दुर्गममा स्वास्थ्य सेवा

दाउराको उज्यालोमा सुत्केरी : आमाको ख्याल गर्दा बच्चा गुम्ने डर, बच्चाको स्याहार गर्दा आमाको डर !

  • राधिका के.सी.

सिस्ने स्वास्थ्य चौकीमा म आएको करिब ३० महिना भयो । म आउनुअघि यहाँ बर्थिङ सेन्टर थिएन । म आएपछि सुत्केरी सेवा सुरु भयो । यस अवधिमा १५० बढी सुत्केरी आमा र नवजात शिशुको स्याहार गरिसकेकी छु ।

पहिला घरमै सुत्केरी हुँदा आमा र नवजात शिशुको मृत्यु धेरै जनाको भएको रहेछ । अहिले बर्थिङ सेन्टर सेवा सुचारु भएदेखि आमा र नवजात शिशुको मृत्यु हुने संख्या छैन । यहाँ सेवा दिदा खुशि छु । तर, कसरी र कुन हालतमा स्वास्थ्यकर्मीले सेवा दिनुपरेको छ भन्ने यथार्थता बाँड्न चाहन्छु ।

यहाँ काम गर्न एकदम कठिन अवस्था छ । न भौतिक पूर्वाधार, न जनशक्ति न त पर्याप्त स्वास्थ्य सामाग्री । अत्यन्त जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता रहेको छ । अन्य स्वास्थ्य संस्थामा ३/४ जना अनमी हुनुहुन्छ । यहाँ म मात्र छु । यहाँहरुलाई जानकारी गराईहालु, यो बर्थिङ सेन्टर जिल्लाको सबैभन्दा बढी सुत्केरी सेवा दिने तथ्यांक रहेको सेन्टर हो । तर यहाँ, बिरामी जाँच तथा गर्भवती जाँच र सुत्केरी सेवा समेत दाउरा बालेको उज्यालोको भरमा दिनुपर्ने अवस्था रहेको छ ।

दिनरात स्वास्थ्य चौकीको अन्य सेवा र सुत्केरी सेवा दिनैपर्ने बाध्यतामा रहेकी छु । परिवार नियोजन सेवा, खोप क्लिनिक, गाँउघर क्लिनिक, जेष्ठ नागरिक सेवा, पोषण सेवा, गर्भवती चेकजाँच, सुत्केरी पछि गरिने स्याहार मैले नै गरेकी छु । कार्यालयको सेवा, फिल्डको काम मात्र हैन मासिक प्रतिवेदन तयारी समेत म एक्लैले गरिरहेकी छु ।

थप जनशक्तिको एकदमै जरुरी छ । कर्मचारी माग हुन्छ, पठाउनु हुन्छ । यहाँ आएर सेवा दिन र कर्मचारी टिक्न गाह्रो छ । भौगोलिक विकटताको चरम मार छ । दुर्गममा बत्ति छैन । बाटो राम्रो छैन । भिरपाखा, खोलानाला तर्दै खोप क्लिनिक र गाउँघर क्लिनिक संचालन गर्न जाँदा ४–५ घण्टा लगाएर हिड्नुपर्छ । भनेजस्तो खानेकुरा पाउन मुश्किल छ । भएको खानेकुराहरु महंगो हुने र आफ्नो परिश्रमले खान बस्न नपुग्ने भएकोले यस क्षेत्रमा आएर सेवा दिन जो कसैले मन गर्दैनन् । दुर्गममा बसेर सेवा गर्ने कुरा मात्र हैन, हिम्मत र आँट पनि चाहिन्छ ।

महिनामा कहिलेकाँही १५/१६ जना सुत्केरी केश हुन्छ । १ जना मात्र अनमी ।

चाडवाड आउँदा घर जान मन लाग्छ । छोराछोरी, परिवार र बाआमालाई भेटेर न्यास्रो मेटाउन मन लाग्छ । तर, छुट्टी पाउँदिन । किनकी, यता म ड्यटिमा नहुँदा कुनै सुत्केरी आमा र नवजात शिशुले अकालमा ज्यान जान्छ कि भन्ने पीर लाग्छ ।

म बर्थिङ सेन्टरमा हुँदा चारपाँच घण्टा लगाएर भएपनि स्टेचरमा बोकेर बिरामी ल्याईपु¥याउछन् । म नभए उनीहरुको हाल के होला भनेर मनमा बेचैनी हुन्छ, र आफ्नो परिवार र बालबच्चाको माया मुटुमा गाँठो पारेर राख्न बाध्य हुन्छु ।

दुर्गमका सर्वसाधारण पनि यहि देशका हुन्, उनीहरुलाई पनि सरकारी सेवा सहजै पाउँने अधिकार छ भन्ने कुराको हेक्का राज्य सञ्चालकहरुले राखिदिए हुनेथियो लाग्छ । अकालमा ज्यान गुमाउनेहरुको पीडा किन व्यवस्थापकहरुले बुझ्दैनन् होला ? बाआमा, छोराछोरीको माया, सामीप्यता अनुभव गरेकाहरुले सर्वसाधारण तथा यी कर्मचारीका पनि बाआमा छन्, सन्तान छन्, दाजुभाई छन् भन्ने किन बुझ्दैनन् होला ?

सामान्य सुत्केरी गराउँदा पनि आमा र नवजात शिशुको बारे सबै जानकारी दिनुपर्छ । केही भएमा हजुरहरु थप सेवा लिन अन्य ठाउँमा जानुपर्छ भन्नुहुन्छ । तर, सिस्नेका मान्छेले त्यसरी जाने ठाउँ कहाँ छर ? सवै धनी छैनन्, पढेलेखेका छैनन् । शहरको जस्तो बोली चल्दैन । सम्झाउँन, बुझाउँन अनेक कोशिस गर्नुपर्छ ।

यहाँबाट सदरमुकाम प्रेषण गर्दा पनि एक दिन भन्दा बढी लाग्छ । त्यहाँ गएर सेवा नपाउँदै बिरामीले प्राण त्याग्नुपर्ने सम्भावना हुन्छ । गाडि चल्दैन, भिर र खोलाको कारण बाटो जोखिमपुर्ण छ । तल सानीभेरी नदी, माथी पहिरो र अनकन्टार भिर । त्यहि बाटोमाथी हिड्नु, बिरामी बोक्नु, खानेकुराको जोहो गर्नु यहाँको जनताको बाध्यता हो ।

मैले स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा धेरै जोखिम मोलेकी छु, दुःख भोगेकी छु । बच्चाको केयर गर्दा आमाको मृत्यु हुन्छ कि ? आमाको केयर गर्दा बच्चाको मृत्यु हुन्छ कि ? भन्ने कुराले मनमा त्रास भईरहन्छ । एक्लैले यताउता गर्नुपर्छ ।

दक्ष प्रसुतिकर्मी (SMB) र मातृ तथा नवजात शिशु स्याहार (MNH) को तालिममा सहभागी हुदाँ मेरो लक्ष्य आमा र बच्चालाई बचाउने हो भन्ने सिकेकी हुँ । त्यही लक्ष्यमा अडिक छु ।

त्यहि आफ्नो लक्ष्य, उद्देश्य तथा जिम्मेवारीको कारण निन्द्रा र भोकको अनुभव हुदैन । म जहिले नि काम गर्दा आफुलाई तुलना गरेर गर्छु । म एउटा छोरीको आमा हुँ । मलाई मेरो बच्चाको माया जति छ, मेरो जस्तै माया उहाँहरुको बच्चालाई पनि होला भन्ने कुरा बुझ्छु ।

निरन्तर हिउँ पर्ने ठाउँमा रहेको अध्यारो बर्थिङ सेन्टर, टिनको छाना, धुलाम्य सुत्केरी कक्ष । यस्तो अवस्था र समयमा दाउराको उज्यालेले सुत्केरी गराउने र आमा बच्चालाई न्यानो गराउने मेरा निरन्तरको ड्युटि रहेको छ । यो अनुभव दुर्गममा बसेर काम गर्ने अरुलाई पनि होला ।

मेरा बच्चा र घर परिवारको केयर अहिले सम्म अनुभव गरेको छैन । स्वास्थ्य सस्थाबाट दिने सबै सेवा, बर्थिङ सेन्टरको सेवा, फिल्डको काम, दैनिक टिपोट, मासिक रिपोर्टले म गलेकी हुन्छु, थाकेकी हुन्छु । रातीमा बिरामी आउँदा सुत्छु भन्न पाँउदिन, मिल्दैन पनि ।

यसरी काम गर्ने मैलै विदा माग्दा पाइदैन । करार कर्मचारीको बिदा हुँदैन, स्थायीको जस्तो तलब हुँदैन, पोषाक भत्ता आउँदैन लगायतका अव्यवहारिक व्यवस्था र वचनले मन नराम्रोसँग निमोठ्छ । मैले यसरी दुर्गममा बसेर दिनरात सेवा गरिरहेकी छु । यसरी काम गरेको मैले पैसाको लागी हैन, आमा र बच्चा बचाउनको लागि हो ।

मलाई काम गर्नको लागी साथदिने दिदिबहिनीहरु हुनुहुन्छ । रुकुम पूर्व अस्पतालमा कार्यरत डिला भुसाल, स्वास्थ्य कार्यालयका दिपा खड्का, सिस्ने गाउँपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक पुष्पा ओली, तालिमहरु दिएर अझै सहज गराउने सिस्ने गाउँपालिका, स्वास्थ्य कार्यालय, ग्रामीण स्वास्थ्य सुधार परियोजनाले मेरा सेवाभाव उचो बनाईदिने गरेको छ ।

(तुलसीपुर उपमहानगरपालिका –४ दांग निवासी राधिका के.सी. हाल सिस्ने गाउँपालिका –१ मा रहेको सिस्ने स्वास्थ्य चौकी, रुकुम पूर्वमा अनमी पदमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्