सोसल मिडिया
रुकुम पश्चिम / प्रेस काउन्सिल नेपालले रुकुम पश्चिमको मुसिकोटमा आयोजना गरेको पत्रकार आचारसंहिता, पत्रपत्रिका वर्गिकरण र मिडिया विकास कोषको सुविधा विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पत्रकारहरु मर्यादित र इमानदार हुनुपर्ने बताएका छन् । पत्रकारिता अरुभन्दा पृथक क्षेत्र रहेकोले पत्रकारहरु स्वयम् उदाहरणीय हुनुपर्ने जाेड दिएका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले पत्रकारहरुले आफ्नो कामको स्वमूल्यांकन गर्नुपर्ने र अरु भन्दा थप इमानदार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न सरकारी तथा गैरसरकारी निकायमा जागिर गर्नेहरुले पनि पत्रकारको परिचयपत्र बोकेर हिड्ने गर्दा आचारसंहिताको उल्लंघन हुन पुगेको बताउनुभयो । श्रीमानले लेख लेखेर श्रीमतीको नाममा छाप्ने जस्ता कार्य हुनेगरेको यथार्थता दर्शाउनु हुँदै प्रजिअ घिमिरेले विकृति सच्चाउन काउन्सिलले थप प्रभावकारीता देखाउनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल नेत्र ज्योती संघ रुकुमपश्चिमका अध्यक्ष शिवराम खत्रीले राजनीतिक दलको सक्रिय कार्यकर्ता समेत पत्रकार बन्दा निश्पक्ष पत्रकारितामा शंका उब्जने गरेको उल्लेख गर्नुभयो । खत्रीले निर्वाचनको बेला पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरु चुनावपछि पत्रकारितामा पुनः फर्कने गरेको देख्दा श्रमजीवि पत्रकारहरु समेत ओझेलमा पर्नुपरेको जनाउनुभयो ।
अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेल्वासेले पत्रकार आचारसंहिता र वर्तमान अवस्था बारेमा प्रस्तुति राख्नुभएको थियो । उहाँले मिडियाको अनुगमन, संचारमाध्याम तथा संचारकर्मीहरुको क्षमता विकास लगायतका काममा काउन्सिलले विभिन्न गतिविधिहरु संचालन गरिरहेको बताउनुभयो । युटुब र दर्ता नभएका केहि अनलाईनहरुको कारण समग्र पत्रकारिता क्षेत्रको नियमनमा कठिनाई हुने गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा काउन्सिलका सदस्य शरद अधिकारीले पत्रपत्रिका मूल्याङकन र वर्गिकरणको प्रक्रिया, अवस्थाका बारेमा जानकारी दिनुभयो । त्यसैगरी काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले मिडिया विकास कोषले प्रदान गर्ने सुविधाका बारेमा जानकारी दिनुहुँदै संचारकर्मी र संचारमाध्यामको शसक्तिकरण राज्यको दायीत्व भएको बताउनुभयो । उहाँले मिडिया विकास कोषले प्रदान गर्ने अनुदानका बारेमा पत्रकारहरुमा स्पष्ट पार्न विभिन्न जिल्लाहरुका अन्तरक्रिया कार्यक्रम संचालन गर्ने गरेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ रुकुमशाखाको संयोजनमा उक्त कार्यक्रम भएको थियो ।
महासंघका रुकुम शाखा अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हिरा परियारले गर्नुभएको थियो । कार्यक्रममा शाखाका सहसचिव नारायण वलीले स्वागत मन्तव्यसँगै रुकुम पश्चिमको पत्रकारिताको अवस्था बारेमा जानकारी गराउनुभएको थियो ।