भुक्तानी नपाएपछि रुकुमगाडको काम ठप्प

तीन निर्माण व्यवसायीलाई १ करोड ४५ लाख ६६ हजार तिर्न बाँकि
२०७९ पुस ५

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिका -४ धौलापैरामा निर्माणधिन पाँच मेघावाट विद्युत उत्पादन क्षमता रहेको रुकुमगाड जलविद्युत आयोजनाको काम रोकिएको छ । निर्माण व्यवसायीहरुले काम गरेको रकमको भुक्तानी नपाएको भन्दै आयोजनाको काम ठप्प पारेका हुन् ।

रुकुमगाड जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी श्री ए.टि.सि./कबिन्द्र जे.भी.सँग कामको सम्झौता गरेका तीन निर्माण व्यवसायीहरुले काम रोकेका हुन् । उनीहरुले एक करोड ४५ लाख ६६ हजार रुपियाँ भुक्तानी नपाएको भन्दै आयोजना निर्माणका काम रोकेका हुन् । 

हरिशिद्धि कन्ट्रक्सन एण्ड सप्लायर्स, जक्सन निर्माण सेवा एण्ड सप्लायर्स र रुकुमपूर्व सिस्ने गाउँपालिका ५ का ईन्दराम घर्तिले जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई भुक्तानीको माग गर्दै निवेदन दिएर काम रोकेका हुन् ।

जक्सन निर्माण सेवा एण्ड सप्लायर्सका संचालक परशुराम खड्काले आफूले ६६ लाख ८० हजार रकम पाउँन बाँकि रहेको बताउनुभयो । त्यसैगरी हरिशिद्धि कन्ट्रक्सन एण्ड सप्लायर्सले ६७ लाख ९१ हजार र इन्दमान घर्तीले १० लाख ९५ हजार पाउँन बाँकि रहेको बताईएको छ । जक्शन र हरिशिद्धि कन्ट्रक्सनले एक्साभेटर सप्लायर्स र इन्दरामले कामदार सप्लायर्सको कामको जिम्मा लिएर सम्पन्न गरेको बताईएको छ ।

सम्झौता अनुसार ईन्टेक बनाउने देखि पावर हाउस निर्माण, भवन फाउण्डेशन, पाईप लाईन बिस्तार, बिचको बाटो निर्माण लगायतको काम समयमै सम्पन्न गरेतापनि भुक्तानीको काममा आलटाल गरेको निर्माण व्यवसायीको आरोप छ । गत भदौ १५ गतेभित्र सम्पूर्ण भुक्तानी गरिसक्ने सम्झौता भएको तर आफुहरुले भुक्तानी पाउन नसकेको निर्माण व्यवसायी खड्काले जानकारी दिनुभयो ।

आफुहरुले काम गरेको रकम पटक–पटक माग गर्दा पनि वेवास्ता गरेका कारण आयोजना निर्माणको काम रोक्नु परेको निर्माण व्यवसायीको भनाई छ । उक्त रकम नपाएसम्म निर्माण सम्बन्धि कुनै पनि काम गर्न नदिने निर्माण व्यवसायीको अडान रहेको छ ।

यस विषयमा राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका आयोजना व्यवस्थापक रामचन्द्र त्रिपाठीले गत पुस १ गतेदेखि आयोजनाको काम अवरुद्ध भएको बताउनुभयो । उहाँले आयोजना निर्माणको मुख्य ठेक्का पाएका चार कम्पनी मध्य श्री ए.टि.सि./कबिन्द्र जे.भी.सँग कामको सम्झौता गरेका पेटि ठेकेदारहरुले काम रोकेको बताउनुभयो । व्यवस्थापक त्रिपाठीले ९५ प्रतिशत काम भैसकेको र आगामी चैत भित्र बिद्युत बालिसक्ने योजना रहेको बेला काममा अवरोध गरिएको बताउनुभयो ।

गत भदौ महिनामा पनि भुक्तानीको बिषयमा उहाँहरु बीचमा असमझदारी आएर काम रोकिएको बेला सहजिकरण गरेर काम सुरु गरेको जानकारी दिनुहुदै त्रिपाठीले भन्नुभयो, “बाँकि रकम भुक्तानी नभए कानूनी प्रक्रियामा जाने तर काम अवरुद्ध नगर्ने सहमति भएको हो, अहिले काम रोकिएको छ ।” आयोजना स्थलको पावर हाउस जाने मुख्य बाटोमा होम पाईप र स्काभेटर राखेर तेर्साएर काम बन्द गरिएको उहाँले जनाउनुभयो ।

मुख्य ठेकेदार केहि दिनमा आयोजनास्थलमा आउने र उहाँहरु बीचमा भुक्तानीको काममा आफूहरुले सहजिकरणको काम गर्ने त्रिपाठीले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्