Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व : नेतालाई मत र कामदारलाई कामै प्यारो

उम्मेदवारका एजेण्डाहरुप्रति श्रमिकको अविश्वास
२०७९ मंसिर १
tribeni2

रुकुम पूर्व / मतदानको दिन नजिकिएको छ, तर सिस्नेगाउँपालिका ५ रानीकोटकी ३८ बर्षिया हिरा बस्नेतलाई निर्वाचनले छोएको छैन । हरेक बिहान गाउँ नजिकै रहेको मध्यपहाडि राजमार्ग छेउमा गिट्टी कुट्नु र दिउँसो घाँसपात गर्नुउहाँको दैनिकी हो । “गिट्टी नफोडि घरमा खान पुग्दैन,” बस्नेतले भन्नुभयो, “नेतालाई चुनावमा मत प्यारो होला, हामीलाई त कामै प्यारो छ ।”

बस्नेतसँगै रानीकोटमा गिट्टी कुटिरहेकी सिस्ने गाउँपालिका –५ की मीना थापाले पहिलाको जस्तो चुनावको रौनक कामदारलाई नभएको बताउनुभयो । “हाम्रा आफ्नै दुःख छन्, कसैले सुनिदिने हैन,” थापाले नेताहरुले विगतमा गरेका वाचाहरु भुलेको गुनासो गर्दै भन्नुभयो, “उनीहरुले कुर्सी पाउनलाई मात्र हामीले मत खसाल्दिनुपर्ने नियती रहेको छ ।”

उम्मेदवार र कार्यकर्ताहरु घर घरमा मत माग्दै हिडिरहेको भएतापनि आफुहरु दैनिक घरको चुल्हो बाल्न काम नगरि नहुने बाध्यता रहेको उहाँहरुले सुनाउनुभयो । छोराछोरी पढाउन, हुर्काउन आफैले मेहेनत नगरी नहुने भएकोले साँझबिहान श्रम गर्नुपरेको थापाले जनाउनुभयो ।

नेताहरुले विगतका चुनावमा निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था भनेर सर्वसाधारणहरुलाई रनभुल्ल पार्न खोजेको आरोप उहाँहरुको छ । चुनावमा लगाइने नाराहरु चुनाव जितेपछि कमै मात्रमा वास्ता गर्ने गरेकोले चुनावी एजेण्डाहरुप्रति कामदारहरुको अविश्वास रहेको छ । “बिहान घरघरमा आएका नेता कार्यकर्ताहरुले जिल्ला सदरमुकाम, रोजगारी लगायतका कुरा लगाउँदै थिए,” थैलोभरी गिट्टी बनाएर ओसार्दै गरेकी बस्नेतले भन्नुभयो, “हामी सुनेको नसुनेझै गरेर यता आयौं, हामीलाई जागीर दिने होईन्न, समय मात्र किन खेर फाल्नु ।”

मध्यपहाडि लोकमार्ग छेउमा नियमित जसो गिट्टी संकलन गरेर बिक्रि गर्ने र परिवार धान्ने गरेको उहाँहरुको भनाई छ । करिब हप्तादिन सम्म गिट्टी कुट्दा एक ट्याक्टर हुने र घर बनाउनेहरुले किन्ने गरेको उहाँहरुले सुनाउनुभयो । त्यसरी बिक्रि गर्दा एक ट्याक्टर गिट्टीको मुल्य तीन हजार पाँचसय सम्म पर्छ । त्यसरी कमाएको पैसाले छोराछोरीको पढाई, लालनपालन र घरखर्च धान्दै आएको उहाँहरुले बताउनुभयो ।

सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनु भएका माओवादी नेता पूर्णबहादुर घर्ती मगरले सङ्घीयताको कार्यान्वयन र यस क्षेत्रको विकास र समृद्धिलाई प्राथमिकतामा राखेर घोषणापत्र सार्वजनिक गर्नुभएको । लुम्बिनी प्रदेशको सभामुख समेत रहनुभएका घर्तीले पहिलो कार्यकालमा कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा विभिन्न काम सुरु गरेको छु, अब त्यसलाई पूर्णता दिन र नयाँ एकीकृत योजनाका साथ काम गर्ने बताउनुभएको छ । 

नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले पनि कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीलाई चुनावी एजेन्डा बनाउनुभएको छ ।

प्रदेशसभाको निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका तेजबहादुर ओलीले सडक निर्माण तथा विस्तार, एकीकृत बस्ती विकास, खानेपानी, बिजुली, सञ्चार, खानी र वनजन्य उद्योगमार्फत अर्थतन्त्रमा सुधार, खेलकुद, शिक्षामा व्यवस्थित पूर्वाधार लगायतका मुद्दा अगाडि सार्नुभएको छ । 

त्यसैगरी स्वतन्त्र उम्मेदवार सुरुल पुनले यहाँको भूगोल, पछाडि पारिएका समुदाय, जातिका मुद्दा, सुशासनका एजेन्डा बनाउनुभएको छ । पिछडिएको क्षेत्र, वर्ग र समुदायबाट नेतृत्व गर्दै विकासलाई विशेष जोड दिने उहाँको दाबी छ ।

प्रदेश निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवार धनबहादुर केसीले भने आफू निर्वाचित भए सरकारी सेवा सुविधा नलिने वाचा गर्नुभएको छ । नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार, कृषिको व्यावसायिकीकरणका लागि काम गर्ने बताउनुभयो ।

प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार केशव रावलले पनि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगार/स्वरोजगार, भौतिक पूर्वाधार तथा यातायात, विद्युत् तथा सञ्चार, खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने दाबी गर्नुभएको छ ।

तर उम्मेदवारका एजेण्डाहरुप्रति श्रमिकको गुनासो रहेको छ । नारामा मात्र सिमित हुने घोषणापत्रले श्रमिकहरुको मुद्धालाई नछोएको उहाँहरुको भनाई रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्