Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा छड्के अनुगमन तिव्र, विद्यालयको तथ्यांक र विद्यार्थी संख्यामा फरक

२०७९ मंसिर २७
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले विद्यालयहरुको छड्के अनुगमनलाई तिव्रता दिएको छ ।

साविक अर्मा गाविसका घण्ठाना, अर्माडाँडा, टिमुरबोट, बाघखोर मा रहेका ५ विद्यालयमा आइतवार छड्के अनुगमन गरेको गाउँपालिकाले मंगलबार साविक सिम्ली गाविसका सरस्वती आवि तल्लो आमडाँडा, कालिका आवि फुक्रु, बालकल्याण आवि पाखेरोल, जनज्योति आवि फुक्रुज्युला र जनप्रिय मावि हाँसिबाङमा अनुगमन गरेको छ ।

विद्यालयको नियमित पठन पाठनको अवस्था, बालबिकास देखि कक्षा ६ सम्मका विद्यार्थीहरुको दिवा खाजाको गुणस्तर, भौतिक पुर्वाधारको अवस्था र सरसफाइयुक्त वातावरण लगाएत समग्र बिद्यालयका अवस्थाका सूचकहरुमा छड्के अनुगमन गरिएको गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिं विष्टले बताउनुभयो ।

अनुगमनका क्रममा नियमित पठनपाठन भएतापनि विद्यालयहरुको तथ्यांक र विद्यार्थी संख्यामा फरक भेटिएको छ । सबै विद्यालयमा विद्यार्थीहरुको राम्रै उपस्थिति रहेको शिक्षा शाखा प्राविधिक सहायक प्रेमबहादुर विष्टले जानकारी दिनुभयो । विद्यालयहरुका भौतिक अवस्था शैक्षिक वातावरणसँगै विद्यार्थीहरुको शैक्षिक उपलब्धि बढाउनु पर्नेमा सुझाव दिईएको छ ।

दिन प्रतिदिन विद्यार्थीहरुको पढाइ प्रतिको सोच नकारात्मक भएको भन्दै रोजगारीको लागि विदेशीनुले शैक्षिक गुणस्तर कम भएको अभिभावकहरुको भनाई रहेको छ । अभिभावकहरुले निरन्तर अनुगमनको माग गरेका छन् ।

विद्यालयमा भए गरेको अनियमितताको अन्त्य गर्न, दिवा खाजा सञ्चालन र ब्यवस्थापनलाई प्रभावकारी बनाउन र समग्र शैक्षिक वातावरण सुधार गर्न छड्के अनुगमन गर्न थालिएको गाउँपालिकाले बताएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भुपालसिं विष्ट, शाखाकै प्राविधिक सहायक प्रेमबहादुर विष्ट लगायतले अनुगमन गर्नुभएको हो । विद्यालयमा अभिभावक, विद्यालय व्यवस्थापन समति, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुले बेला बेलामा शैक्षिक परामर्श गर्न जरुरी रहेको शिक्षा शाखा प्राविधिक सहायक प्रेमबहादुर विष्टले बताउनु भयो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्