समानुपातिक मत

क्रियाशिल पार्टी र उम्मेदवार बिनै रुकुममा स्वतन्त्र अगाडि

समाजवादी, राप्रपा र जनमोर्चालाई धक्का
२०७९ मंसिर ११

रुकुम पश्चिम / रुकुम पश्चिममा क्रियाशिल पार्टी र उम्मेदवार नहुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामा स्थापित दलहरुलाई पछाडि पारेको छ । स्वतन्त्र पार्टीले जिल्लामा क्रियाशिल पार्टीलाई समेत पछाडि पारेर चौथो स्थानको मत ल्याएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आएको समानुपातिक तर्फको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामा क्रियाशिल तीन दललाई पछि पारेको छ । नेकपा (समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चालाई स्वतन्त्रले उछिनेको हो । रुकुमपश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको बताईएतापनि राजनीतिक गतिविधि र दलिय उपस्थिति हुने गरेको छैन ।

जिल्लामा क्रियाशिल रहेका दलहरु मध्य नेकपा माओवादी केन्द्र पहिलो, नेकपा एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो दलका रुपमा रहेको छ भने स्वतन्त्र पार्टीले चौथो स्थान ल्याएको छ । कुनै पनि प्रकारको प्रचारप्रसार नहुँदा समेत राष्ट्रिय स्वतन्त्र पार्टी चौथो पार्टीका रुपमा स्थापित भएको छ ।

देशभर स्वतन्त्रप्रति आएको युवापुस्ताको क्रेजले जिल्लामा असर गरेको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य सुन्दर शर्माले बताउनुभयो । नयाँलाई हेर्ने मनसायले स्थापित दलहरुलाई वेवास्ता गरिएको उहाँको भनाई छ ।

जिल्लामा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार १११ मत खसेको थियो । खसेको मत मध्य प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले जम्मा ३४ हजार ३४७ मत प्राप्त गरेको छ । नेकपा एमालेले ८ हजार ७६९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ८ हजार ७६६ मत प्राप्त गरेको छ । यस अघि दोश्रो जिल्लामा दोश्रो दलको हैसियतमा रहेको नेपाली काँग्रेस तीन मतले एमालेभन्दा पछाडि परेको छ ।

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ८६१ मत प्राप्त गर्दा नेकपा एकिकृत समाजवादीले १ हजार ५१० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९३ र राष्ट्रिय जनमोर्चा पार्टीले ९८ मात्र मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभातर्फ नेकपा माओवादी केन्द्रले ३४ हजार २५९ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले ९ हजार ३८ मत प्राप्त गरेको छ । नेकपा एमालेले ८ हजार ९५१, नेकपा एकिकृत समाजवादी पार्टीले २ हजार ३७१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७५१ र राष्ट्रिय जनमोर्चा पार्टीले ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्