सोसल मिडिया
डोटीको बडीकेदार गाउँपालिका–१, बिपीनगरमा रहेको ईलाका प्रहरी कार्यालयमा एक अपरिचितको फोन आयो । फोन गर्ने व्यक्तिले बाटोमा एक केटा र दुई केटीका आपसमा झगडा भईरहेको र ति मध्ये एक केटीले आफु आत्महत्या गर्ने कुरा गरिरहेको सुनाए ।
उजुरी पछि ईलाका प्रहरी कार्यालयका इन्चार्ज भरत चौधरीले तुरुन्तै टोली खटाएर तीनै जनालाई नियन्त्रणमा लियो । प्रहरीले झगडाको अनुसन्धान थाल्यो ।
“त्यो केटाको फेसबुकमा एउटा केटीसंग लभ परेको रहेछ, दुवैको कुरा बिहे गर्ने तहसम्म पुगेको रहेछ” घटनाबारे सुनाउँदै इन्चार्ज चौधरीले भने ‘तर केटीका आमाबुवाले त्यो केटा पहिले नै विवाहित भएको र श्रीमतीले अर्कै बिहे गरेको भन्ने थाहा पाएपछि बिहे गर्न मानेनछन् ।’
चौधरीले बेलीविस्तार लगाए, ‘त्यसपछि केटाले साथीमार्फत अर्को केटीसंग फोन सम्पर्क गरेछ, फोनमा गफ गर्दागर्दै लभ परेछ ।’केटाले अन्ततःअर्को केटीलाई पनि बिहे गर्ने तहसम्म पु¥यायो । दुवै बिहे गर्न राजी भए । छोरीलाई खुशी साथ राख्ने र पढाइदिने भन्ने प्रतिवद्धतापछि आमाबुवाले पनि स्वीकृति दिए । आमाबुवाको सामान्य टिकाटालोपछि बिदाई भएर घर जान हिडे दुवै ।
यो खवर पहिलेको केटीले थाहा पाईन । उनी दौड्दै बाटोमा आईन र आफुलाई धोका दिएको भन्दै झगडा सुरु गर्न थालिन् । उनले आफुसंग पनि बिहे गर्नु पर्ने भन्दै नभएआफु झुण्डिएर मर्ने धम्कीदिएकी रहिछन् । ‘दुवै केटीको उमेर १७÷१८ बर्ष मात्रै छ, त्यसैले बिहे हुने त कुरै भएन’ इन्चार्ज चौधरी भन्छन् ‘दुवै केटीका अभिभावकहरुलाई बोलाएर हामीले जिम्मा लगाई दियौं ।’
केहीदिन अघि जिल्ला प्रहरी कार्यालयमा १८ बर्षीय केटा र १९ बर्षीया केटीको जोडी आयो । भरखर बिद्यालयशिक्षा परीक्षा (एसइई) दिएका उनीहरु मोवाइलबाटै नजिक भए । दुवै अभिभावकको आँखा छलेर भागे । केही दिनपछि दुवै केटाको घर आए । जाती नमिलेको भन्दै केटी पक्षले केटा केटी दुवैलाई र केटाका अभिभावकलाई धम्की दिन थाल्यो । केटाकेटी डराएर स्थानीय प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालय पुगे । ‘२० बर्ष नपुगी बिहे हुँदैन भन्ने पनि जानकारी रहेनछ उनीहरुलाई’ जिल्लाप्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले भने ‘एकोहोरा रुपमा हामीले बिहे गरिसक्यौं, अव कसरी बदर हुन्छ ? भनेर जिद्दि गर्न थाले ।’ धेरै प्रयासपछि सम्झाएर उनीहरुलाई अभिभावकको जिम्मा लगाईएको धामी वताउँछन् ।
यस्तै एक अर्को घटना छ । मोवाईलबाटै सम्वन्ध भएको एक जोडी केटा र केटीको अनुहारै नहेरी बिहे गर्ने तहमा पुगे । पुरुषले घरमा अर्को बिहे भएको कुनै जानकारी दिएनन् केटीलाई । जव दुवै एकअर्कालाई पति–पत्नि स्वीकार गरेर घर पुगे तव केटीलाई थाहा भयो, घरमा श्रीमतीमात्रै होइन दुइ छोरा पनि छन् भन्ने । उनले चुपचाप सौतामै बस्ने निर्णय लिईन तर पहिलेको श्रीमतीले मान्दै मानिनन् । केटीको उमेर १८ बर्ष पनि पुगेको छैन । घटना अझै मिलेको छैन तर कानुनी दायरामा पनिआएको छैन ।
जिल्लामा पछिल्लो समयमा फोनै फोनमा प्रेम गर्ने र बिवाह गर्नेको संख्या बढ्दै गएको छ । मोवाईल फोन र सामाजिक सञ्जालमा कुरा हुँदै बिहेको तहसम्मपुग्ने र सानै उमेरमा घरबाट भागेर जाने गरेका घटना बढ्दै गईरहेको सूचनाअधिकारी धामी वताउँछन् । अभिभावकहरुले आफ्ना छोराछोरीलाई सम्झाउन नसक्नु यसको प्रमुख कारण भएको धामीको भनाई छ ।