Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन

नयाँ मतदाताहरुमा मतदान प्रक्रियाबारे अन्यौलता

मतदाता शिक्षा केन्द्रित निर्वाचन कार्यालय
२०७९ कात्तिक २५
tribeni2

रुकुमपश्चिम /  मङसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्ने मतदाताहरुले आफूहरुले सहि मतदान प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् ।

मतदान गर्ने दिन नजिकिदै गर्दा आजसम्म कसैलेपनि मतपत्रमा छाप लगाउनेसँगै मतदान प्रक्रियाबारे जानकारी नगराएको उनीहरुको गुनासो रहेको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका ७ मुरुकी बिन्दु ओलीले आफूले पहिलो पटक चुनावी प्रक्रियामा सहभागी हुने मौका आएको तर आफुमा सहि मतदान प्रक्रिया बारेमा अन्यौलता रहेको बताउनुभयो । “न निर्वाचन कार्यालयले सिकाएको छ, न त कोहि उम्मेदवार आएर सिकाएका छन्,” ओलीले भन्नुभयो, “पहिलो पटक मतदान गर्न उत्सुक छु, तर छाप लगाउने, मतपत्र पट्याउने जस्ता कुरा केहि पनि थाहा छैन ।”

बाँफिकोट गाउँपालिका ९ झुला गाउँकी १८ बर्षिया तुलसा खनालले पनि आफुले सहि मतदाता शिक्षा नपाएको बताउनुभयो । पहिलोपल्ट मतदान गर्ने अवसर आएतापनि मत बिग्रने होकी भन्ने डर मनमा रहेको खनालले जनाउनुभयो । एकदुई पटक मतपत्रमा छाप हान्नलाई अभ्यास गर्न पाएको भए आफूलाई मत हाल्न सहज हुने उहाँको भनाई छ । घरमा मतदाता शिक्षा दिन कोेहिपनि नआएपनि घरका अगुवालाई सोधेर मत हाल्न जाने सोचमा रहेको खनालले उल्लेख गर्नुभयो ।

रुकुमपश्चिममा यस निर्वाचनका लागि एक हजार २६० जना नयाँ मतदाता रहेका छन् । उनीहरु सबैजना ओली र खनाल जस्तै अन्यौलतामा रहेका छन् । समयमै मतदाता शिक्षा नपाउँदा उनीहरुलाई पहिलो पटकको मतदान प्रक्रिया नै बिग्रने डर लागेको छ ।

मतदाता शिक्षा बारेमा कार्य गरिरहेको निर्वाचन कार्यालयले मतदाता शिक्षा र सहि मतदान प्रक्रियाबारेमा जिल्लाका सवै स्थानीय तहमा नमुना मतदान कार्य सम्पन्न गरेको जनाएको छ । जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले मत बदर हुन नदिन र सहि मतदान प्रक्रिया बारेमा जानकारी दिनको लागि ६ वटै स्थानीय तहमा नमूना मतदान गरिएको बताउनुभयो । मल्लले नयाँ मतदाताहरु समेतको लागि स्थानीय तहहरु मार्फत घरघरमा गएर मतदाता शिक्षा दिन महिला स्वयम्सेविकाहरुलाई खटाईएको जानकारी दिनुभयो ।

“विगतमा हामीले जिल्लाका विभिन्न विद्यालयहरुमा पनि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेका हौं,” जिल्ला निर्वाचन अधिकारी मल्लले भन्नुभयो, “चुनावको दिन नजिकिएकोले नमूना मतदान, स्वयम् सेविका परिचालन, सञ्चालन माध्याम समेतबाट मतदान प्रक्रियाबारे जानकारी दिईरहेका छौ ।”

नमूना मतदान कार्यक्रम पालिकाको केन्द्रमा मात्र भएकोले गाउँमा रहेका मतदाताले सहभागि हुन नपाउने गरेको गुनासो भने रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्