सोसल मिडिया
सम्मानीय प्रधानमन्त्री एवम् सभापति ज्यू,
विषय : सहिदपुत्रको खुल्ला पत्र ।
श्रद्धेय सभापति ज्यू, रुकुमका आम काँग्रेसहरुलाई सन्चो छैन । त्यसबारे हजुरलाई केहि त पक्कै थाहा होला । हजुरलाई देशभरिको चिन्ता, चासो र पीडा होला । विभिन्न जिल्लाबाट निकै दवाव आयो होला । अर्काे कुरा पार्टी भित्र धेरै खाले समुह खडा नभएको पनि होइन, त्यसलााई पनि मिलाएर लैजानु हजुरको दायीत्व हो । झन् त सत्ता गठबन्धन मिलाएर जानुपर्ने पेचिलो समस्या थियो होला ।
यस पटकको निर्वाचनमा नेपाली काँग्रेस रुकुम पश्चिमले प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा टिकट पाएन, साह्रै दुःखद हो । रुकुम पश्चिममा काँग्रेसले कुनै पनि सिट नपाउनु माओवादी पार्टीको कारण होइन, हाम्रै अग्रज नेताहरुले केन्द्रिय नेतृत्वलाई विश्वास दिलाउन नसक्नु हो ।
कांग्रेसको केन्द्रिय नेतृत्वले रुकुम पश्चिममा एक प्रदेश सभाको सिट काँग्रेसलाई अनिवार्य हुनुपर्छ भनेको भए माओवादीको मात्रै निर्णय लागु हुने थिएन होला ! कांंग्रेसको केन्द्रिय नेतृत्वको प्राथमिकतामा रुकुम पश्चिम किन परेन भन्ने प्रश्न जब्बर भएर उठेको छ । जिल्लाका ८३ जना नेताको बलिदान बुझ्न नसक्नुको खास कारण के होला सभापति ज्यू ?
रुकुम पश्चिममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु भनेका मरि बाँचेका जीउ, छरि बाँचेको बीउ सरह हो । भर्खर ब्याडमा छरेको बीउ बचाउनु पर्ने ठुलो चुनौति थियो, तर केन्द्रिय नेतृत्वले यस पटक पनि रुकुम पश्चिमलाई बुझ्न चाहेन ।
रुकुम पश्चिमले हजुरलाई पटकपटकको महाधिवेशनमा गरेको सहयोगको गुणको बदला यहि हो सभापति ज्यू ? कि रुकुम पश्चिमका नेताहरु तपाईको परिवारको नातेदार नै हुनुपर्ने हो र ? हजुरलाई हेक्का रहोस्, काँग्रेस हुँ भनेकै वा आस्थाकै कारण कैयौ पार्टी नेता तथा कार्यकर्ताहरुको बलिदान भएको जिल्ला हो रुकुम । यो पनि स्मरणहोस्, रुकुम जिल्लामा २०५१ साल भन्दा अघिका संसदीय निर्वाचन, गाउँ विकास समितिको निर्वाचन र जिल्ला विकास समितिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारको विजय भएको हो ।
२०५१ साल भदौ १७ गते नेपाली कांग्रेस रुकुम पश्चिमका प्रिय नेता तत्कालीन जिल्ला विकास समिती सदस्य मेरो बुवा गणेश शाहको पार्टीको कार्यक्रममा सदरमुकाम जाने क्रममा खुकुरी प्रहार गरि हत्या भएको थियो । त्यसपछिका दिनमा रुकुम पश्चिमका कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई क्रमिक रुपमा हत्या गरियो । कसैको हत्या भयो कोही घाइते भए, कयौ विस्थापित भए । त्यसपछि पार्टीलाई ठुलो क्षति भयो ।
नेपाली काँग्रेसका ८३ जना लिडरको श्रृंखलाबद्ध तरिकाले हत्या भयो । जिल्लाका आम जनताहरु अभिभावकविहिन भए, तरपनि काँग्रेस बचाउनलाई हामी रुकुमेली काँग्रेसहरु पार्टी नै सवथोक भनेर लागिरह्यौं ।
साबिक विजश्वरीका हरिभक्त ओली, खोलागाउँका गणेश शाह, खाराका टेकबहादुर ओली , आठबिसकोटका लोकेन्द्र बटाला, विरेन्द्र कुमार शाह, सिम्लीका धनसिंह खड्का, मग्माका मनबहादुर खनाल, दुलीका अम्बा सुनार, कविराम खत्री, पिपलका देउचन बस्नेत, रुँघाका चित्र बहादुर चन्द र नदीराम पुन, मुरुका गलविर बाँठा र कृपाराम ओली, मुसिकोटका अर्जुन केसी, स्यालापाखाका हरिजंग मल्ल जस्तै ८३ जना शहिद परिवारका आमाबुवाहरुले कतै न कतै हजुरलाई बोलाए जस्तो, गिज्याए जस्तो, तर्र्साए जस्तो हजुरलाई महशुस हुन्छ कि हुदैन, श्रद्धेय सभापति ज्यू ?
रुकुम पश्चिमको परिस्थिती र मनोविज्ञानको विषयमा जानकारी नभएको त पक्कै हैन होला । तर पनि हजुर कतै चुकेको जस्तो, कतै हजुरले रुकुम पश्चिम भुलेको जस्तो, कतै हजुरले बेवास्ता गरे जस्तो भयो । त्यसैले म शहिद पुत्रको तर्फबाट रुकुम पश्चिमको मनोविज्ञानका विषयमा जानकारी गराउन विवश छु । गल्ती भए माफ गर्नुहोला ।
गत स्थानीय तहको निर्वाचनमा हजुरको आदेशमा हामीले लचकता अपनाएर माओवादी साथीहरुसँग गठबन्धन गर्न निकै ठुलो प्रयास गर्यौ । तर, माओवादी साथीहरुको आडम्बर र अहमताका कारण गठबन्धन भएन । हामी उसको अहमता र आडम्बरलाई तोड्नका लागी गठबन्धनको मर्म भन्दा बाहिर गएकै हो । अनि हामीले १ नगरपालिका र १ गाउँपालिकामा विजय हाँसिल गर्यौ । यो मनोविज्ञानलाई अहिले पुरापुर वेवास्ता गर्नुभयो ।
अझ पार्टीको निम्ती बलिदान गर्नुपर्ने हो भने पनि रुकुम पश्चिम कांग्रेसका कार्यकर्ता तयार छन् । हजुरले केन्द्रमा बसेर बुझेको जस्तो नेपाली काँग्रेस आज रुकुममा छैन । हामी माओवादीसँग मित्रवत तरिकाले संघ र प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहन्थ्यौं ।
हाम्रो चाहाना अनुसार नभएर गठबन्धनको मर्म अनुसार जाने भए पनि संघ निर्वाचन माओवादीलाई छाडेर प्रदेशको 'क' र 'ख' मध्ये एक नेपाली काँग्रेसले पाउनुपर्ने होइन र ? यो कुरा त स्थानीय चुनावको मत परिमाणले पनि देखाउछ । यहि कुरा पनि पार्टी नेतृत्वले बुझ्न नसक्नु भनेको कार्यकर्ताको मनोभावना विपरित चल्नु होईन र ?
के अब रुकुम पश्चिमको नेपाली काँग्रेसको उम्मेदवार लिएर गठबन्धनसँग चुनावी प्रचारप्रसारमा जान्छ ? यसको जवाफ रुकुम पश्चिमका शहिद घाइते, अपांग विस्तारित परिवारहरु र आम काँग्रेसजन आदरणीय आमा बुवा दाजुभाई दिदिबहिनीहरु खोजीरहनु भएको छ ।
यहाँ द्वन्द्वको राप, ताप, मृत्युबाट खारिएर, पेलिएका घाइते, अपांगता भएका, विस्थापित भएका अनि २१ औ शताब्दीमा यन्त्र मानवहरुको सफ्टवयर परिवर्तन गर्न सक्ने काँग्रेस थिए । तर, अहिले रुकुमेली कांग्रेसजनहरु अभिभावकविहिन भएका छन् । राजा विनाको मौरी जस्तो भएर भौतारीरहेका छन् । शहिदहरुको रगत र पसिनाले हजुरलाई प्रश्न गरिरहेका छन् । के हाम्रा बुवाआमाहरुले पार्टी बचाउनको लागी दिएको बलिदान गलत थियो त सभापति ज्यु ?
देशभरि सवै ठाउँमा गठबन्धन हुने, प्रत्येक जिल्लामा संघ वा प्रदेशमा काँग्रेसले पाउने तर रुकुम पश्चिममा किन नपाउने ? यसको जिम्मेवार जवाफ चाहियो सभापति ज्यू ।
रुकुम पश्चिमको हिसावकिताव पार्टीको वोर्डमा बस्ने सवै अग्रजहरुले सुन्ने गरि इतिहासमा लेख्न मिल्ने गरि लेख्छु, कि यहाँको परिस्थिती र अंक गणितले पनि हजुरलाई पनि निद्रा हराम होस् । के अब रुकुम पश्चिमले न्यायको लागी १५ औं महाधिवेशन कुर्नु पर्ने हो ? यतिवेला एक नगरपालिका र एक गाउँपालिकामा बिजय गरेकाले पनि केही उपलब्धी हासिल गर्न सक्ने बेला थियो । तर गठबन्धनको नाममा साह्रै अन्याय भयो । यो भन्दा ठुलो अन्याय रुकुम पश्चिम काँग्रेसजनहरुलाई कुनै पनि इतिहासमा हुन सक्दैन ।
शहिद पुत्रको नाताले यहाँका काँग्रेसजन र शहिदहरुको रगतलाई अपमान गरेकोमा केन्द्रीय टोली लगायत सभापति ज्यूप्रति पुनः दुख प्रकट गर्न चाहन्छु ।
सभापति ज्यु, हजुर त पाँच–पाँच पटकसम्म पार्टीका तर्फबाट सम्माननीय प्रधानमन्त्री पदमा पुग्नुभयो । काँग्रेस बनेकै भरमा प्राण आहुती गरेका शहिदहरुलाई हजुरले के न्याय दिनुभयो ? के राहत पाए कार्यकर्ताले ? शहिद सवै एउटै होइन र सभापति ज्यू ?
हजुरसँग हेक्का छ कि नाई, अन्य पार्टीबाट शहिद भएकाहरुको नामबाट विद्यालय अस्पताल र पार्क भएका छन् । काँग्रेस भएर शहिद भएका व्यक्तिहरुका नाममा के गर्नुभयो हजुरले ? आज शहिदका छोराछोरीहरु अभिभावक खोजिरहेका छन्, विधुवा आमाले सिन्दुर लुटाएर काँग्रेसबाट के पाईन ?
मेरो बुवाको हत्या हुँदा म ११ वर्षको थिए । मेरी दुई बहिनी र १ भाई झन् साना थिए । हामीले बुवाको अनुहार पनि फोटो हेरेर मात्र थाहा पाउछौं । हामी जस्ता कयौँ शहिद परिवारको हालत यस्तै होला ।
मैले पार्टी फुटेको अवस्थामा, १३ र १४ औँ महाधिवेशनमा तपाईलाई अग्रपंक्तिमा रहेर सहयोग गरे । दुर्गममा गाउँको किसानको छोराको भावना हाम्रो जस्तै होला, हाम्रा पीडा बुझ्ला भनेरै तपाईको विश्वास गरिएको हो । तर, सबै धुलोमा मिसाईदिनुभयो सभापति ज्यू ।
सभापति ज्यूले नै यहाँ हाम्रो पार्टीको स्थान खोसिदिनुभयो । यसबारे शहिदपत्नी र परिवारले आँखाभरि आँसु झर्दै भन्नुहुन्छ ‘बाबु हामी काँग्रेसले भोट हाल्न पाउने भएनौ । हाम्रा हात फेरि काटिए जस्तै भयो ।’ उहाँहरुलाई के भनम् सभापति ज्यू ?
मेरो श्रीमानले पार्टीको निम्ती बलिदान गरेको त काम लागेन भनेर भक्कानिने एकल महिलालाई हामीले देशको अवस्था बुझाउन खोज्दा भनुहुन्छ कि ‘सवै नेताहरु बलेको आगो ताप्दा रैछन् ।’
आज रुकुमका काँग्रेसजनहरुको मुटु माथी ढुंगा राखेर हाँस्न सक्ने अवस्था पनि छैन । हामी रुनु पर्दाको पीडा र हजुरलाई पन्चायती शासकले दिएको चरम यातना अनुभुति गर्न अनुरोध गर्दछु ।
रुकुमेली काँग्रेसजनका नेताका छोराछोरीहरुले आफ्ना बुवाआमाको हत्या हुदा पनि क्रिया गर्न नपाएको इतिहास छ । त्यसैले पार्टी नै सवैथोक हो भनि बसेका रुकुमेली काँग्रेसजनहरुलाई पटकपटक धोका किन ? यसको मुल्य इतिहासले देखाउने छ ।
- मनमोहन शाहरुकुम पश्चिमबाट(सहिद पुत्र तथा महाधिवेशन प्रतिनिधि)