सोसल मिडिया
रुकुम पश्चिम / समानुपातिक सांसदतर्फ रुकुम पश्चिमका पाँच जना सिफारिस हुुनुभएको छ । शनिबार दलहरुले गरेको निर्णय अनुसार जिल्लाबाट पाँच जनाको नाम प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको लागि निर्वाचन आयोगमा सिफारिस गरिएको हो ।
प्रतिनिधिसभा सदस्यमा दुई जना र प्रदेश सभा सदस्यमा तीन जनाको नाम सिफारिस भएको हो । प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) की कल्पना मियाँलाई मुश्लिम महिला कोटाबाट सिफारिस गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ दुलि घर भएकी ३३ वर्षिया मियाँ माओवादी केन्द्रको प्रदेश समन्वय कमिटी सदस्य र अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
त्यसैगरी नेकपा एमालेले चौरजहारी नगरपालिका –३ स्यालखोलाका ५१ वर्षिय चन्द्रबहादुर विश्वकर्मालाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको छ । एमालेको केन्द्रीय कमिटी सदस्य र रुकुम पश्चिमका सह–ईन्चार्ज समेत रहनुभएका विश्वकर्मा दलित कोटाबाट सांसदमा सिफारिस हुनुभएको हो ।
रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभा सदस्यमा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) का एक/एक जना सिफारिस हुनुभएको छ । माओवादी केन्द्रले मुसीकोट नगरपालिका –१३ की मीलन खड्कालाई सिफारिस गरेको छ । ४६ वर्षिया खड्का माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
त्यसैगरी नेकपा एमालेले बाँफिकोट गाउँपालिका –३ निवासी तुलसा मल्ललाई प्रदेश सभा सदस्यको लागि निर्णय गरेको छ । ३३ वर्षिया मल्ल एमाले निकट अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष हुनुहुन्छ ।
नेकपा (एकीकृत समाजवादी) ले पनि जिल्लाको चौरजहारी नगरपालिका –९ निवासी कल्याणी खड्कालाई प्रदेश सभा सदस्यमा सिफारिस गरेको छ । ४४ वर्षिया खड्का समाजवादीको कर्णाली प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष समेत हुनुहुन्छ ।