Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा समानुपातिक निर्वाचन तर्फ मत बदर धेरै

२०७९ मंसिर १९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा समानुपातिक निर्वाचन तर्फको मत बदर संख्या प्रत्यक्ष निर्वाचन तर्फको भन्दा बढी रहेको छ ।

मङसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अनुसार समानुपातिक निर्वाचन प्रणाली तर्फको मत बढि बदर भएको हो ।

जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार कुल एक लाख चार हजार २८० मतदाता मध्य ५८.३५ प्रतिशत अर्थात ६० हजार ८४६ मत खसेको थियो । खसेको मत मध्य समानुपातिक तर्फ ५७ हजार ३७६ मत सदर हुँदा ५.७० प्रतिशत अर्थात तीन हजार ४७० मत बदर भएको हो ।

त्यसैगरि प्रदेशसभा सदस्य निर्वाचनमा पनि समानुपातिक निर्वाचन प्रणाली तर्फको बदर मत धेरै रहेको छ । खसेको मतको ५.५५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मल्लले जानकारी दिनुभयो । प्रदेशसभा तर्फ जिल्लामा ५९ हजार ९७७ (५७.५२ प्रतिशत) मत खसेको थियो जसमा ५६ हजार ६४८ मत सदर हुदा तीन ३२९ मत बदर भएको छ ।

निर्वाचन कार्यालयका अनुसार प्रत्यक्षतर्फको निर्वाचनमा समेत धेरै मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यमा खसेको मतको ४.६८ प्रतिशत मत बदर भएको हो । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ५७.६४ प्रतिशत अर्थात ६० हजार १११ मत खसेकोमा ५७ हजार २९५ मत सदर भएको हो । जसमध्य २ हजार ८१६ मत बदर भएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) तर्फ ४.५१ प्रतिशत र २ (ख) तर्फ ३.५६ प्रतिशत मत बदर भएको हो । निर्वाचन क्षेत्र नं. १ मा जम्मा २९ हजार ४५३ (५६.६३ प्रतिशत) मत खसेको थियो । जसमा २८ हजार १२५ मत सदर हुँदा १ हजार ३२८ मत बदर भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा खसेको ३० हजार ४२९ (५८.२१ प्रतिशत) मत मध्य २९ हजार ३४५ मत सदर भएको थियो भने १ हजार ८४ मत बदर भएको हो । दुई स्थानमा रहेको अस्थायी मतदान केन्द्रमा भने बदर मत शुन्य रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

कारागार कार्यालय र मुसिकोट नगरपालिका १ बराहाटाकुरामा गरेर दुई अस्थायी मतदान केन्द्र रहेका थिए भने जिल्लाभर ७६ मतदानस्थल र १३९ मतदान केन्द्र रहेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्