सोसल मिडिया
रुकुम पश्चिम / रुकुम पश्चिमको ग्रामिण भेगमा रहेका अधिकांश महिलाहरुमा पाठेघरको समस्या देखिएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको निःशुल्क एकिकृत महिला स्वास्थ्य शिविरमा उपचारका लागि आएका अधिकांश महिलाहरु पाठेघरको समस्याबाट पीडित भएको पाइएको हो ।
शिविरमा आएका महिलाहरुमा पाठेघरको समस्या बढी मात्रामा रहेको उपचारमा संलग्न स्त्री रोग बिशेषज्ञ डा. सिर्जना हमालले बताउनुभयो । उहाँका अनुसार सेतो पानी बग्ने, योनी चिलाउने, कम्मर दुख्ने, हातखुट्टा दुख्ने लगायतका समस्याहरु लिएर शिविरमा आएका धेरै जसो महिलाहरुमा पाठेघर खस्ने देखिएको छ । पाठेघरको समस्या डरलाग्दो अवस्थामा रहेको उहाँको भनाई छ ।
ग्रामिण महिलाहरुले आफ्नो स्वास्थ्यको ख्याल राम्रोसँग नगर्दा यस्ता समस्याहरु आउने गरेको पनि उहाँले बताउनुभयो । “कलिलो उमेरमा विहे गरे सुत्केरी भएका महिलाहरुको पाठेघरमा समस्या आएको पाइयो,” डा. हमालले भन्नुभयो, “ गर्भावस्था र अन्य समयमा महिलाहरुले गर्ने श्रम र गह्रो भारी बोक्ने चलनको कारण पाठेघरको समस्या जटिल बन्दै गएको देखियो ।”
उहाँका अनुसार भूगोलको सहजतासँगै गर्भावस्था वा सुुत्केरी भएको समयमा भारी नबोक्ने र स्वास्थ्यको ख्याल गर्ने गरेमा यो रोग अलि कम भएर जाने सम्भावना रहेको छ ।
महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा शिविर आयोजना गरेको हो । आयोजक सस्था ओरेकका जिल्ला संयोजक दिपा धितालले बाँफिकोट गाउँपालिकाको वडा नम्वर ९ र १० र मुसिकोट नगरपालिकाको वडा नम्बर ८ मा तीन दिने शिविर सम्पन्न गरिएको बताउनुभयो ।
तीन दिनकै शिविरमा आएका महिलाहरु मध्य अधिकांशमा पाठेघरको समस्या देखिएको छ । शिविरबाट बाँफिकोट गाउँपालिका वडा नम्बर ९ का २२९ जना, वडा नम्बर १० का १२३ जना र मुसिकोट नगरपालिका वडा नम्बर ८ का १७५ जना गरि ५२७ जना सर्वसाधारणहरुले सेवा लिएका छन् ।
जसमध्ये २०० जनामा पाठेघरको समस्या देखिएको डा. हमालले बताउनुभयो । ७७ जना महिलामा पहिलो चरणको पाठेघरको समस्या देखिएको छ भने १७ जना महिलामा दोस्रो चरणको समस्या देखिएको छ । यस्तै ७ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । उहाँहरुको उपचारका लागि दांग वा सुर्खेत पठाउने ओरेकले जनाएको छ ।
२० देखि २२ वर्ष उमेर समुहका महिलाहरुलाई पहिलो चरणको पाठेघरको समस्या देखिएको छ । वुद्धाअवस्थाका महिलाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको डा. हमालले जनाउनुभयो ।
स्वास्थ्य चेतनाको कमजोरीका कारण आफ्नो रोग लुकाएर बसेका महिलाहरु विस्तारै खुल्न थालेको र समस्या पत्ता लाग्दै गएको ओरेकका जिल्ला संयोजक धितालले बताउनुभयो ।