Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वतन्त्र उम्मेदवार रावलद्वारा ज्यान रक्षाको माग

उम्मेदवार नै प्रहरी, प्रशासनबाट असुरक्षित भएको आरोप
२०७९ मंसिर ३
tribeni2

रुकुम पूर्वबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ मा स्वतन्त्र उम्मेरवारी दिनुभएका उम्मेदवार केशव रावलले ज्यान रक्षाको माग गर्नुभएको छ ।

शुक्रबार राती रावल बसेको होटेलमा प्रहरीले अनावश्यक छापा मारेको र निर्वाचन प्रचारको लागि बनाईएको सम्पर्क कार्यालयको ब्यानर च्यातेको रावलले बताउनुभयो ।

'म प्रद्रेश सभा सदस्यको उम्मेदवार हुँ,' रावलले भन्नुभयो, 'रुकुमकोटमा कतै नभएको सुरक्षा छापा म वसेकै होटेलमा भयो, सम्पर्क कार्यालयको ब्यानर च्यातेर निकालियो ।' उहाँले चुनावी कार्यक्रमको लागि रुकुमकोटमा रहेको होटेल चाइनिजमा बसेको सोहि नजिक सम्पर्क बनाउनुभएको थियो ।

रावलले आफू प्रदेश सभा सदस्यको उम्मेदवार भएकै कारण प्रहरी प्रशासनबाट असुरक्षित भएको र राज्यशक्ति आफू विरुद्धमा लागेको जनाउनुभयो। उम्मेदवार रावलले वाम लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवारले राज्यशक्तिको दुरुपयोग गरेर अन्य उम्मेदवारहरुलाई आतंकित बनाएको आरोप लगाउनुभयो ।

उहाँले सामाजिक सञ्जाल मार्फत मतदाता र मानव अधिकारवादी संघ संस्थासंग जीवन रक्षा र अधिकार रक्षाको लागि अपिल गर्नुभएको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण बहादुर खत्रीले छापा हान्ने र ब्यानर फाल्ने काम नभएको बताउनुभयो । उहाँहरु बसेको ठाउँमा जाँदा सामान्य विवाद भने भएको उहाँले बताउनुभयो । यस विषयमा उहाँहरुको प्रतिनिधि सहित छलफल हुदै गरेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बेलुका अबेर सम्म केहि युवाहरुले होटलमा मादक पदार्थ सेवन गरेर होहल्ला गरेको सूचना पश्चात प्रहरी त्यहाँ पुगेर सम्झाई बुझाई गर्न खोज्दा सामान्य विवाद हुन पुगेको सूचना आफूलाई आएको बताउनुभयो । त्यसक्रममा होटेल नजिकै रहेको सम्पर्क कार्यालयका ब्यानरमा असर पर्न गएको हुनसक्ने प्रजिअ सुनुवारले जनाउनुभयो ।

मादक पदार्थ सेवक, बिक्रि र ओसारपसार कार्य पूर्ण रुपमा रोक लगाईएको बेला होटेल व्यवसायीहरु र सेवनकर्ता समेतले अटेरी गर्न नहुने उहाँले उल्लेख गर्नुभयो । उम्मेदवारको सुरक्षाको बिषयमा आफुहरु सचेत रहेको र यस घटनाको बिषयमा उम्मेदवारले आफूलाई जानकारी नगराएको प्रजिअ सुनुवारको भनाई रहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्