सोसल मिडिया
साहित्य जीवनको ऐना हो । ऐना हेर्न सबैलाई रहर लाग्छ । म यतिबेला भर्खरै एउटा सुन्दर जीवनको ऐना हेरेर फर्किए । ऐनामा आफ्नो अनुहार हेरे, अरुको अनुहार हेरे । देशमा पछिल्लो पटक बिभाजित भएर समृध्दिको दौडमा पहिलो हुन दौडिरहेको कान्छो जिल्ला रुकुम पुर्वमा पुगेर एक जीवनको सुन्दर ऐना हेरेपछी मिलेको आनन्दलाई म यहाँ जोडिरहेको छु । यो यात्रा कहानी साहित्य महफिल -२०७९ रुकुम पुर्व बाट हो ।
यात्रालाई अघिल्लो दिन कार्तिक १४ बाट जोड्दैछु ।
बिहानको नौ बजेतिरै सदरमुकाम खलंगा पुगेपछी मैले फेसबुकमा स्टाटस राखेको थिए ।'म अहिले पश्चिम सदरमुकाम रुकुम पुगे । पुर्व सदरमुकाममा रुकुममा भोली हुने ब्यानरमा देखिएको कार्यक्रममा जान ईच्छुक साथिहरु कोही भए जानकारी पाऊ । एउटा सिट र समय सिमा १२ बजे सम्म ! अनि जाँदै गरेका साथिहरु भए पनि सँगै जाने मेसो गरम ल।'
अघिल्ला दुई वर्षमा कोरोनाले लकडाउन गराएर मान्छेलाई घरभित्रै सिमीत गरेको थियो । यो वर्ष भने दशैँमा लगातार तिन चार दिन बढीको झरीले लकडाउन जस्तै बनाएको थियो । असोज २० गते दशैँ थियो । दशैँको पछाडि २३ गते राप्ति साहित्य परिषद् जिल्ला शाखा रुकुम पुर्वले साहित्य महफिल गर्ने खबर आईसकेको थियो । ब्यानर आईसकेको अवश्थामा पनि यही झरीको आतंकले कार्यक्रम तिहार पछी सरेको थियो । यो पटक ब्यानरमा केही स्रष्टाहरु परिमार्जन सहित कार्यक्रम हुदैँ थियो ।
भोलीको कार्यक्रमको लागी रुकुम पुर्वको सदरमुकाम रुकुम हिडेको मान्छे म कार्यक्रमको अघिल्लो दिन रुकुम पश्चिमको सदरमुकाम खलंगामा यसरी बिहानै पुगेको थिए । मोटरसाईकलमा बिहानै हुईकिएर जाँदा अब त चिसोको दिन आउन थालेछ भन्ने महसुस भईसकेथ्यो । सिजन दिदीले खाना बनाऊछु भाई खाएर जाने हो भनेको अवश्थामा बिहानको खाना दिदीकोमै खाएर बजार निस्किए । अघि बिहान आँऊदाको चिसो र अब अझै माथी लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला जाँदैछु भन्ने कुरा दिमागमा आएपछी एक जोडा तातो ज्याकेट र पाईन्ट किनेर शरिरमै थपे । एक फन्को बजार लगाएर अलमलिदा बार्ह्र बजिसकेको अवश्थासम्म अघि राखेको स्टाटस धेरैपटक स्क्रोल गरिसकेको थिए ।
तर त्यहाँ कार्यक्रमको शुभकामना दिने मान्छेहरुको मात्र लस्कर थियो । मेरो मोटरसाईकल पछाडी बसेर सँगै कार्यक्रम हेर्न जान्छु, या सँगै जानुपर्छ हामी नि जाने हो भन्नेहरु कोही भेटिनुभएन । बरु यो बिचमा एक दुई जना साहित्यिक मनहरुको कार्यक्रममा जाने अथाह मन हुदाँ पनि बिवश्ताले पुग्न नसक्ने कुराहरु सुनियो । एक दुई जना साथिहरु अबेर मात्र यात्रामा जोडिन सक्ने खबर सुनियो । अन्तमा म करिब १ बजे तिर मध्य पहाडी लोकमार्गको बाटो हुदैँ रुकुमकोट तिर हानिए । मोटरसाईकलमा म एक्लै थिए तर बाटो वरीपरी पैयुँका फूलहरु फूले जसरी मन फूलेको थियो । मनमा साहित्यीक तरंग थियो ।
म रुकुमकोट पुग्दा दिउँसोको दुई बजेको थियो । राप्ति साहित्य परिषद् रुकुम पुर्व शाखाको उपाध्यक्ष जमुना गौतम 'जानु' जिलाई फोन सम्पर्क गरेपछी छिप्रि दह नजिकैको मल्ल होटेलमा पुगियो । म त्यहाँ पुग्दा सल्यानका साहित्यकार तारादेव शर्मा र दोलखाकी गजलकार शुशिला श्रेष्ठ पुगिसक्नु भएको थियो । जमुना जि को आयोजक टिम भोलीको ब्यवश्थापनमा धुमधाम साथ लागीरहेको थियो । यही मौकामा हामी अगाडी पुगेका तिन जना पाहुनाहरु भने कमल तालतिर निस्कियौँ । हिड्न झ्याऊ लाग्यो, एउटा मोटरसाईकलमा मैलेँ दुई पालो गरे । रुकुमकोट पुगेपछी रुकुमकोटको मुटु कमल दहलाई छुटाउनै भएन । नजिकैको नास्ता पसलमा हल्का नास्ता गरेपछी हामी कमल ताल परिसर भित्र छिर्यौ ।
यतिबेला कमल तालको कमल फुलेर झरिसकेको थियो भने फुलको ठाँऊमा फुल झरेपछी देखिने फलहरु देखिरहेका थिए । अघिल्लो वर्ष म पछिल्लो पटक गएको भन्दा कमल ताल व्यवस्थित गरिएको रहेछ । कमल ताल परिसरभित्र छिर्दा सुरूमै देखिएको राष्ट्रिय झण्डाको छाया कमल तालमा देखियो । मैले मोबाईल निकालेर झण्डा र झण्डाको छाया गरेर दुई वटा झण्डालाई एकैसाथ तस्बिरमा खिचे । तस्विरमा मात्र खिचिन जो कि त्यसलाई फेसबुकमा पनि सियर गरे । क्याप्सनमा लेखे कि 'आज र भोली रुकुमकोटमा' !
कमल ताललाई दाहिनेबाट एक फन्को लगाएर कमल तालको गेटमा फर्किदा दाँगका गजलकार बसन्त वलि 'बसन्ती', बर्दियाका गजलकार पृथक हिमाल वलि र रोल्पाकी गजलकार दिलकुमारी बुढा पुगिसक्नुभएको थियो । प्रत्यक्ष भेट उहाँहरुसँग पहिलो थियो मेरो । तर फेसबुक तथा साहित्यिक नाताले पहिल्यै परिचित थियौँ हामी । गाडीमा यात्रा गरेर आउनुभएका उहाँहरु कोठामा गएर आराम गर्न आतुर जस्तै देखिए पछि बसन्त सरलाई मैले मोटरसाईकलमा लिए । मैलेँ उहाँलाई लिए उहाँले तिन जनाको झोलाहरु लिनुभयो, समाएर ।
बेलुका हुने तरखर भईरहदाँ सल्यानकी कवियत्री कल्पना परियार रुकुम पश्चिम सदरमुकाम सम्मको गाडीमा आएको र रुकुमकोट पुग्न गार्हो हुने साधन नहुने कुराले पिरोल्यो । सल्लाह पश्चात कुनै सरल विकल्प नभएको अवश्थामा तारादेव मेरो मोटरसाईकल लिई ३० / ३२ किलोमिटर पुगेर फर्किने निधोमा हिड्नुभयो । जाजरकोटबाट आउनु भएका गजलकार भाबुक रिदम र अर्को साथीले उहाँहरुलाई रुकुम खलंगामै पर्खिने र सँगै चार जना रुकुमकोट फर्किने कुरा भयो । त्यसैअनुरुप उहाँहरु फर्किदा हामी रुकुमकोटमा भएका स्रष्टा तथा केही आयोजकले खानपिन गरे लगत्तै उहाँहरु चार जना पुग्नुभयो । खानपिन पछी आयोजकले ब्यबश्थापन गरेका चार कोठामा हामी पस्यौँ ।
सामान्यतया अन्य कार्यक्रमहरुमा जाँदा कार्यक्रमको अघिल्लो साँझ अनौपचारीक बसाई हुन्थ्यो । तर यहाँ त्यसो भएन पहिलो कार्यक्रम भएकोले आयोजक टोली दौडधुपले थकित थियो सायद । र त्यस्तै थकित हुनुहुन्थ्यो कि आमन्त्रित स्रष्टाहरु पनि । जमुना जि, भावना जि र निमा दिदीहरुले त माला उनेर मात्र सुत्नु थियो रे । हामी एउटा कोठाको तिन ओटा खाटमा चार जना भयौँ । तारादेव एउटामा, जाजरकोटका साथीहरु एउटामा र म अर्कोमा । धेरै कुरा नगरी सुत्यौ हामी पनि त्यो साँझ । वश, यति थाह भयो जाजरकोट बाट गजलकार रिदम बाबु सँगै आउने अर्को मित्र पत्रकार प्रेम विश्वकर्मा हुनुहुदोँरहेछ ।
चिसो बढ्न थालेछ । बिहान उठ्दा बिस्तरा बाट अलिक बल गरेर मात्र उठियो । कार्यक्रम हुनु भन्दा अगाडिको समय, त्यो भन्दा पनि अझ खाना खानु भन्दा अगाडीको समय यसै बस्न मन लागेन । बाउन्न पोखरी त्रिपन्न टाकुरी भएको क्षेत्रमा पुगेर यसै बन्द कोठामा के अलमलिनु । हामी दुई ओटा मोटरसाईकलमा चार जना भएर रुकुमकोट माथिको डाँडातिर उक्लियौँ । डाँडामा उक्लिनेमा हामी थियौँ -म, रिदम, प्रेम र कल्पना जी । अरु टिम कता कता अलमलियो थाह भएन । एउटै होटेलको बसाई भए पनि तल माथीको कोठाले यतिसम्म बेखबर बनाउने रहेछ कि ? आयोजक टिम आफ्नै दौडधुपमा छ भन्ने हामीलाई अवगत नै थियो ।
माथी डाँडाबाट देखिने सुन्दर रुकुमकोट र रुकुमकोटको मुटु जस्तै बिचैमा देखिने कमल ताल आहा । डाँडाको सिँढीहरु चढ्दा चढ्दै तस्बिरमा कैद हुन थाले । शहर तिर जस्तो बिहानीपख देखिने तुवाँलोको यता कुनै नामो निशाना थिएन । पारी पारी सम्म डाँडाहरु देखिन्थे । डाँडामाथी सेता हिमालहरु देखिन्थे । रुकुमकोट बजार हुँदै रेली खोलाको तिर पकडेर बाग्लुङ्ग तिर मोडिएको मध्य पहाडी लोकमार्ग देखिन्थ्यो । मैले यो भन्दा अगाडी यि दृश्यहरु देखेको भए पनि रिदम, प्रेम र कल्पना जि हरु पहिलो पटक यहाँ माथीबाट यि दृश्यहरु उत्साहपुर्वक नियाली रहनु भएको थियो । उसो त निर्मीत संरचनाहरुमा म पछिल्लो पटक आउदाँ भन्दा केही परिमार्जन त थियो नै ।
डाँडामा राष्ट्रिय झण्डा थपिएको थियो, त्रिशुल र घण्टहरु थपिएको थियो, शिवको मुर्तिमा रंगरोगन गरेर चिटिक्क पारिएको थियो । खुसी मनले हामी त्यो दृश्यमा हरायौ । रिदम जी र कल्पना जि ले टिकटक बनाएको देखिरहदाँ मलाई नि जोस चढ्यो । डाँडामा बसेर टिकटक बनाईरहँदा रिदम जि ले क्यामेरा मेनको कला गज्जबको देखाउनुभयो ।मैलेँ खोजे भन्दा राम्रै टिकटक भईहाल्यो । प्रेम जि ले त्यसमा स्लो मोसन टिकटक बनाईदिनुभयो । मैलेँ उहाँहरुको नजाने पनि टिकटक बनाईदिए । निष्कर्षमा थाह भयो कि, उहाँहरुको अभिनय राम्रो थियो तर मेरो खिचाई राम्रो थिएन । मेरो मानेमा ठिक यसैको उल्टो । हामी तिन जना केटा पार्टीसँग एक मात्र केटी कल्पना जि । उहाँलाई असहज लागेको थियो कि भन्ने लागिरहेथ्यो । म पहिलो पटक उहाँसग भेटिएको थिए, धेरै साथ दिन असहज लाग्यो । यो असहजतालाई सहज गर्ने काम रिदम सरले गर्नुभयो ।
सायद उहाँहरु पहिला परिचित हुनुहुन्थ्यो होला । सुन्दर दृश्यमा हराउने तस्बिर खिच्ने र टिकटक बनाउने धित मेटिनु भन्दा पहिला भोकको अनुभुति भईहाल्यो । बिहान चिया पनि नपिएर डाँडामा उक्लिएको बल्ल याद भयो । भोक लागेको कुरा मैलेँ अभिव्यक्त गर्नु अगाडी कल्पना जि ले अभिव्यक्त गरिहाल्नुभयो । बिस्तारै हामी सिढीँ भएर तलतिर झर्यौ । तस्बिर लिने काम यतिन्जेल जारी नै थियो । कमल ताल नजिकै पुगेर छोले समोसा खाए पछी हामी होटेलतिर फर्कियौँ । कमल ताल भित्र छिर्ने मन थियो तर समय घर्किने देखियो । अब हामीसँग खाना खाएर कार्यक्रममा पुग्न सिमीत समय थियो ।
खाना खाएर होटेल लेक सिटी बाहिर पुग्दा कार्यक्रम सुरु हुनै आँटेछ । कार्यक्रम सञ्चालक उर्मिला गौतम जि को मिठो स्पष्ट आवाज कानमा गुन्जियो । कार्यक्रम हल भित्र हामीहरु छिर्दै गर्दा दर्शक तथा अतिथीजनहरुको बाक्लो उपश्थिती भईसकेको थियो । लुसुक्क पछाडी गएर बसेका हामी आजको वाचनमा भए जति स्रष्टालाई अगाडि बोलाईयो । हामी अगाडी गयौँ, टिका र माला लगाएर ब्याजमा बसाईयो, हामी बस्यौ ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले पानसमा बत्ति बालेर उद्धघाटन गर्नुभए पश्चात राष्ट्रिय गान गाएर साहित्य महफिल अगाडी बढ्यो । राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) की उपाध्यक्ष जमुना गौतमले महफिलमा स्वागत मन्तव्य राख्नुभयो । स ्वागत मन्तव्य पश्चात क्रमश: जिल्ला समन्वय समिति रुकुम(पूर्व) का उपप्रमुख मोहनबहादुर केसी, राप्ति साहित्य परिषदका केन्द्रिय उपाध्यक्ष मोहनलाल केसीले, राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओली र सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले कार्यक्रमलाई शुभकामना तथा आफ्नो बिचार अभिव्यक्ति राखिदिनुभयो । एकैछिनमा सोही कार्यक्रम हलमा बयोवृद्द साहित्यकार तारकबहादुर शाहको मनसा नामक साहित्यीक पुस्तकको विमोचन गरियो ।
त्यसैगरी कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान र विकासमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्वहरू क्रमशः कर्मशही घर्ती मगर, तिलक रोका मगर, तारकबहादुर शाह, फत्तेकुमारी ओली, गिरीप्रसाद बुढा, कैलाश कुमार मल्ललाई सम्मान गरियो । साथै सोही अवसरमा मरणोपरान्त सम्मान दिवंगत कवि तथा साहित्यकार मणिराम गौतमलाई गरिएको थियो । गज्जबको कुरा महफिल सँगै आयोजकले यहाँनेर कविता प्रतियोगिता राखेको रहेछ । महफिल सेसन चल्नु अघि २८ जना प्रतियोगीहरुको कविता सुन्नु पर्ने भयो, हामीले धैर्यपुर्वक सुन्यौ । विशेष गरी विद्यालय स्तरका भाई बहिनीहरुको उत्साहजनक सहभागिता देखियो । एक जना हिरा बुढा मगरले कविता वाचन गर्दै गर्दा उनको आवाजले मन्त्रमुग्ध बनायो । म सँगै बसेर सुनिरहनु भएका महफिलका आमन्त्रित स्रष्टा पृथक हिमाल सर भन्दै हुनुहुन्थ्यो 'यो बहिनीले छन्दको ज्ञान पायो र कविता लेखनमा जोड दियो भने देश खान्छ ।' मैले सोही महसुस गरिरहेको थिए ।
अरु धेरै प्रतियोगीहरुले पनि राम्रो राम्रो कविताहरु वाचन गर्नुभयो । मज्जा आयो । मज्जासँगै मनमा भने महफिल सेसन सुरु हुन अलि ढिला भईरहेको आभास खट्किन थालेथ्यो । त्यतिबेला लागेको थियो आयोजकले कविता प्रतियोगिताको लागी पहिला नै कविता मागेर सिमीत उत्कृष्ट ५ या १० जनालाई मात्र वाचन गराएको भए बेश हुनिथियो कि ? हुन त ठुलो स्टेजमा धेरै जनाको अगाडी यसरी कविता वाचन गर्न पाँउदा साना भाई बहिनीहरुको मनमा थप लेखन रुची, साहित्य रुचि थपिने कुरा पनि सकारात्मक थियो । अझ निर्णायक मण्डल बाट लेखन र वाचनको समग्र मुल्यांकन लिन पाउनु प्रतियोगीहरुलाई झन राम्रो कुरा थियो । बश, महफिल अलि ढिला हुने कुराले मनमा सिमित वाचनको जुक्ती फुराउन पुगेछ ।
अन्तिम प्रतिक्षाको घडी पनि आयो । कविता वाचन सकिए लगत्तै एकछिन हल खाली खाली देखियो । पछि तस्बिर लिन मिल्छ मिल्दैन अहिले जाओस् भन्ने आवाजहरु सुनिरहदाँ तस्बिरहरु खिच्ने काम भईहाल्यो । सर्जना कार्की जि क्यामेरा चलाउदै हुनुहुन्थ्यो । अरु जनहरु पनि मोबाईलबाटै तस्बिर लिदैँ हुनुहुन्थ्यो । गज्जबको कुरा होटेल लेक सिटी बाहिर तस्बिर खिचाउनकै लागी दुई चार ओटा आकर्षक डिजाईन राखिएको थियो । ५ - १० मिनेटको यस्तै अलमलपछि पुन: कार्यक्रम हल भरियो । अब गुन्जिने पालो हामी आमन्त्रित स्रष्टाहरुको थियो । स्रष्टाहरुलाई क्रमशः अगाडी बोलाएर वाचकको लाईनमा राखियो । म पनि हात हल्लाउदै आफ्नो आसन ग्रहण गरे । हामी अगाडी वाचनमा छ जना गजलकार र एक जना कवयित्री गरेर सात जना भयौ । हाम्रो अगाडी दुई वटा माईक स्ट्यान्डमा थिए ।
सुरुको पालोमै चर्चामा रहनुभएका दाँगका गजलकार बसन्त ओली 'बसन्ती' आफ्नो गजल वाचन गर्न थाल्नुभयो । आमालाई सम्झिदै एक तरुन्मय गजल शेर बाट उहाँले माहोल बनाउनुभयो । सबैको कान बसन्त सर तिरै पुगे । सबैको ओठले वाह् उच्चारण गर्न थाले । पहिलो चरणमा क्रमश: दुई दुई वटा गजल बसन्त सर पछि बर्दियाका गजलकार पृथक हिमाल ओली र दोलखाकी गजलकार शुशिला श्रेष्ठ जि ले सुनाउनुभयो । बिचमा कविताको पालो आयो । सल्यानको कवयित्री कल्पना परियारले दुई कविता वाचन गर्नुभयो । कुमारी आमा र सुक्ष्मदर्शक यन्त्र शिर्षकमा ।
गजलमा वाह गरिरहने माहोलले कविताको गहिराईमा पुगेर शान्त हुदैँ भाव ग्रहण गर्यो, ताली बजायो । कविता पछि फेरी गजलको पालो आयो । रोल्पाकी गजलकार दिल कुमारी बुढा पश्चात मेरो अनि रुकुम पुर्वकी गजलकार सुधा शाहका गजलहरु हलभित्र गुन्जिए । स्पिकरमा हल बाहिर पर परसम्म अनि रेडियो पुर्वी रुकुमको लाईभ बाट पनि हाम्रो आवाज गुन्जिरहेको जानकारी आएको थियो । वाचनको सेसन तिन चरणमा भएकोले पुन: दोहोरीयो, तेहरियो । दोस्रो चरणमा पनि दुई दुई गजल वाचन भए । कविता भने एउटा । र अन्तिम चरणमा एक एक गजल मात्र । यसमा मात्रलाई पनि पेलेर थप गजलका शेरहरु पोखिए । बसन्त सरको थप तरुन्मय आवाजले मनमा पछिसम्म काँडा उमारीरह्यो । उहाँसँगै तरुन्मय आवाजमा हलका सबैले शेर दोहोर्याए ।
"एउटा जवान ढल्दा सब सकिए नसोच्नु ।यो वीरको भुमी हो अर्को तयार हुन्छ ।"
अन्तिम चरण सम्म पुगिसक्दा अबेर भईसकेको आभास सबैलाई थियो । तर पनि उपश्थित जनहरुको धैर्यताले गदगद बनायो । हामीलाई सुनिदिनु हुने साना भाई बहिनीहरु देखी बिद्दत प्राज्ञिक तथा बा उमेरका आदारणिय जनहरुको यो साथ निकै अनुकरणिय थियो, प्रशंसनिय थियो । अझ हाम्रो वाचन पछि उहाँहरुले सुनाउनु भएका स्थानिय लोक साहित्य देखी उच्च कोटीका रचनाहरु निकै राम्रा थिए । हाम्रो बा उमेरका जेष्ठ आदारणिय जनहरुले सुनाउनु भएका स्थानिय गित भाका तथा साहित्यहरुको रस मेरो मन मष्तिस्कमा अहिले पनि प्रसारित भईरहेको छ । ७६ वर्षीय ज्येष्ठ नागरिक टिकाराम गौतमबाट प्रस्तुत गरिएको स्थानीय मौलिक सिंगारु गीतले निकै लोभ्यायो ।
यतिबेला निमा दिदीसँगै बसन्त सर आफुलाई थाम्न नसकेर आफ्नै शैलिमा नाँच्न थाल्नु भएको थियो । मैले बल्ल तल्ल आफुलाई रोके तर मन नाँचिरहेको थियो उहाँको भाकासँगै । त्यसैगरी अर्का ज्येष्ठ नागरिक भुवनेश्वर उपाध्याको व्यग्य कविताले निकै छोयो । उहाँले मान्छेभित्र मौलाउदै गएको स्वार्थ लाई कवितामा व्यंग्य कविताको मालामा उन्नु भएको थियो । यो अतिरिक्त महफिल पश्चातका धेरै अनौपचारीक प्रस्तुती उत्कृष्ट सम्झनायोग्य थिए ।
जाजरकोटका गजलकार मित्र भावुक रिदम बाबुका शेरहरु पनि वाह थिए । दिउसो समयमै सकिएला भनेको महफिल अन्तत अबेर गरेर सकियो । कविता प्रतियोगिताको नतिजा र पुरुष्कार वितरण पश्चात, आमन्त्रित स्रष्ठाहरुलाई सम्मान गर्दै कार्यक्रमको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष कमानसिंह विष्टले समापन घोषणा गर्नुभयो । कार्यक्रम समापन पश्चात केही सामुहिक तस्बिर खिचेर निस्किँदा, बाहिर अधेंरोले ढाकिसकेको थियो । तर कार्यक्रम निकै बडो गज्जबले समापन भएको सुखानुभुती सबैको चेहरामा चम्किरहेको थियो ।
अन्तमा,साहित्य महफिल २०७९, रुकुम पुर्व शानदार रुपमा समापन भईरहदाँ मैलेँ धेरै कुराहरु, अनुभुती तथा महसुसहरु समेट्न नसके पनि, राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष आदारणिय साहित्यकार मनलाल ओली सँग हो मा हो मिलाउदै यति त भन्छु । 'बाउन्न पोखरी त्रिपन्न टाकुरीको काखमा सम्पन्न पहिलो साहित्य महफिल कार्यक्रमले रुकुम पूर्वलाई निक्कै तताउन पुगेको छ । निक्कै लोभलाग्दो साहित्यिक कार्यक्रमको प्रायोजक बनेर आफ्नो स्थानको महत्वपूर्ण सम्पत्ति एवम् पहिचान मौलिक कला, साहित्य र संस्कृतिको उत्थान र विकास गर्ने अभिभावकीय दायित्व निर्वाह गर्ने कार्यमा सिस्ने गाँउपालीका सरकारलाई धन्यवाद दिनुपर्छ ।
जसले सम्पूर्ण स्थानीय सरकारहरुमा केही न केहि चेत भरी दिएको छ कि, अब यस्तो महत्वपूर्ण साहित्यिक सम्पदाको संरक्षण र सम्वर्धन गर्नमा कुनै पनि आनकानी र ढिला सुस्ती नगरी ढुक्कसँग लगानी गर्न विलम्ब गर्न महत्वपूर्ण हुन्छ, जायज हुन्छ । भाषा, साहित्य, कला र संस्कृतिको उत्थानमा निस्वार्थ रुपमा क्रियाशील स्रष्टालाई प्रेरित गर्ने दायित्व वहन गर्न अभिभावकको हैसियतले स्थानीय सरकार चुक्न हुन्न । देश र दुनिया बदल्न तथा तमाम खाले विकृति र विसंगतीहरुको भण्डाफोर गर्दै सुन्दर समाज निर्माण गर्ने अक्षय अस्त्रको रुपमा रहेको हाम्रो सम्पदालाई जगेर्ना नगरेमा भोलि हाम्रो मौलिक सम्पदा रित्तिन सक्छ । हाम्रा पूर्खाबाट आज्रिएर हामीलाई नासोका रुपमा छोडेका यस्ता सम्पदाको जगेर्ना गर्नु राज्य तथा सरोकारवालाको प्रमुख दायित्व हो । वर्षेनी करोडौं करोड रकम फ्रिज गराइन्छ । कला साहित्यको उत्थानमा लगानी गर्न कसैको ध्यान जाँदैन ।
साहित्यप्रति चासो हुने व्यक्ति र संस्थालाई कार्यक्रम गर्न प्रेरित गर्नुको साटो उल्टो साहित्यिक संस्थाले अनुनय विनय गरी कार्यक्रम गर्नुपर्ने वाध्यात्मक परिपाटीको अन्त्य हुन जरुरी छ । “राज्यको तर्फबाट हामीले कला साहित्यको शीर्षकमा यति रकम विनियोजन गरेका छौं । साहित्यिक संस्थाले वर्ष भरी के कस्ता गतिविधिहरू गर्न सक्छ ?” भन्ने राज्य व्यवस्था कहिले आउला ? विडम्बना भनौ या अवसर कतिपय क्षेत्रमा ठूलो मिहिनेतका साथ तयार गरि सम्बन्धीत निकायमा पेश गरिएका प्रस्तावहरु पनि रद्दिको टोकरीमा मिल्काइन्छ । यस्ता प्रवृतिले हाम्रो कला साहित्य झाँगिन कदापी सक्दैन ।
साहित्य भित्रका सबै व्यक्ति वा संस्थालाई हरेक साल स्थानीय सरकारले सम्मान गरेका समाचार सुनिन्छन् । लामो समयसम्म भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान गर्ने व्यक्ति वा संस्थालाई साहित्यिक संस्था बाहेक स्थानीय सरकारले आजसम्म सम्मान गरेको सुनिएको छैन । उसो त निश्वार्थ रुपले समाज सेवामा लम्किएका स्रष्टा वा संस्थाहरू न मानसम्मानका भोका न त पदका लोभी हुन्छन् । राज्यले प्रोत्साहन गरेमा तिनीहरूमा थप उर्जा र जाँगर बढथ्यो होला भन्ने अपेक्षा मात्र हो । विभिन्न काल खण्डका आन्दोलन र परिवर्तनमा साहित्त्यिक विचारले निर्णायक भूमिका निर्वाह गरेका कैयौं उदहारणहरु छन् । त्यसैले समाज विकास र उत्थानको निम्ति महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा संस्थालाई बेवास्ता गर्नु सुखद संकेत होइन ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको अपेक्षा र परिश्रलाई सिस्ने सरकार तथा त्यहाँ मनकारी व्यक्तित्वहरूको सहयोगले यस्तो उच्च स्तरको ऐतिहासिक साहित्य कार्यक्रम सफल हुन पुग्यो । यो कार्यक्रम सफल बनाउन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको कार्य समितिका सम्पूर्ण पदाधिकारी, सल्लाहकार तथा सुभचिन्तकको सक्रियतापूर्वक खटनपटन र क्रियाशीलताले निक्कै लोभ्यउथ्यो । उहाँहरूको त्यो लगनशीलता र सक्रियताले पद प्राप्तीको लागि तीनहात उफ्रिने र जिम्मेवारी निर्वाह गर्ने क्रममा लुकेर बस्ने प्रवृतिलाई चुनौती दिन्थ्यो । यतिबेला सिस्ने गाउँपालिका रुकुम पूर्व सरकारले साहित्यको उत्थानमा उदहारणीय कार्यको थालनी गरि धन्यवादको पात्र बन्न पुगेको छ ।
त्यसैगरी त्यहाँ स्थिति, राजनीतिज्ञ, समाजसेवी, चन्दादाता व्यापार व्यवसयी लगायतको योगदानलाई परिषद् प्रसंशा सहित आभार प्रकट गर्न उचित हुन्छ । यसैगरी सबै स्थानीय सरकारमा सकारात्मक सोच र चिन्तनको विकास भएमा हाम्रो मौलिक भाषा, साहित्य र कला र संस्कृति भावि पुस्तामा सर्न सक्छ भन्ने कुरामा कुनै दुबिधा छैन । यि र यस्तै तमाम चेतनामूलक शिक्षा र प्रेरणादायक संदेश दिदैँ नेपालकै कान्छो जिल्लामा गज्जब शानदारले पहिलो सहित्य महफिल २०७९ सम्पन्न भएको छ । जुन म लगायत सम्पुर्णको मन मष्तिस्कमा सदा ताजा रहिरहनेछ । एउटा साहित्य विकासको सिंगो ईतिहास बनेर अमर रहिरहनेछ । कार्यक्रम आयोजक टोलिमा फेरी मेरो धन्यवाद । यहाँहरुको यो साहित्यिक कदम सधैं अगाडी बढिरहोस् । आफ्नै छिमेकी जिल्लाको नाताले यसरी सम्झिए । जय साहित्य !
२३ कार्तिक, २०७९, हाल :- दैलेख