चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चौरजहारी नगरपालिकामा करिब १५ करोड प्राप्त

२०७९ कात्तिक ३०

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासिक अवधिमा करिब १५ करोड रकम आयको रुपमा प्राप्त गरेको छ ।

बिहिबार सम्पन्न नगर कार्यपालिकाको नवौं नगर कार्यपालिका बैठकमा पहिलो त्रैमासिक प्रगती समिक्षा गर्ने क्रममा उक्त प्रगती सार्वजनिक गरिएको हो । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालका अनुसार वार्षिक प्रस्ताविक आय ६३ करोड ६६ लाख ८४ लाख भएकोमा वास्तविक आय १४ करोड ९१ लाख ३९ हजार ६३८ रकम पहिलो त्रैमासिकमा प्राप्त भएको हो । यो प्रस्तावित आयको २३.४२ प्रतिशत रकम हो ।

निमित्त प्रमुख प्रकाशकीय अधिकृत ढकालका अनुसार हालसम्म १० करोड ३२ लाख १३ हजार ९८० अर्थात् १६.२१ प्रतिशत व्यय भएको छ । चालुतर्फ २०.९९ र पुँजीगततर्फ ८.१६ प्रतिशत खर्च भएको ढकालले बताउनुभयो । आन्तरिक स्रोतको प्रस्तावित आय ३ करोड २ लाख भएकोमा १ करोड ९६ लाख ६७ हजार ४७९ अर्थात् ६५.१२ प्रतिशत प्रगति भएको छ ।

नगर कार्यपालिकाको नवौ बैठकमा योजना कार्यान्वयनमा गति प्रदानका लागि सबै जिम्मेवार भएर लाग्न सुझाव दिइएको प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । दोस्रो त्रैमासिकलाई योजना कार्यान्वयनको अनुकूल त्रैमासिकका रूपमा लिइ सबै संयन्त्र परिचालन गर्नुपर्नेमा बैठकको जोड दिईएको खड्काले बताउनुभयो ।

बैठकले अनुदान कार्यक्रम कार्यान्वयनको अवस्था अध्ययन गरी सबल पक्षहरू, समस्या र सुझाव प्रस्तुत गर्न नगर उपप्रमुख इश्वरी शर्मा विएमको संयोजकत्वमा ७ सदस्यीय अनुदान कार्यान्वयन अवस्था सुझाव समिति गठन गरेको छ । त्यसैगरी बैठकमा आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षणको प्रतिवेदनमा छलफल गरी दिएका सुझावहरूको कार्यान्वयन तथा सम्परीक्षणका लागि लेखि पठाउने निर्णय गरेको छ ।

बैठकमा मानव अधिकार राष्ट्रिय कार्ययोजना स्थानीय समन्वय समिति गठन गर्नुका साथै कार्ययोजनाको बारेमा छलफल पनि गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा सामग्रीका लागि साझेदारी, सुरक्षित नागरिक आवास लगायतका प्रस्तावहरूमा पनि छलफल गरी निर्णय गरिएको नगरपालिकाका प्रवक्ता खड्काले बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्