सोसल मिडिया
काठमाडौँ / प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आज मङ्सिर ४ गते आइतबारका दिन हुँदै छ । संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन होे । यसअघि २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा यी सभाको निर्वाचन भएको थियो ।
मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा गरेबमोजिम आइतबार आमनिर्वाचन हुन लागेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल पुस ५ गते र २०७८ जेठ ८ गते गरी दुई पटक प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । तर प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि मध्यावधि निर्वाचनको प्रयास असफल भएको थियो ।
पहिलो पटक प्रतिनिधि सभा विघटन हुँदा २०७८ साल वैशाख १७ र २७ गते गरी दुई चरणमा चुनाव हुने घोषणा गरिएको थियो । दोस्रो पटक विघटन हुँदा २०७८ कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन हुने घोषणा गरिएको थियो । निर्वाचन आयोगले आइतबार हुने निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । यसका लागि देशभरका मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री पठाइसकिएको छ । देशभर मतदान केन्द्र धमाधम निर्माण भइरहेका छन् ।
बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुने मतदानबाट २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् । १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । निर्वाचन सकिएर मतपेटिका सङ्कलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दल भाग लिँदै छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । समानुपातिकतर्फ दुई हजार १९९ जना उम्मेदवार छन् । जसमा महिला उम्मेदवारको सङ्ख्या एक हजार दुई सय छ । प्रदेश सभाअन्तर्गत सातवटै प्रदेशमा तीन हजार २२४ जना प्रत्यक्षतर्फ र तीन हजार ७०८ जना समानुपातिकतर्फ उम्मेदवार छन् । यसरी देशैभरि प्रत्यक्षतर्फ पाँच हजार ६३६ र समानुपातिकतर्फ पाँच हजार ९०७ जना उम्मेदवार चुनावी स्पर्धामा छन् ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन् । ८८ लाख ४७ हजार ५७९ जना महिला तथा ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य समूहका मतदाता छन् । आयोगका अनुसार मतदानका लागि दस हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तोकिएका छन् ।