Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मलेसियामा अलपत्र परेका चारजना रुकुमेली हप्ता दिनदेखि भोकै, उद्धारको पर्खाईमा

२०७९ मंसिर १६
tribeni2

रुकुम पश्चिमका चार जना सहित पाँच युवा मलेसियामा अलपत्र अवस्थामा परेका छन् । बैदेशिक रोजगारीको लागि गत कार्तिकमा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ४ का ईन्द्रबहादुर ओली र टिकाराम भण्डारी, सोहि नगरपालिका ११ का टेकबहादुर केसी र सुनिल शाह र सुनेसरीको बराहक्षेत्र नगरपालिका ९ का सन्देश राई अलपत्र परेका हुन् ।

मलेसियामा आफूहरु अलपत्र अवस्थामा रहेको बताउनुहुँदै ईन्द्रबहादुर ओलीले उद्धारको लागि अपिल गर्नुभएको छ । उहाँले पाँचै जनालाई कम्पनीले एक हप्ता देखि खाना समेत नदिएको बताउनुभयो ।

नेपालबाट पठाउने कम्पनीले क्लिनरको काममा भन्दै आफूहरुलाई पठाएको भन्दै ओलीले मलेसिया जाँदा आफुहरुलाई जंगलको काममा लगाएको बताउनुभयो । असाध्यै अप्ठ्यारो अवस्थाको काममा लगाएपछि आफुहरु काम गर्न नसक्ने अवस्थामा पुगेको उहाँले जनाउनुभयो । आफूलाई नेपालको एजेन्ट र कम्पनीले झुक्काएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको कुरा मलेसिया पुगेर मात्र थाह भएको ओलीको भनाई छ ।

“काम च्यान्ज गरिदिनुपर्यो भन्दा कम्पनीले हामीलाई निकालिदियो, के खाने कसरी बाँच्ने हामीलाई समस्या भयो,” मलेसियाबाट मूलपाटीको सम्पर्कमा आउनुभएका ओलीले गुहार माग्नुभयो, “हामीलाई कि काम गर्ने, कि घर पुग्ने वातावरण मिलाईदिनुपर्यो ।”

ईलाईट ह्युमन रिसोर्स कम्पनीले ग्लोबल ईन्टरनेशनल म्यानपावर मार्फत मलेसियाको नेगिरी सिम्बिलिन भन्ने ठाउँमा रहेको पिआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा उहाँहरु पठाएको थियो ।

आफूहरु नेपालबाट आउँदा २ लाख ६० हजार रकम तिरेको आएको उनीहरुले बताएका छन् । अब नेपाल फर्काईदेउ भन्दा कम्पनीले ६ हजार रिङगेट अर्थात १ लाख ७५ हजार नेपाली पैसा माग्ने गरेको उनीहरुको गुनासो रहेको छ ।

म्यानपावर कम्पनीका एजेण्ट रुकुम चौरजहारी नगरपालिका ३ का यज्ञबहादुर बटाला मार्फत युवाहरु त्यहाँ पुगेका थिए । 

यस बिषयमा ईलाईट ह्युमन रिसोर्स कम्पनीका प्रमुख झविन्द्र पराजुलीसँग कुरा गर्न खोज्दा मोबाईल नम्वर उठेन । म्यानपावर कम्पनीका एजेण्ट बटालाले भने कम्पनीले सबै कुरा स्पष्ट पारेरै पठाएको प्रतिक्रिया दिनुभयो । “उता पुगेर मेडिकल जाँच गरेर काम सुरु गरेपछि समस्या आएको बुझियो,” बटालाले भन्नुभयो, “मैलै समस्या समाधानका लागि बारम्बार म्यानपावरसँग कुरा गरिरहेको छु ।”

तर, मलेसिया पुगेका कामदारहरुले भने आफन्तै पर्ने एजेन्ट मार्फत आएको तर अहिले वेवास्ता गरेको गुनासो गरेका छन् । एजेन्ट र म्यानपावर कम्पनी दुवैले आफूहरुको फोन, म्यासेजको वास्ता नगरेको उहाँहरुको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्