Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा पहिलो साहित्य महफिल भव्यताका साथ सम्पन्न

२०७९ कात्तिक १६
tribeni2

रुकुम पूर्वमा पहिलो साहित्य महफिल सम्पन्न भएको छ । राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वको आयोजनामा पहिलो साहित्य महफिल सम्पन्न भएको हो ।

मंगलबार साहित्य महफिल सिस्ने गाउँपालिका ६ छिप्रीदहमा रहेको होटेल लेक सिटीको हलमा सञ्चालन भएको थियो । महफिल कार्यक्रमको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले मैन बत्ति बालेर उद्धघाटन गर्नुभएको थियाे।

उद्धघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रेग्मिले साहित्य समाजको ऐना भएको बताउनुभएको छ । हामी अझै पनि मानवता र दानवताको बिचबाट गुज्रिरहेको बताउदै अध्यक्ष रेग्मिले यसबेला विश्वसनियताको अभावमा आक्रोश हुने बताउनुभयो । यही विश्वसनियताको अभाव, आक्रोशलाई साहित्यले शान्त पार्ने र ब्यङ्ग्यको माध्यामबाट चित्रण गर्ने काम साहित्यले गर्ने उहाँको भनाई छ ।

मान्छेमा भएको निराशापन अन्त्य गर्ने र रचना तथा मनोरन्जनको माध्याम समेत साहित्य रहेको भनाई अध्यक्ष रेग्मिको भनाई छ । रुकुम पूर्वका साहित्यकारहरुलाई अध्यक्ष रेग्मिले आशावादी, आदरभावको अभिव्यक्ति, नैतिकताको पक्षधरमा रहेर साहितय सिर्जना गर्न आग्रह गर्नुभयो ।

यस्तै जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर केसी, राप्ति साहित्य परिषदका केन्द्रिय उपाध्यक्ष मोहनलाल केसी लगायतका अतिथिहरुले साहित्यबिना मानिस, समाज अपुरो हुने बताउनुभएको छ । साहित्यले ब्यङग्यात्मक तरिकाबाट समाजमा हुने गरेका नराम्रा नराम्रा विकृती, विसंगतीको अन्त्य गर्ने बताउनुभयो ।

महफिल कार्यक्रममा तारकबहादुर शाहको मनसा साहित्यीक कृतिको पनि विमोचन गरिएको छ ।

महफिलमा गजलकार दाङका बसन्त ओली (बसन्ति), बर्दियाका पृथक हिमाल ओली, दोलखाकी सुशिला श्रेष्ठ, रोल्पाकी दिल कुमारी बुढा, रुकुम पश्चिमका जिएम दिपु दिपेन्द्र, रुकुम पूर्वकी सुधा शाहले गजलमय माहोल बनाउदा सल्यानका कवियत्रि कल्पना परियारले कवितामय माहोल बनाउनुभएको थियो ।

यसै कार्यक्रमको अवसर पारि कविता वाचन प्रतियोगिताको पनि आयोजना गरिएको थियो । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो ।

सम्मानित हुनुहुनेमा साहित्यकार तारक बहादुर शाह, कबियत्री फत्ते कुमारी वलि, गितकार तिलक रोका मगर हुनुहुन्छ । यस्तै स्वर्गीय मणिराम गौतमलाई मरणोपरान्त सम्मान गरिएको छ । जिल्लाको साहित्य क्षेत्रमा बिगतका दिनदेखि योगदान नै पुर्‍याउनु भएका गौतमको योगदानको उच्च मुल्यांकन गर्दै उक्त सम्मान गरिएको राप्ती साहित्य परिषदका अध्यक्ष कमानसिङ डाँगीले उल्लेख गर्नुभयो ।

राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष कमानसिंह विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर केसी र राप्ति साहित्य परिषदका केन्द्रिय उपाध्यक्ष मोहोनलाल केसीको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न निकायका व्यक्तित्व, साहित्यकार तथा अन्य नागरिकको उपस्थिती रहेको थियो । 

परिषदका उपाध्यक्ष जमुना गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य उर्मिला गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्