Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला अस्पताल रुकुम पूर्वमा पहिलो पटक अप्रेशन सेवा

गर्भवती महिलाको अप्रेशन सफल
२०७९ मंसिर १०
tribeni2

रुकुम पूर्व / जिल्ला अस्पताल घोषणा भएको पाँच वर्षपछि जिल्ला अस्पताल रुकुम पूर्वमा अप्रेशन सेवा सुरु भएको हो ।

शनिबार अस्पतालमा पहिलोपटक एक गर्भवती महिलाको अप्रेशन गरिएको छ । जिल्ला अस्पतालका डा. पूर्ण बहादुर पुनका अनुसार जिल्लाको भूमे गाउँपालिका –८, की सन्तु बुढाको अप्रेशन गरिएको हो । डा. नारायण बरालको टिमले अस्पतालको पहिलो अप्रेशन सेवा सफल बनाएको पुनले बताउनुभयो ।

सुस्केरी हुने समय नाघेको र नर्मल डेलिभरी हुन नसकेकोले अप्रेशन गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सपना बिकले जानकारी दिनुभयो । उहाँका अनुसार औषधिले समेत काम गर्न नसकेपछि अप्रेशन गरिएको हो । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालको संविधान अनुसार रुकुमपूर्व छुट्टै जिल्ला घोषणा भएपछि २०७४ साल पुस ७ गते रुकुमकोटमा रहेको स्वास्थ्य चौकीलाई जिल्ला अस्पताल घोषणा गरिएको थियो । यसको औपचारिक उद्घाटन भने २०७६ साल मङसिर ५ गते गरिएको थियो ।

आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा जिल्ला अस्पतालले दिने सेवा प्रवाह उल्लेख्य हुन नसकेपछि सांसद विकास कोष र सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा २०७८ असारमा अप्रेशन भवन निर्माण गरिएको थियो । सिस्ने गाउँपालिकाको ३५ लाख र तत्कालिन प्रतिनिधिसभा सदस्य कमला रोकाको संसद विकास कोषको १४ लाख गरेर ४९ लाखको लगानीमा अप्रशेन भवन निर्माण भएको हो ।

बृहत आकस्मिक आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्तर्गत निक साईमन्स इन्सिच्युटले जनशक्ति उपलब्ध गराएपछि जिल्ला अस्पतालमा अप्रेशन सेवा सुरु भएको हो । हाल इन्सिच्युटले तीन जना डाक्टर र एक जना नर्स अस्पतालमा उपलब्ध गराएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट बिकले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा रहेका रुकुमपूर्वमा भौगोलिक विकटतासँगै पर्याप्त स्वास्थ्य सुविधा नहुँदा अप्ठ्यारो अवस्थामा रहेका गर्भवती महिलालाई मार्फत बाहिर लिने गरिएको थियो । जिल्ला अस्पतालमै गर्भवती महिलाको अप्रशेन सेवा सुरु हुँदा आम जिल्लावासीलाई ठुलो टेवा पुग्ने विश्वास रहेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्