Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी तालिम सम्पन्न

तीन दिनमा २८८ जना मतदान अधिकृत र सहायक मतदान अधिृकतलाई तालिम
२०७९ कात्तिक २७
tribeni2

रुकुम पश्चिम / मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि रुकुम पश्चिममा तालिम सञ्चालन गरिएको छ ।

जिल्लाको ६ वटा स्थानीय तहमा रहेको १३९ मतदान केन्द र दुईवटा अस्थायी मतदान केन्द्र गरेर १४१ मतदान केन्द्रमा खटिने कर्मचारीहरुको लागि तालिम सञ्चालन गरिएको हो । तीन समुहमा विभाजन गरेर १४१ जना मतदान अधिकृत र १४१ जना सहायक मतदान अधिकृतलाई तालिम दिईएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ६ जना जगेडामा राखिएका मतदान अधिकृतहरुलाई समेत तालिम प्रदान गरिएको हो ।

जिल्लाको मुसिकोट नगरपालिका १ बराहटाकुरामा सरकारी कर्मचारीहरुको लागि र कारागारमा कैदीबन्दीहरुको लागि अस्थायी मतदान केन्द्र बनाईएको निर्वाचन अधिकृत मल्लले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार शुक्रबार, शनिबार र आईतबार २८८ जना कर्मचारीहरुलाई तालिम दिईएको हो । तालिमको पहिलो दिन जिल्लाको आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिईएको हो भने शनिबार चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा खटिएका कर्मचारीहरुलाई तालिम दिईएको हो ।

आईतबार जिल्लाको मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा खटिएका कर्मचारीहरुलाई तालिम दिईएको जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो ।

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिका लगायतका विषयमा पनि तालिम दिइएको छ । तालिमको सहजिकरण मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसी र प्रमुख जिल्ला अधिकारि परमानन्द घिमिरेले गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

तालिम पश्चात नमूना मतदान केन्द्र निर्माण गरेर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको सहभागितामा नमूना मतदान समेत गरिएको छ । ६ वटा स्थानीय तह र ७३ वटा वडा रहेको रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्