आठबीसकोटमा चौतारा मेला उद्घाटन, सर्वाधिक राशिको भलिबल सुरु

२०७९ कात्तिक १६

रुकुम पश्चिम / रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा चौतारा मेला उद्घाटन गरिएको छ । उक्त मेलामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता समेत सुरु भएको छ ।

आठबीसकोट नगरपालिका वडा नम्वर ९ ले स्थानीय चौतारा मेलाको अवसरमा राखेको भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको वडा सदस्य नवराज मल्लले जानकारी दिनुभयो । मंगलबार एक कार्यक्रमका बीच आठबीसकोट नगरपालिका प्रमुख रबि केसीले मेलाको उद्घाटन गर्नुभएको थियो ।

वडा सदस्य मल्लका अनुसार २८ औं चौतारा मेलाको अवसरमा महिला पुरुष भलिबल, पुरुष ब्याडमिन्टन र लोक दोहोरी प्रतियोगिता समेत आयोजना गरिएको छ । मेलाको अवसरमा राखिएको भलिबल प्रतियोगितामा प्रथम हुनेले दुई लाख २० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उप विजेता समुहले एक लाख ५० हजार पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने दुई टिम अर्थात सान्त्वना हुने दुई टिमलाई समान एक/एक लाख प्रदान गरिने छ ।

महिला भलिबलको विजेता पुरस्कार भने १ लाख ३० हजार राखिएको छ । उप विजेता पुरस्कार ८० हजार राखिएकामा सेमिफाइनल पुग्ने २ टिमलाई समान ५०/५० हजार पुरस्कार राखिएको छ ।

पुरुष भलिबल प्रतियोगितामा १८ टिम, महिला भलिबलमा चार टिम र ब्याडमिन्टन प्रतियोगिताको लागि १८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । पुरुष ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने जोडिले ६५ हजार पुरस्कार पाउनेछन् । उप विजेता जोडीले भने ४० हजार नगद पुरस्कार पाउने बताईएको छ । सेमिफाइनल पुग्ने दुई जोडीले समान १५/१५ हजार पुरस्कार पाउने वडा कार्यालयले जनाएको छ ।

लोक दोहोरीको प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १५ हजार र तृतिय १० हजार पुरस्कार राखिएको छ । मेलामा राखिएको यस प्रतियोगिताको पुरस्कार मात्र १० लाख ६० हजार रहेको छ । यो प्रतियोगिता जिल्लाकै अहिलेसम्मकै ठूलो पुरस्कार राशिको हो ।
खेलकुदको प्रवद्र्धन, स्थानीय लोक सस्कृतिको संरक्षण तथा प्रवद्र्धन, मौलिक साँस्कृतिको संरक्षणको लागि मेलामा विविध प्रतियोगिताहरु राखिएको वडा अध्यक्ष जनकबहादुर बटालाले जनाउनुभयो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्