मुसिकोटमा निवेदन लिएको पाँच महिनासम्म पनि सुरु भएन कर्मचारी भर्ना प्रक्रिया

आवेदकहरु अन्यौलतामा, कार्यालयको काममा असहजता
२०७९ मंसिर १३

रुकुम पश्चिम / मुसिकोट नगरपालिकामा कर्मचारी भर्नाको लागि पाँच महिना पहिला खोलेको विज्ञापनमा हालसम्म भर्ना प्रक्रिया सुरु हुन सकेको छैन । कर्मचारी छनौटका लागि आवेदन दिएकाहरुले नगरपालिकाले महिनौसम्म आफूहरुलाई अन्यौल बनाएको गुनासो गरेका छन् ।

नगरपालिकाले सूचना प्रविधि अधिकृत र रोजगार सहायक पदको लागि खोलेको विज्ञापनमा निवेदन संकलन गरेपश्चात हालसम्म कुनै पनि सूचना नदिएको आवेदकहरुले जनाएका छन् । गत असार ३० गते रोजगार सहायक र साउन ११ गते सूचना प्रविधि अधिकृत भर्नाको लागि १५ दिने सूचना प्रकाशित गरिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो ।

उहाँले नगरकार्यपालिकामा तत्कालिन अवस्थामा भएको बेमेल, निर्वाचन आचारसंहिता लगायतका कारण कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढेको बताउनुभयो । तत्काल पदपूर्ति समितिको बैठक बसेर आवश्यक निर्णय गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जनाउनुभयो ।

यस बिषयमा मुसीकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले कार्यपालिकामा सहमति गरेर भर्ना प्रक्रिया अगाडि बढाउने बताउनुभयो । कार्यपालिकामा अल्पमत र बहुमतको दलिय आस्थाका कारण तत्कालिन अवस्थामा बेमेल बढेको थियो । यसका साथै प्रमुख प्रकाशकीय अधिकृत नयाँ ल्याउने बिषयमा समेत कार्यपालिकामा विवाद बढेको थियो ।

नगरप्रमुख केसीले विवादका बिषयहरु समाधान गरेर रिक्त रहेको पदको लागि खोलिएको विज्ञापनको भर्ना प्रक्रिया अगाडि बढाउने उल्लेख गर्नुभयो ।

नगरपालिकाका अनुसार रोजगार सहायक पदको लागी ५६ जना र सूचना प्रविधि अधिकृतमा ६ जनाको दरखास्त परेको छ । परिक्षाको तयारी गरिरहेका आवेदकहरुले भने जनप्रतिनिधिहरुको दलिय आस्थाको लडाईको कारण आफूहरुले लामो समयसम्म छनौट प्रक्रियामा ढिलाईको मार खेप्नुपरेको जनाएका छन् ।

रिक्त रहेको दरबन्दीमा कर्मचारी भर्ना हुन नसक्दा प्रशासनिक र बिषयगत काममा कठिनाई भएको समेत जनाईएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्