन।

त्यसैले एक व्यक्तिको नाममा एउटा मात्रै आवेदन भर्नुहोला। तर श्रीमान श्रीमती हुनुहुन्छ र दुवै जना योग्य हुनुहुन्छ भने श्रीमान र श्रीमतीले छुट्टाछुट्टै भर्न सक्नुहुन्छ। त्यसमा आफ्ना अविवाहित २१ वर्ष मुनिका बच्चाहरू पनि समावेश गर्न सक्नुहुन्छ र १२ पास गरेका १८ वर्ष माथिका बच्चाले पनि डिभी भर्न सकिन्छ।

यो हिसाबले श्रीमान, श्रीमती र १९ वर्षका छोरा छ भने ३ वटा छुट्टाछुट्टै फर्म भर्न सकियो तर एकै व्यक्तिले तीन पटक भरेमा त्यो प्रक्रिया नै रद्द हुने छ। डिभी भर्न यो वर्ष पासपोर्ट चाहिँदैन, एक सामान्य फर्म हुन्छ तपाईं आफैं भर्न सक्नुहुन्छ। कुनै कन्सल्टेन्सीमा लाइन लाग्न आवश्यक छैन। डिजिटल पासपोर्ट साईजको फोटोमा भने केही मापदण्ड तोकिएको छ। त्यसको लागि पनि वेबसाइटमै तरिका र फोटो परीक्षणको सुविधा उपलब्ध छ।

विदेशमा बस्नेले पनि भर्नसक्छन् डिभी

सबैभन्दा धेरै सोधिने प्रश्न हो अमेरिकाकै विद्यार्थीको रुपमा वा अरु कुनै माथि भए डिभी भर्ने कि नभर्ने? कतारमा हुनेले के गर्ने? यसको सिधा उत्तर हो तपाईं जबसम्म नेपाली नागरिकता र पासपोर्ट बाहक हो तबसम्म नेपाली नागरिक हो, जुन देशमा भए पनि। डिभी सुविधा अमेरिकी सरकारले नेपाली नागरिकलाई दिएको सुविधा हो। त्यसैले संसारको जुनसुकै देशमा भए पनि डिभी भर्न सकिन्छ तर तपाईंले आफ्नो जन्मदेश र योग्य देश छान्दा दुवै नेपाल छान्नु होला।

कतिपय देशमा डिभी परेमा सोही देशमा रहेको अमेरिकी दूतावासमार्फत अरु प्रक्रिया सुरु गर्न सकिन्छ तर खाडी देशको हकमा नेपालबाटै प्रक्रिया सुरु गर्नुपर्ने बुझिएको छ। विदेशमा हुनेले पनि डिभी भर्न सकिन्छ।

नक्कली कामले जानुहोला सक्कली जेल

अमेरिका आउने वा आउन सोच्नेहरूले अमेरिका सोच्नु अगाडि नै कानुनको पालनालाई गम्भीर रुपमा लिनुपर्छ। अमेरिका संसारमा सबैभन्दा ठूलो कानुनी शासन भएको देश हो। यहाँको कानुनले कोही सकैलाई छोड्दैन। डिभीको लागि योग्यता अमेरिकाले सबैभन्दा कडाइको साथ हेर्ने क्षेत्र हो। यसमा योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ।

१२ कक्षासम्म पूरा गरेको कुनै योग्यता छैन, कुनै व्यवसायी सीप तथा अनुभवको योग्यता छैन भने डिभी नभर्नुहोला। तर यदि भरेर पर्यो भने पनि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने काम नगर्नु होला। नक्कली सक्कली अमेरिकाले निकै कडाइको साथ हेर्छ र नक्कली पाए नेपालमा प्रहरीलाई खबर गरिदिन्छ। यस्तो अवस्था आए भविष्यमा समेत अमेरिका आउन तपाईं अयोग्य हुनुहुने छ। त्यस्तै कुनै फौजदारी अभियोग वा जेल भोग्नुभएको छ भने पनि त्यसलाई अमेरिकाले कडाइको साथ हेर्ने गर्दछ।

एक्लै भरे डिभी पर्छ?

श्रीमान श्रीमती भए पनि कतिपयले एक्लाएक्लै डिभी भरेर (अविवाहित भनेर) अमेरिका जाने भनेर एक्लै भरेको पाइन्छ। कतिपय श्रीमान श्रीमती विवादको कारण पनि र कतिको डिभोर्सको तयारीले पनि एक्लै भर्ने गरेको पाइन्छ। यसरी एक्लै डिभी भर्दा डिभी पर्ने सम्भावना बढ्दैन तर पर्यो भने दुःख पाउने संभावना भने बढ्छ।

विवाहितले एक्लै हुँ भनेर भरे पनि अमेरिकाले भिसा दिनुअगाडि सबै पृष्ठभूमिको परीक्षण गर्छ। यस्तो अवस्थामा विवाहितले एकल हुँ भनेर भरेमा समस्या हुन सक्छ। कतिपय अवस्थामा त भिसा प्राप्त नहुन पनि सक्छ। डिभी भर्दा विवाहितले सबै विवरण र बच्चाबच्चीको समेत सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ। डिभी भरेपछि विवाह भएको भए पनि अरु प्रक्रिया र अन्तरवार्तामा त्यो खुलाउनु पर्छ।

विद्यार्थीले के गर्ने?

अमेरिकाको विद्यार्थी भिसामा आवेदन गरेको, डिभी भर्ने होला कि नभर्ने होला? भनेर धेरैमा द्विविधा रहेको पाइन्छ। अमेरिकाले देशको आधारमा डिभीको सुविधा दिएको हो। यो सुविधा हो र यो सुविधाको लागि आवेदन दिएकै आधारमा अमेरिकाले कुनै पनि निर्णयमाथि भेदभाव गर्न मिल्दैन। अर्थात् तपाईंले डिभी भरेकै आधारमा अमेरिकाले विद्यार्थी भिसा अस्वीकृत गर्नुपर्ने कुनै कानुनी आधार छैन।

त्यसैले अमेरिकाको लागि विद्यार्थी भिसा आवेदन दिनुभएको थियो, दिँदै हुनुहुन्छ, आवेदन स्वीकृत भएको छ वा अन्तरवार्ता आउँदैछ भने पनि डिभी भर्दा हुन्छ। डिभीको बारेमा दूतावासले अन्तरवार्तामा कुनै सोधेको र यसैको आधारमा भिसाको विषयमा निर्णय लिएको उदाहरण छैन। अमेरिकामै रहेका विद्यार्थीहरूले पनि डिभी भर्दा त्यसबाट कुनै समस्या हुँदैन।

डिभी परे के गर्ने?

अहिले खुलेको डिभीको नतिजा सन् २०२३ को मेमा आउनेछ। तपाईंलाई डिभी परेको कुनै पनि पत्र वा फोन अमेरिकाबाट आउँदैन। तपाईंले अहिले डिभी भरेकै वेबपेजमा गएर अनलाइनबाट जाँच गर्नुपर्ने हुन्छ। त्यसको लागि अहिलेको कन्फरमेसन नम्बर र इमेल सुरक्षित राख्नुहोला। यसको आधारिक सूचना ई-डिभीको वेबसाइटमा मात्रै राखिने छ। त्यसैले कसैले डिभी पर्यो भनेर (अपवादः कन्सल्टेन्सीबाट भरेको भएमा उनीहरूले परेको सूचना दिन सक्छन्) फोन वा इमेल गर्दैन।

कसैले मेलमा फोन, इमेल गर्यो र तपाईंले विश्वास गर्नुभयो भने त्यो ठगी पनि हुनसक्छ। डिभीको आवेदन केसको रूपमा दर्ता हुन्छ। तपाईंलाई डिभी परेको हो भने त्यसमा केस नम्बर दिइएको हुन्छ। कतिपय अवस्थामा थोरै केस नम्बर हुनेको प्रक्रिया चाँडै सुरु हुन्छ भने धेरै वा लामो केस नम्बर हुनेको ढिलो सुरु हुन्छ। अन्तिममा रहेकोहरूको नआउने सम्भावना पनि ज्यादा हुन्छ किनभने अमेरिकाले सीमित अवधीभित्र मात्रै भिसा जारी गर्ने गर्दछ।

त्यसैले डिभी परेको सबैले अमेरिका आउन पाउने सम्भावना कम हुन्छ। यदि तपाईंलाई डिभी पर्यो भने जुन केस नम्बर भए पनि दोस्रो प्रक्रियाको लागि फाराम अनलाइनबाटै भर्नुपर्ने हुन्छ। त्यो डिभी परेको वेबपेजमै दिइएको हुन्छ। त्यो फाराम भरेपछि मात्रै तपाईंले अन्तरवार्ताको लागि समयमा निर्धारण गरेको पत्र पाउनुहुने छ।

अन्तरवार्तामा जाँदा अमेरिकामा कहाँ जाने र सहयोग गर्ने को छ भनेर देखाउनु पर्ने हुनसक्छ। त्यसको लागि अमेरिकामा रहेका आफ्ना आफन्तहरू खोज्नुहोला वा साथीभाइलाई भन्नु होला। यसलाई स्पोन्सर पनि भनिन्छ। स्पोन्सर गरेकै आधारमा पैसा लिन पाइँदैन।

त्यो सबै देखाएपछि मात्रै दूतावासले भिसा स्वीकृत गर्ने वा नगर्ने निर्णय गर्न सक्छ। त्यसैले डिभी परेको सबै स्वतः अमेरिका आउँदैनन्। डिभी पर्दैमा अमेरिका आउन पाउने ज्ञारेन्टी हुँदैन।

अमेरिकामा सबै सरकारले गर्छ?

केही पनि गर्दैन। त्यही भएर तपाईंलाई अमेरिकामा रहेको कोही आफ्ना आफन्तको पत्र ल्याउनुहोस् भनिएको हो। नेपालमा अमेरिकामा डिभी परेकाहरूलाई सबै सरकारले गरिदिने, घर किनिदिने, गाडी, काममा लगाउने सबै सरकारले गरिदिन्छ भन्ने भ्रम छ तर वास्तविकता सबै आफैले गर्ने हो।

तपाईंले अन्तरवार्तामै अमेरिकामा सरकारलाई भार बन्ने छैन भनेर खुल्ने कागजपत्र पेश गर्नुपर्ने छ। त्यो भनेको तपाईंले छान्नुभएको अमेरिकामा रहेका साथीभाइको पत्र हो। त्यो पत्र पेश गरेपछि तपाईंलाई बोलाउने, बसाउने, काम लगाइदिने र बस्ने व्यवस्था गरिदिने जिम्मा ती व्यक्तिको हुनेछ।

उनीहरूको पत्र नै तपाईंलाई जिम्मा लिन्छु भन्ने आधार हो। त्यसैले डिभी परेकाहरूलाई अमेरिकाले केही शुल्क लिएर भिसा दिने बाहेक अरु केही गर्दैन।

अमेरिकाको अर्को पाटो, गैरकानुनी बाटो

हामीले जति समस्या देखेका छौं त्यो गैरकानुनी रुपमा आउने अर्थात् समुन्द्रको बाटो हिँडेर आउनेमा देखेका छौं। हामी अमेरिकामा रहे बसेहरूको लागि कानुनी बाहेक अमेरिका आउने अरु कुनै बाटो छैन तर नेपालमा भने अमेरिका आउने दुई वटा बाटाहरू रहेछन्। एउटा डिभी वा अरु भिसा मिलाएर उडेर आउने माथिल्लो बाटो, अर्को दलाललाई पैसा खुवाएर समुद्र छेड्दै आउने तल्लो बाटो।

माथिल्लो बाटो आउनेहरू डिभी अर्थात् स्थायी भिसा र पर्यटकको रुपमा आउँछन्। पर्यटकको रुपमा आउने दुई/चार महिना घुमफिर गर्छन्। यहाँको अवस्था हेर्छन् र मेलोमेसो मिलाएर नेपाल फर्कन्छन्। अमेरिकै लुकेर बस्ने मनासय भएकाहरूले पनि अमेरिकाको पर्यटक भिसा पाएमा पहिलो पटक अमेरिका आउँदैमा लुकेर बस्दैनन्।

उनीहरू नेपाल पुगेर अमेरिकाको ग्रीनकार्ड पाउने दुई/चार वटा अडिनरी काम गर्न थाल्छन्। पैसावार्ता अर्थात् पैसा दिएर अन्तरवार्ता छपाउँछन्। पैसारस्कार अर्थात् पैसा तिरेर पुरस्कार थाप्छन् र पैसासेवा अर्थात् पैसा खर्च गरेर समाजसेवा गर्छन् अनि समाचार छापिएको अर्धकट्टी र झोलामा भिटीझाम्टा पोको पारेर अमेरिका पस्छन्।

पछि ग्रीनकार्डको लागि यस्ता पैसे सेवाको प्रमाणपत्र पेश गर्छन्। आज यो विषयतर्फ पनि बढी जाँदैनौं तर खास समस्या तल्लो बाटो आउनेलाई हुन्छ। त्यो विषयमा भने नलेखी बस्न सकिँदैन।

तल्लो बाटो भनेर चिनिने बाटो हो दलाललाई पैसा खुवाएर, ज्यान धरापमा पारेर कतै समुन्द्र र कतै जंगल छिचोलेर आउने बाटो। यो बाटो आफैमा सजिलो बाटो होइन। यति नै भन्ने नखुले पनि दलाललाई ५० देखि ६० लाख तिरेर गरेर अमेरिकाको सीमामा आइपुग्ने गरेको भन्ने सुनिएको छ। कतिपय त सीमाबाट अमेरिका छिर्छन् तर कतिपय सीमामै अलपत्र पर्ने र दलालले अरु दुःख दिने कुरा पनि सुनिएको छ।

अमेरिकाले आफ्नो जमिनमा भएको व्यक्तिलाई मात्रै पक्रिने र जेलमा वा अरु प्रक्रियामा लैजाने गर्छ तर मेक्सीको तथा अरु देशमा भएका व्यक्तिको बारेमा सोही देशले पनि मतलब गर्दैन, जसको कारण नेपालबाट लाखौं खर्च गरेको व्यक्ति अमेरिका आइपुग्ने संभावना हामी यहाँबाट ५० प्रतिशत पनि देख्दैनौं।

बाटोमा कत्तिको दुःख हुन्छ भन्ने समाचारहरू त बेलाबेलामा आइरहेकै हुन्छ। कति त अमेरिकाको सपना देखेर नेपालबाट हिँडेपछि बाटोमा राम्ररी सत्न समेत नपाएर माटोमै विलीन भएका पनि सुनिएको छ। यस्ता गैरकानुनी बाटो अमेरिकाको लागि मात्रै होइन, संसारको सबै देशमा जान सजिलो छैन। राम्ररी बुझ्ने हो भने ५० लाख खर्च गरे नेपालमै केही गर्न सकिन्छ, व्यापार विजनेस गर्न सकिन्छ तर अमेरिकाको लागि गैरकानुनी बाटो पहिला जस्तो सजिलो छैन।

यी सबै अवस्था पार गरेर अमेरिका पसे के हुन्छ? नेपालबाट त सामान्य रुपमा अमेरिका छिर्न मात्रै पर्ने हो भन्ने सोचिन्छ। अमेरिका छिरेपछि संसार जितिन्छ जस्तै गरिन्छ तर मुख्य समस्या त अमेरिका छिरेपछि सुरु हुन्छ। सबैभन्दा पहिला सीमामा रहेको प्रहरीले पक्राउ गर्छ। केही गरी पक्राउ नपरे पनि कानुनी आधार बिना यहाँ बस्न र काम पाउन मुस्किल छ।

यहाँको सरकारले गैरकानुनी हैसियतका कामदारलाई काममा लगाएको आधारमा व्यापारीहरूलाई कारबाही थालेपछि अहिले पहिला जस्तो गैरकानुनी हैसियतका व्यक्तिले काम पाउन र पैसा कमाउन सजिलो छैन। केही नेपाली, भारतीय तथा अरु स्टोरमा काम पाइहाले पनि निकै कम ज्यालामा काम गर्नुपर्छ।

यदि प्रहरीले पक्राउ गरेको अवस्थामा अमेरिका आउनुपर्ने कारण हेरेर जेलमा राख्ने वा छोड्ने गर्न सक्छ। जे गरे पनि कानुनी आधार पाउन यहाँ कानुनी लडाइँ सुरु गर्नुपर्छ। त्यो एक महिना, दुई महिना होइन वर्षौं लाग्न सक्छ। दसौं वर्ष र हजारौं डलर खर्च लागेको उदाहरण हामीले देखेका छौं।

केही केही भाग्यमानीको मात्रै ५/७ वर्षमा फैसला भएको छ। नत्र पचासौं लाख रुपैयाँ खर्च गरेर अमेरिका आएको व्यक्तिले यता कमाउँदै वकिललाई पैसा तिर्दैमा ठिक हुन्छ। १५ वर्षसम्म आफ्नो केसको फैसला नभएको र नेपालमा परिवारको मुख समेत देख्न नपाएको नेपाली हामीले भेटेका छौं।

केही दशक अगाडि नेपालमा गृहयुद्ध वा राजनीतिक अस्थिरता थियो। त्यसैलाई देखाएर अमेरिकामा शरण लिन सजिलो थियो। अहिले नेपालमा देखाउनै पर्ने गरी केही पनि अशान्ति छैन। यस्तो अवस्थामा अमेरिकामा शरण लिने प्रक्रिया असजिलो मात्रै छैन। खारेज भएर डिपोर्ट (देश निकाला) हुने संभावना पनि हुन्छ।

यो त कानुनी विषय भयो। यो विषयमा पनि त्यति धेरै नलेखौं तर एउटै कुरा के हो भने ५० औं लाख खर्च गरेर अमेरिका आउनेहरूले यहाँ कानुनी हैसियत पाउन वषौं लगाएर कानुनी लडाइँ लड्नु पर्छ। त्यसमा अरु हजारौं डलर वकिलले खाइदिन्छ र फैसला आउन वर्षौं लाग्न सक्छ।

कोही कोही वकिलले यस्ता केसलाई दुहुनो गाई बनाइदिन्छन्। उनीहरूको उदेश्य नै सकेसम्म अदालतमा केस लम्ब्याइदिने र पैसा खाइरहने भन्ने हुन्छ। अदालतमा १० औं वर्षमाथि लागेको पनि देखिएको छ। १० औं वर्ष नेपालमा जान पाउनुहुने छैन, परिवार भेट्न पाउनुहुने छैन।

आफ्नै देशमा असुरक्षा भयो भनेर अमेरिका आएको भन्दै अदालतलाई गुहारेकोले नेपाल जान आउन त्यति सजिलो छैन। यो सबै चक्कर काट्दा काट्दै बुढेसकाल लाग्छ। कानुनी रुपमा आउनेहरूले डलर कमाएको देखेर अमेरिका आउन गैरकानुनी बाटो प्रयोग गर्नु निकै मूर्खता सावित हुनेछ।

अमेरिकामा छिरे पनि गैरकानुनी व्यक्तिले डलर कमाउन सजिलो छैन, कमाए बचाउन सजिलो छैन। सबैभन्दा ठूलो समस्या यो चक्करले जिन्दगीको उर्जाशील समय अमेरिकी वकिल, अदालत कतिको त जेलकै चक्कर काट्दैमा बित्छ। त्यसैले गैरकानुनी बाटो अमेरिकाको लागि सहज छैन।

दलाललाई दिने पैसाले नेपालमै कुनै व्यवसाय गरौं, आत्मनिर्भर बनौं। परिवारको साथमा रमाऔं। अहिले डिभी भर्ने बेला हो, डिभी भरेर अमेरिका आउनुस् तर समुन्द्र तरेर नआउनुस्। - सेतोपाटीबाट साभार

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्