रुकुम कारागारमा मतदान सम्पन्न

नामावलीमा रहेका ६६ मध्य दुई जनाको मत खसेना

रुकुम पश्चिम / अस्थायी मतदान केन्द्रका रुपमा तोकिएको रुकुम कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । 

निर्वाचन आयोगले कारागारका कैदीबन्दीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरे अनुसार रुकुम कारागारमा रहेका कैदीबन्दीहरुले मतदान गरेका हुन् ।

कारागार कार्यालयमा तोकिएको अस्थायी मतदान केन्द्रमा ६४ जना कैदीबन्दीहरुको मत खसेको छ । मतदान अधिकृत लक्ष्मण बिकका अनुसार ६६ जना कैदीबन्दीको नामावली रहेको भएतापनि ६४ जनाको मात्र मत खसेको हो ।

नामावलीमा नाम समावेश भएका मध्य दुई जना कैदीबन्दी हाल रुकुम कारागारमा नरहेकोले मत नखसेको हो । कारागारमा रहेका कैदीबन्दीहरुले क्रमैसँग शान्तपूर्वक मतदान कार्यमा भाग लिएको मतदान अधिकृत बिकले जानकारी दिनुभयो । उहाँले  पाँच जना महिला र ५९ जना पुरुष कैदीबन्दीले मत खसालेको बताउनुभयाे ।  

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले नामावली अनुसार कारागारमा भएका कैदीबन्दीहरुले मतदान सम्पन्न गरेतापनि निर्वाचन आयोगले तोकेको समयअनुसार बेलुका पाँच बजेसम्म मतदान केन्द्रको मतपेटिका खुल्लै रहने छ । समय सकिएपछि मात्र बाकस बन्द हुने उहाँले जानकारी दिनुभयो । प्रजिअ घिमिरेले जिल्लाभर शान्तपूर्वक मतदान कार्यभैरहेको जानकारी दिनुभयो ।
जिल्लाभर १३९ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् ।

कारागारमा रहेका १२४ जना कैदीबन्दी मध्य अन्तिम मतदाता नामावलीमा ६६ जनाको नाम समावेश रहेको थियो । अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था रहेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्