Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
यात्रा संस्मरण

हिमाली जिल्लामा अति संवेदनशील मतदान केन्द्रको त्यो चुनाव

मतदान अधिकृतको डायरी
२०७९ मंसिर ११
tribeni2
  • कर्ण बहादुर के.सी.

२०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनका बेला पुथा उत्तरगंगा गाउँपालिका ११ मा झडप हुँदा एक जनाको ज्यान गएको थियो । त्यहि अर्थात पुथा उत्तरगंगा गाउँपालिका ‐११ स्थित उत्तरगंगा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मेरो खटनी भयो, निर्वाचन अधिकृतको रुपमा । जुन मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील केन्द्रको रुपमा राखेको थियो ।

कार्तिक २७ गते तालिम भयो रुकुमकोटमा । भौगोलिक रुपले विकट, चुनावकै क्रममा एक जनाको मृत्यु भएको, अति संवेदनशिल केन्द्रको रुपमा हेरिएको, यस्तै कारणले मनका संशय, कौतुहलता सिर्जना भएको थियो ।

अभिमुखिकरण सकियो, मैले आफ्नै खालको तयारी थाले । बस्दाको समयसम्मका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ता कपडा जोडे । जिल्ला सुरक्षा व्यवस्थापन समितिको योजना बमोजिम मंसिर १ गते हाम्रो मतदान टोली रुकुमकोटबाट मतदान केन्द्रमा पुग्ने गरि हिड्नु पर्नेभयो ।

म खटिएको मतदान केन्द्रमा १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना सहयोगि कर्मचारीसहति ८ जना कर्मचारी टिम थियौ । साथमा सुरक्षाका लागि ३ जना नेपाल प्रहरी र ९ जना म्यादि प्रहरी गरेर १२ जना सुरक्षाकर्मी हुनुहुन्थ्यो । हामी २० जना १ गते बेलुका नै मतदानस्थल पुग्यौ ।

मतदान केन्द्र गाउँपालिका केन्द्रबाट करिव ३० मिनेटको दुरिमा थियो । तर, कुनै पनि मोबाईल नेटवर्कले काम नगर्ने रहेछ । मतदानस्थल विद्यालयमा भएकाले त्यहि बस्ने निधो गर्यो ।

हाम्रो टिममा कर्मचारी तर्फ र सुरक्षाकर्मी तर्फ गरि २/२ जना महिला कर्मचारी भएका कारणले उहाँहरुको बासका लागि एउटा कक्षा कोठा, ६ जना पुरुष कर्मचारीका लागि १ ओटा कोठा र पुरुष सुरक्षाकर्मीका लागि २ ओटा गरि जम्मा ४ ओटा कक्षाकोठा सुत्नको लागि प्रयोग गर्ने भयौ ।

त्यसपछि बिद्यालयको चौरमा भान्सा बनायौ । केही हामीसंग भएका र केही स्थानीयसंग मागेर ओड्ने ओछ्याउनेको बन्दोबस्त गरेका थियौ । खुला आकाशमुनिको चौरमा चिसो सिरेठो सहदै खाना खाईसकेपछि दिनभरको यात्रा र खटनपटनको कारण सबेरै सुत्यौ ।

भोलिपल्ट सबेरै उठेर आफ्नो नियमित नित्यकर्म पश्चात सर्बपक्षिय बैठकको तयारीमा जुट्यौ । बिहान ८ बजे तोकिएको समयमा कसैको उपस्थिति भएन । विहानको चिसो मौसम या अन्य के कारणले हो, मान्छेको चहलपहल विहानको ९/१० नभएर नहुने रैछ । करिव ११ बजे तिर खानपिन सकेर त्यहाँ सक्रिय केही राजनीतिक दलका नेता, नागरिक समाजका केही अगुवा र आमनागरिक गरि करिव २०/२२ जनाको उपस्थितिमा सर्बपक्षिय बैठकको आयोजना गरियो ।

३ गते मतदानका लागि आवश्यक पर्ने बुथ निर्माणको काम गरियो । बुथ निर्माणपछि मतदान केन्द्र छेवैमा भएर बग्ने उत्तरगंगा नदिको किनार किनारै भएर त्यहाँको सुन्दर प्राकृतिक दृश्य अवलोकन गरियो । आफ्नै भाका सुसेल्दै बग्ने उत्तरगंगा नदि र त्यसको बहावसंगै बग्ने सरसर हावाको झोक्काले साँच्चिकै मन मनमोहक बनाएको थियो । करिव २ घन्टा उत्तरगंगा नदिसंगै बरालिएपछि हामी आफ्नै केन्द्रमा छुट्टै आनन्द बोकेर फर्कियौं ।

४ मतदानको दिन । योजना मुताबिक ७ बजे देखि मतदान सुरु गर्नका लागि करिव ६ः१५ तिर हाम्रो निर्वाचन टोली तयारीका साथ उम्मेदवार प्रतिनिधिको पर्खाईमा बस्यौं । ७ बजे अगावै प्रतिनिधि उपस्थित नहुनाले केहीबेर ढिला गरि मतदान कार्यको सुरुवात गरियो ।

दिनभरजसो सबै कर्मचारी निर्वाचनमा व्यस्त भईन्छ होला भन्ने अनुमान गरिएको थियो (किनकि ९४० मतदाता रहेकोले) । तर मतदानका लागि मान्छेको उत्साहपूर्ण सहभागिता भएन । छिटपुट सामान्य वादविवाद बाहेक अन्य कुनै अप्रिय घटना भएन । बिगतको घटनाले पाठ सिकाएर हो या स्थानीय तहको भन्दा कम महत्व दिएर हो । शान्त वातावरणमा निर्वाचन सम्पन्न भयो ।

भौगोलिक हिसाबबाट विकट रहेतापनि त्यहाँ पुगिसकेपछि देखिने प्राकृतिक सुन्दर दृश्यहरु, एकै ठाउँमा मिलेर बसेका बस्तिहरुको सुन्दर दृश्यले छुट्टै खालको आनन्द आउँछ ।

आवतजावतमा भूगोल जटिल र कठिनाई भएता पनि राज्यले दिएको गहन जिम्मेवारीलाई उच्च महत्व राख्दै हिमाली क्षेत्रको चिसोसँग पौंठेजोरी खोज्दै, सिमित स्रोत र साधनको उच्चतम प्रयोग गर्दै एउटा चुनौति पूर्ण यात्रामा सफलता हाँसिल गरेको सुखानुभूति गरेको छु ।

मेरो टिममा दुखकष्ट नभनि राज्यले दिएको जिम्मेवारी पूरा गर्न अहोरात्र खटिने मेरा सहपाठि, स्थानीय स्तरमा सक्रिय विभिन्न राजनीतिक दल, नागरिक समाज, निर्वाचन पर्यवेक्षक, पत्रकार र विशेषगरी त्यो केन्द्रका आम नागरिकलाई विशेष धन्यवाद दिन चाहन्छु ।

मतदान केन्द्रमा रहँदा एउटा अर्को कुराको जानकारी भयो । मतदाताहरुमा उम्मेदवारका चुनावी वाचाहरुमा रत्तिभर विश्वास रहेनछ । 

खसेको मत, आमनागरिकको उपस्थिति र मतदाताको गुनासोले त्यो कुरा झल्कियो । निर्वाचनको बेला मात्र जनताको माझमा नेता जाने प्रचलनको बिरोध पनि देखियो । जनता विकास र समृद्धि चाहन्छन् । तर त्यस अनुरुपको चाहना पूरा नहुँदा जनतामा निर्वाचन प्रतिको मोह कतै घट्दै गएको त होईन ? गम्भीर समीक्षा गर्नै पर्छ ।

निर्वाचन र निर्वाचनबाट मन परेको दल वा तिनका उम्मेदवार चयन गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर आम नागरिकको यो न्युन उत्साह र घट्दै गएको निर्वाचन मोहप्रति सोचनिय हुनै पर्छ ।

- (केसी सिस्ने गाउँपालिका रुकुम पूर्वमा इन्जिनियर पदमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्