मुसिकोट १० मा फस्टाउँदै कागती खेती

उत्पादन बढाउने, कोल्ड स्टोर बनाउने र प्रशोधन उद्योग खोल्ने वडा सरकारको योजना

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० चुन गाउँका अधिकांश किसानले कागती खेती गरेका छन् । किसानले तीन वर्ष पहिला बारीमा रोपेका कागतीका बोटहरु फस्टाउदै गईरहेका छन् ।

स्थानीय बिरध्वज खड्काले बारीमा लगाएका कागतीका बोटहरु दाना दिने अवस्थामा पुगेको बताउनुभयो । तत्कालिन वडा सरकारले उहाँलाई पाँच सय कागतीका बिरुवा दिएको थियो । ती बिरुवा मध्य अहिले २५० कागतीका बोट फस्टाएको र दाना लाग्ने अवस्थामा पुगेको खड्काले बताउनुभयो ।

सोहि गाउँका महादेव खड्काले आफ्नो बारीमा रहेका कागतीका बोटहरुले देखेर व्यवसायीक कागती खेती गर्न हौस्याएको बताउनुभयो । लगाएका धेरैजसो कागतीका बोटहरु फस्टाउदै गएकोले कागती खेतीतर्फ आकर्षित भएको उहाँको भनाई छ । फलेका दानाहरुको बजारीकरणका लागि स्थानीय सरकारको साथ आवश्यक रहेको उहाँले जनाउनुभयो ।

तीन वर्ष पहिला वडा कार्यालयले यहाँका अधिकांश किसानहरुलाई निशुल्क कागतीका बिरुवा उपलब्ध गराएको थियो । गलम्पाटी, झाँडारी, खड्का टोल, खर्सुपानी, चौर लगायतका टोलका किसानहरु सबैजसोले बारीमा कागती रोपेका छन् । ३५८ घरधुरी रहेको यस वडामा धेरैजसोको बारीमा कागती रोपिएका छन् ।

ती बिरुवाहरु अहिले फस्टाउँदै गएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । वडामा १० हजार सुनकागती जातका बिरुवा बाँडिएको र ती बिरुवामध्य करिब ६० प्रतिशत बिरुवा अब दाना लाग्ने अवस्थामा पुगेको वडा अध्यक्ष खड्काले उल्लेख गर्नुभयो ।

मुसिकोट नगरपालिकाको वडा नम्वर १० फलफुल तथा पशुपालनका लागि उपर्युक्त रहेकोले यहाँका किसानको माग अनुसार कृषि कार्यका लागि वडाले सहयोग गरिरहेको वडा कार्यालयले जनाएको छ । कागतीको उत्पादन राम्रो हुने देखिएपछि वडा सरकारले अब त्यसको बजारीकरण गरेर किसानलाई आर्थिक रुपले सम्पन्न गराउनतर्फ लागि परेको छ ।

वडा अध्यक्ष खड्काले तीनवटा मुख्य योजना बनाएर कृषिको बजारीकरणतर्फ अगाडि बढेको जनाउनुभयो । उहाँका अनुसार किसानहरुको उत्पादनको परिणाम बढाएर ठुलो बजार क्षेत्रमा निर्यात गर्ने, कोल्ड स्टोर बनाएर उत्पादन भएको कागती सुरक्षित गर्ने र गाउँमै प्रशोधन उद्योग बनाएर कागतीको सदुपयोग गर्ने योजना वडा कार्यालयले बनाइएको छ । त्यसको लागि वडाले नगरपालिका, प्रदेश र संघीय सरकार समक्ष सहयोगका लागि योजना बनाएर पेश गर्ने सोच बनाएको छ ।

यस वडामा कागती, अलैची, सुन्तला, टिमुर, लशुन, बाख्रापालन लगायतका कृषि उत्पादनका काममा तिब्र रुपमा भएको छ । वडाले किसानहरुलाई व्यवसायिक बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्