रुकुम पश्चिमको मुसिकोटमा स्यालको टोकाईबाट नौ जना घाईते

२०७९ कात्तिक १६

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोटमा स्यालको टोकाईबाट नौ जना घाईते हुनुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ४ र ६ मा स्यालको टोकाईबाट नौ जना घाईते हुनुभएको हो ।

स्थानीय समेत रहनुभएका पत्रकार दिपेन्द्र महताराका अनुसार वडा नम्वर ४ मा दुई जना र वडा नम्वर ६ मा सात जनालाई स्यालले टोकेको हो ।

स्यालको टोकाईबाट ४ नम्वर वडाका ओम प्रकाश पाण्डे र एक्कीकुमारी बुढाथोकी घाईते हुनुभएको छ । वडा नम्वर ६ मा स्यालले टोक्दा स्थानीय रामबहादुर बोहोरा, दिपा बोहोरा, चक्र बहादुर महतारा, उर्मिला बोहोरा, सविता गौतम, गेदलाल गिरी र वडा नम्वर १० का भुपेन्द्र बुढा घाईते हुनुभएको छ । बुढा सदरमुकाम मुसिकोटबाट बाईकमा घर जाँदै गर्दा स्यालको आक्रमणमा पर्नुभएको थियो ।

घाईते मध्य पाँच जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहको छ भने एक जनालाई थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ । जिल्ला अस्पताल सल्लेका अनुसार घाईते एक्कीकुमारी बुढाथोकीलाई थप उपचारको लागि मंगलबार नै रिफर गरिएको हो ।

अधिकांश घाईतेहरुको अनुहारमा स्यालले टोकेको छ । वडा नम्वर ६ का गेदलाल गिरीको अनुहारका साथै शरिरका अन्य भागमा गहिरो घाई भएकोले आठ वठा टाँका लगाईएको अस्पतालले जनाएको छ ।

घरमै उपचार गरिरहनुभएका तीन जनालाई जिल्ला अस्पताल लैजाने तयारी गरिरहेको वडा नम्वर ६ का वडा अध्यक्ष भानु मल्लले जानकारी दिनुभयो । वडाको ट्याखोला, घिजा र घाईडाँडामा मंगलबार बेलुका स्यालले स्थानीयलाई टोकेको वडा अध्यक्ष भानु मल्लले बताउनुभयो ।

स्यालले घरको आँगनमा काम गर्दै गरेका, गोठमा घाँस हाल्दै गरेका र घाँस बोकेर फर्कदै गरेकाहरुलाई टोकेको हो ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्