Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अदुवा किन्न बारीमै व्यापारी, रुकुमबाट १८ सय मेट्रिक टन अदुवा निर्यात

२०७९ मंसिर १५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादन भएको अदुवाले राम्रो बजार पाएको छ । सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेर अदुवा उत्पादनमा जोड दिएपछि यहाँको उत्पादनले बजार पाएको हो ।

त्रिवेणी गाउँपालिका –४ पोखरी गाउँका शेरबहादुर खड्काले अदुवा खरिद गर्न ब्यापारीहरु बारीमै आउने गरेको बताउनुभयो । व्यापारीहरुले अदुवाको माग धेरै गरेपछि अदुवा खन्ने, केलाउने र सुकाउने काममा व्यस्त भएको खड्काले जनाउनुभयो ।

मकै खेती छोडेर अदुवा खेती गर्न थालेका खड्काले आफ्नो बारीमा २० क्विन्टल अदुवाको बीउ लगाएकोमा अहिलेसम्म त्यसबाट ८० क्विन्टल अदुवा निकालिसकेको बताउनुभयो । अदुवा खेती गर्न सजिलो हुने भएकाले मकै छोडेर अदुवा खेतीमा आकर्षित भएको खड्काले बताउनुभयो ।

पोखरी गाउँमा मात्रै ३२ घरले व्यवसायिक रुपमा अदुवा खेती गरेका छन् । व्यापारीहरुले एक क्विन्टल अदुवा चार हजार रुपैयाँसम्ममा घरमै पुगेर खरिद गर्ने गरेका छन् । गाउँमा पुगेको सडकको कारण व्यापारीहरु ट्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै पुग्ने गरेको यहाँका किसानहरुको भनाई छ । यहाँका एउटा किसानले अदुवा बेचेर एक सिजनमा करिब पाँच लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् ।

कृषि विकास कार्यालय रुकुमपश्चिमका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले यस सिजनमा हालसम्म करिब एक हजार आठ सय मेट्रिकटन अदुवा जिल्ला बाहिर निर्यात भएको जानकारी दिनुभयो । उहाँका अनुसार औसतमा प्रतिकिलो ४० रुपियाँमा अदुवा बिक्रि हुने गरेको छ ।

कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा त्रिवेणी गाउँपालिकामा मात्र १८० हेक्टर जमिनमा अदुवा लगाईएको थियो । अझैपनि किसानले बारीबाट अदुवा निकाल्दै गरेको निमित्त प्रमुख केसीले उल्लेख गर्नुभयो ।

यस गाउँपालिकाको सिमु्रतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोटडाँडामा अदुवा संकलन गरि जिल्ला बाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका, आठबिसकोट नगरपालिका र चौरजहारी नगरपालिकाका केहि वडामा राम्रो अदुवा उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौ रकम भित्रिने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्