नेभिगेशन
समाज

सिस्ने सरकार सामु जेष्ठ नागरिकका गुनासै गुनासा

जेष्ठ नागरिक अनुभवका खानी हुन्, सधै सम्मान गर्नुपर्छ : गाउँपालिका अध्यक्ष

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकाका जेष्ठ नागरिकहरुले स्थानीय प्रशासन र स्थानीय सरकार समक्ष गुनासै गुनासा राखेका छन् । बिहिबार सिस्ने गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागारिकका अधिकार, कर्तव्य, आवश्यकता र समस्याका बारेमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा उनीहरुले भोग्नु परेका समस्याहरु राखेका हुन् ।

कार्यक्रममा सिस्ने गाउँपालिका ६ का नरजंग समाल मल्लले जेष्ठ नागरिकहरुले स्वास्थ्य, यातायात र सामाजिक सुरक्षा भत्ता सहजै पाउन नसकेको बताउनुभयो । उमेर ढल्कदै जाँदा विभिन्न रोगहरुले च्याप्दै जाने तर जिल्लामै उपचार गराउन नसक्दा आफूहरुलाई समस्या पर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । जिल्लामै उपर्युक्त स्वास्थ्य सेवाको व्यवस्था नहुँदा आफूहरु थप मर्कामा परेको उहाँको भनाई छ ।

सिस्ने गाउँपालिका ५ जयबहादुर खत्रीले जेष्ठ नागरिकको परिचय पत्र हुँदा पनि राज्यले व्यवस्था गरे अनुसारको यातायातको सुविधा आफुहरुले प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले गाडीमा अपांगता तथा जेष्ठ नागरिकको लागि छुट्टाईएको सीट पनि आफूहरुले प्राप्त गर्न नसकेको बताउनुभयो । कार्यक्रममा सहभागी अधिकांश जेष्ठ नागरिकहरुले जेष्ठ नागरिकहरुको योगदानलाई राज्यले वेवास्ता गरेको समेत आरोप लगाएका छन् ।

जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधा, उनीहरुको जीवन भोगाई र जीवन भोगाईका क्रममा देखिएका समस्याहरु पहिचान गरी समस्या समाधान गर्ने उद्धेश्यका साथ सिस्ने गाउँपालिकाले उक्त कार्यक्रमको आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा सरकारी वकिल कार्यालयका निमित्त कार्यालय प्रमुख प्रकाश शर्मा पौडेलले जेष्ठ नागरिकसँग सम्बन्धित कानुन तथा सेवा सुबिधाका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रुकुम पूर्वका ल्याब टेक्निसियन निमप्रसाद गिरीले सरकारले जेष्ठ नागरिकका लागि भनेर सेवा सुबिधा दिने गरेको भएता पनि नागरिकहरु सेवा लिन नआउने गरेको बताउनुभयो । सरकारी अस्पतालहरुलाई नागरिकले विश्वास नगर्दा र प्राईभेट अस्पतालको मोहले गर्दा जेष्ठ नागरिकका नाममा आएका सेवा सुबिधाहरु फिर्ता जाने गरेको उहाँले जानकारी दिनुभयो ।

जेष्ठ नागरिकका गुनासोहरुको सुनुवाई गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बिभिन्न विषयमा देखिएका जेष्ठ नागरिकका समस्याहरुलाई समाधानका लागि सबै क्षेत्रबाट प्रयास गरिने बताउनुभयो । उहाँले सरकारले स्वास्थ्य क्षेत्रमा दिएका बिभिन्न सेवा सुविधाहरुलाई भरपुर रुपमा उपयोग गर्न पनि जेष्ठ नागरिकलाई अनुरोध गर्नुभयो । यातायातको क्षेत्रमा देखिएको समस्या समाधानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ठाउँ ठाउँमा अनुगमनका लागि निर्देशन दिईने समेत प्रजिअ सुनुवारले बताउनुभयो ।

कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले अनुभवका खानी जेष्ठ नागरिहरुलाई स्थानीय सरकारबाट दिन सकिने सेवा सुबिधाबाट बञ्चित नगरिने बताउनुभयो । कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुका मागहरुलाई सम्बोधन गर्दै उहाँले समस्या र सम्भावनाको पहिचान गरी हेरफेर गरिने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिकाका अध्यक्ष रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष गोपाल रेउले, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश डाँगी, प्रमुख प्रशासकीय अधिकृत बिकास बिक्रम शाह लगाएत जिल्ला स्थित स्वास्थ्य निकायका प्रमुख एवम् प्रतिनिधी, यातायात व्यवसायी, जेष्ठ नागरिक लगाएतको उपस्थिती रहेको थियो ।कार्यक्रमको सञ्चालन महिला विकास निरिक्षक सुनिता खड्काले गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज