Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्या पत्रकार; ह्या, पत्रकार !

काठमाडौं, बैशाख ।
tribeni2

पत्रकार भनेर परिचित गराउँदा कहिलेकाँही राम्रै मान सम्मान वा प्रतीक्रिया पाइन्छ तर कहिलेकाँही साह्रै अपमानबोध हुने व्यवहार पनि भोग्नुपर्छ । शेयर कारोबारमा महिलाको आकर्षणबारे रिपोर्टिङमा जाँदाको घटनाले मलाई अझै पनि नरमाईलो गराउँछ ।

आइतबार साताको शेयर कारोबार सुरु हुने दिन । रेडियोमा शेयरमा लगानी गर्ने महिलाको विषयमा केही दिनदेखी छलफल भएको थियो । पहिला पहिला शेयर भन्नेबित्तिकै पुरुषले लगानी गर्ने र ती बिजनेश क्लासका हुने भनेर बुझिन्थ्यो । हिजोआज शेयरमा लगानी गर्ने महिला पनि बढ्दैछन् भन्ने सुनियो । सोहीअनुरुप सम्पादकले महिलाको खास अवस्था के छ ? बुझ्नुस् न भनेर आइतबारको जिम्मा थमाइदिए ।
त्यो दिन अनामनगर र पुतली सडकस्थित केही शेयर कारोबार गर्ने कार्यालयसम्म पुगेँ । पहिलोमा पुग्दा एक जना महिलामात्र देखेँ, अरु सबै पुरुष । उनीसंग कुरा गर्न खोज्दै थिएँ, नेप्से परिसुचक ओरालो लागेको देखेर ती महिला निराश भई त्यहाँबाट निस्किन्, कुरा गर्ने मेसै मिलेन । त्यसपछि लागेँ पुतलीसडकतिर, हातमा रेकर्डर थियो अनी साथमा ब्याग । पुतलीसडकको शेयरमार्केटमा भने महिला धेरै थिए । कोही भर्खर आउँदै, कोही निस्कदैँ, यसो भित्तातिर आँखा डुलाएँ, स्कृनमा शेयर मापन गर्ने परिसुचक रातै थिए । गाँईगँुई आवाज आयो, ‘हेत्तेरी के भएको होला ... खत्तमै भो नी ... ।’

निराशाका बिच पनि मलाई कुराकानी गर्नुथियो । उनीहरु के गर्छन्, कहिलेदेखी शेयरमा लगानी गर्न थाले ? भन्ने विषयमा त्यसैले एकजना भद्र महिला नजिकै पुगेँ । फलानो मिडियाबाट पत्रकार... मात्र के भनेकी थिएँ, उनको निधार र नाकको आकार अचम्मै गरी खुम्चीयो । बाटोमा हिँड्दा दुर्घन्धले नाक निधार खुम्चाएर भागेझैँ उनी भागिन् ह्या, पत्रकार ? भन्दै ।

अली पर गएर एक्लै बसिन्, त्यसपछि मेरो मनमा भने भँुईचालो गयो । पत्रकार भन्नेबित्तिकै उनले यस्तो व्यवहार गर्ने गरी मैले के अपराध गरेँ । आफुलाई ड्युटी पुरा गर्नुथियो, त्यसैले आफुभन्दा एक सिट पछाडी आएँ, तीनचार जना महिला थिए, उनीहरुलाई कुराकानीको प्रस्ताव राखेँ, हेर्दा उनीहरु कुरै गर्न नजान्ने नसक्ने होईनन् भन्नेमा म विस्वस्त थिएँ, एउटीले भनीन्, ‘मलाई त केही आउँदैन्, उहाँलाई सोध्नु न उहाँलाई भन्न आउँछ ।’ कुरा त गर्नु नै थियो । तिनको नजीकै गएँ, अब मलाई पत्रकार भनेर चिनाउनु थिएन्, अनौपचारीक रुपमा कुरा निकाले, मेरो कुरामा उनी सहमत हुँदै गएपछि उनलाई म पत्रकार भनेर चिनाउँदा भएको व्यवहार सुनाएँ, उनी क्याम्पसकी प्राध्यापक रहिछन् नाम लक्ष्मी पन्थी । तितो पोखिन्, ‘पत्रकार भनेर के गर्नु भए नभएका कुरा लेखिदिन्छन् अनी उनीहरुसंग बोल्नुभन्दा तर्किनु नै वेस भनेर होला ।’ उनले युट्युबमा पत्रकार भनेर देखिने र देखाइने विषयवस्तुप्रति दुखेसो गरिन् –‘नभएका र नराम्रा खबर नै धेरै छिटो आउँछ, अनलाईनले एउटा हेडलाईन राख्छन् –न्युज हुँदैन् ।’

पत्रकारको बद्नाम

नेपालमा अहिले साँच्चै नै लक्ष्मी पन्थीले भनेझैं अफवाहपुर्ण खबर फैलाउने गैरपत्रकारका कारण पत्रकारीता पेशा र पत्रकारको बदनाम भैरहेको छ त ! पत्रकारको नाम भजाएर व्यापार गर्नेहरु पनि छन् । चितवनमा रहेर साहित्यिक क्षेत्रमा सक्रिय रेडियोकर्मी लक्ष्मी घिमिरेले अनावश्यक र स–साना कुराहरुलाई अतिरञ्जित गराउने केही युट्युब र अनलाईन सञ्चालकका कारण स्थापित पत्रकारसमेत समस्यामा परेको बताउँछिन् । उनले सबै पत्रकारलाई एउटै तुलोमा जोख्ने प्रवृतिका कारण पनि स्थापित पत्रकारले बदनाम हुने स्थिति आएको बताईन् । कसैका व्यक्तिगत विषयका बारेमा आउने भिडियो कुराकानी तथा अनलाइन समाचारहरु विश्वासिला आधारविना नै आम नागरीकका माझ पुग्ने गरेका छन् । आम नागरिकमा त्रास फैलाउने, नकरात्मकता फैलाउने तथा हुँदै नभएका तस्विर, भिडियो र अनर्गल लेखहरुका कारण आम पत्रकारिता जगत नै जोखिममा परेको छ । हजारौँ पत्रकार र सयौँ अनलाइन युट्युबका कारण सञ्चारको विस्वासिला माध्यम मानिएका रेडियो, टेलीभिजन पत्रपत्रिकाको समाचारमा पनि विस्वासको खडेरी लाग्न थालेको छ । पंक्तिकारले भोगेको घटना यसैको प्रमाण हो ।


भर्खरै हेलीकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारी –पत्नी विद्या भट्टराईले पति शोकका बेला आफ्नो पीडासँग व्यापार भएको दुखेसो पोखिन् र खेद प्रकट गरिन् । रविन्द्रको निधन भएको भोलीपल्टैदेखी विभिन्न अनलाइन र युट्युबमा विद्याले लेखिन् यस्तो कविता भन्दै कविता भाइरल बनाइयो । जसले अधिकारी परिवारमा झनै पिडा थपिदियो । यस्तै नजीरका कारण हामी पत्रकारमाथीको नागरिक विस्वास डग्मगाउँदै छ । विदेशमा भएका घटनालाई नेपालीकरण गरेर त्रासदीपुर्ण तस्विर राखी पाठक तर्साउने अनलाइन वा यट्युबका कारण हामी जोखिममा छौँ । नेपाल एफएम नेटवर्कमा कार्यरत पत्रकार प्रकाश बस्याल भन्छन्, ‘पत्रकारीता मात्र होइन हरेक क्षेत्रमा जोखिम त छँदैछ तर साँच्चै खोज पत्रकारिता गर्नेहरुलाई अफवाहपुर्ण भ्रम फैलाउनेहरुबाट जोखिम बढेको छ ।’

सुध्रिने र सुर्धाने कहिले

पत्रकारिताको मुलमर्म र मान्यताविपरीत काम गर्ने गराउनेलाई प्रेस काउन्सिलले अनुगमन गर्ने र कारबाही गर्छ । ‘व्यक्ति एक अनलाइन र युट्युब अनेक’ जस्तो स्थिति सिर्जना भएको बेला काउन्सिलको कारबाही र महासंघको अनुगमन प्रभावकारी भएको छैन, यो यथार्थ हो । पत्रकार बस्याल राज्यले पत्रकारको वर्गीकरण र शुद्धिकरण गरेर प्रोपागन्डा गर्नेलाई कडा कारबाही नगरेसम्म यो समस्या हल नहुने बताउँछन् ।

एउटा अनुभव सुनाऊँ, केही समयअघि नाकाबन्दीको बेला नवलपरासीमा कार्यरत थिएँ, पम्पले पत्रकारलाई परिचयपत्र र मिडियाको सिफारिसका आधारमा पेट्रोल उपलब्ध गराउने भयो । पत्रकारलाई रिपोर्टिड्डमा सहज होस् भनेर यो व्यवस्था गरिएको थियो । तर मिडिया सञ्चालक, मालिक तथा चिनजानका अरु व्यापारी, नेता र अरुको कार्ड बनाईयो र सिफारिस दिइयो । उनीहरुलाई पेट्रोलपम्प सञ्चालकले चिनेको भएपनि सिफारिसका आधारमा फ्युल दिए । पछि पत्रकार जाँदा कोटा पूरा भो भनीयो । त्यसपछि चोक चोकमा सुनीएको थियो, पत्रकारको नाममा कलंकहरु छन् । हो, यो प्रवृती नियमन कहाँबाट हुन्छ ? काउन्सिल र महासंघ यहाँनिर कसरी चुकिरहेका छन् ?

पहिला आम नागरिकसम्म समाचार पुग्ने माध्यम सिमित थियो । निश्चित समय पनि थियो । अहिले स्मार्ट जमाना छ, हातहातका मोबाइल ट्याब र सामाजिक सञ्जालका कारण व्यवसायिक सञ्चारका माध्यम रेडियो टेलिभिजन पत्रिका कसैले कुर्नुपर्दैन । यसैका कारण पनि इन्टरनेटको सहज पहुँचले भ्रमपुर्ण सामाग्रीहरु छिटो नागरिकसम्म पुगेका छन् । अब सच्चा पत्रकारिता गर्नेहरुले पनि पत्रकारका नाममा भएका गलत काम रोक्न–रोकाउन शुद्धिकरणको पहल र नियमनका लागि दबाब दिनैपर्ने छ ।

प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिताको चैत अ‌ंक २०७५ मा पत्रकार लक्ष्मी पौडेलले यो लेख लेखेकी छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  २३:०५
प्रतिक्रिया दिनुहोस्