Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बारीमा लटरम्म सुन्तला, किसानलाई बजारको चिन्ता (फोटो फिचर)

'उत्पादनलाई प्राथमिकता दियौं, अब बजारीकरणमा सहयोग गर्छौ' : वडा अध्यक्ष खड्का
२०७९ मंसिर २७
tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिका वडा नम्वर -१० का ७० वर्षिया झुपलाल खड्काको बारीमा लटरम्म सुन्तला फलेका छन् । गाउँका अगुवा कृषकको रुपमा परिचित खड्काको झ्याङ्गस्थित सुन्तलाबारीका करिब पाँच क्विन्टल सुन्तला बिक्रि योग्य छन् । तर, सुन्तलाको बजारको भने उहाँलाई चिन्ता छ ।

६ वर्ष पहिले रोपेका सुन्तलाका बोटले गत वर्षदेखि दाना दिन थालेपनि यस वर्ष सोचे भन्दा बढी फलेको खड्काको भनाई छ । “यो वर्ष त साह्रै राम्रो फल्यो,” खड्काले भन्नुभयो, “बेच्न पाए हुने थियो, बरु सस्तो मूल्यमै दिने थिए ।”

गाउँमा व्यवसायीक रुपमा बाख्रापालन गर्ने, अदुवा खेती गर्ने अगुवा किसान हुनुहुन्छ उहाँ । सुन्तलाबारीसँगै उहाँले कागती र अलैचीको खेती गरिरहनुभएको छ । व्यवसायीक रुपमा गरिरहेको सुन्तला, कागती र अलैची खेतीको बारबन्देजको समस्या झेलिरहेको उहाँले सुनाउनुभयो । कहिकतैबाट सहयोग भैदिए तारबार गर्ने सोच बनाएको उहाँले उल्लेख गर्नुभयो ।

सोहि गाउँको जोगीखोर्या टोलका एक्कबहादुर खड्का पनि सुन्तलाको बजारीकरण बारेमा अन्यौल हुनुहुन्छ । बारीमा फलेका करिब १५० बोटका सुन्तला बिक्रियोग्य हुँदा पनि बजार पाउँन नसकेको उहाँको भनाई छ ।

झुपलाल र एक्कबहादुरको जस्तै माछापोखरी टोलका केशव रोकायाको बारीका करिब २५० बोटमा सुन्तला फलेका छन् । बारीका लटरम्म सुन्तला फाट्टफुट्ट गाउँमा बिक्रि भएतापनि एकमुष्ट बिक्रि हुन नसकेको उहाँको भनाई छ । उहाँले सुन्तलाबारीसँगै अलैची खेती समेत गरिरहनुभएको छ । स्थानीय सरकार वा अन्य निकायले बजारीकरणको लागि सहजिकरण गरिदिने अपेक्षा राखेको उहाँले बताउनुभयो ।

उत्पादनलाई प्राथमिकता दियौं, अब बजारीकरणमा सहयोग गर्छौ : वडा अध्यक्ष खड्का

यता वडा सरकारले भने किसानको उत्पादनलाई बजारीकरणका लागि सक्दो सहयोग गर्ने जनाएको छ । गाउँका किसानहरुलाई उत्पादनको काममा लाग्न वडा सरकारले नै पहल गरेर साथ दिएकोले उत्पादित कृषि उपजको बजारको लागि पनि समन्वय गर्ने वडा अध्यक्ष धनबहादुर खड्काले बताउनुभयो ।

वडामा करिब १५ क्विन्टल सुन्तला बिक्रियोग्य भैसकेकोले सोहि अनुसार सुन्तला व्यापारीसँग कुरा गरिने उहाँले जनाउनुभयो । किसानहरुले खेतमा गरेको पसिनाले मुल्य पाउने बेला आएकोले स्थानीय सरकार बजारीकरणको लागि समन्वय गर्न तत्तर रहेको वडा अध्यक्ष खड्काको भनाई रहेको छ । गाउँमा सडक सुविधा पुगिसकेकोले बजारमा समस्या नहुँने उहाँले उल्लेख गर्नुभयो ।

वडा कार्यालयले फलफूल खेती र पशुपालन मार्फत वडावासीको आर्थिकस्तर उकास्न विभिन्न कृषिजन्य गतिविधिहरुमा काम गरिरहेको छ । विरुवा वितरण, औषधि तथा कृषि सामाग्री वितरण, प्राविधिक सहयोग लगायतका काममा वडा कार्यालयले योजना बनाएर सहयोग गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्