नेभिगेशन
अर्थ/वाणिज्य

रुकुम पूर्वमा पहिलो पटक बेमौसमी मकैको उत्पादन र बजार राम्रो

रुकुम पूर्व / सिस्ने गाउँपालिका –६ ढकालबारामा पहिलोपटक गरिएको बेमौसमी हिउँदे मकै खेती सफल भएको छ । जिल्लामै पहिलोपटक गरिएको हिउँदे मकै खेतीले राम्रो उत्पादन दिनुका साथै बजार समेत पाएको छ ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुमपूर्वले जिल्लामा पहिलोपटक स्थानीय पहेँलो जातको मकै परिक्षण गरेको थियो । कार्यालय प्रमुख पिताम्बर बस्नेतले स्थानीय निशा शाही हमालको कृषि फर्ममा उक्त खेती गरिएको बताउनुभयो । “परिक्षणका लागि हामीले हिउँदे मकैको लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियौ,” बस्नेतले भन्नुभयो, “ट्रायल सफल भएको छ, अब यसलाई प्रवद्र्धनका लागि अन्य किसानलाई पनि सहयोग गर्छौ ।” मकैका हिउँदे, वर्षे र वसन्ते तीन सिजनमध्य बमौसमी हिउँदे मकै जिल्लामा पहिलोपटक लगाईएको हो ।

नगदे बालीलाई मात्र आम्दानीको श्रोत मान्ने गरिएकोमा अब खाद्यन्न बाली पनि आम्दानीको श्रोत बन्न सक्छ भन्ने गतिलो उदाहरण हमालको कृषि फर्म रहेको बस्नेतले बताउनुभयो ।

अहिले हमालको मकै बारीमा पुगेर हरियो मकै किन्नेहरुको संख्यामा बृद्धि भएको छ । उक्त मकै स्थानीय बजारमा प्रतिगोटा २० रुपियाँको दरले बिक्रि भएको कृषक हमालले बताउनुभयो । उहाँका अनुसार ३५० वर्गमिटर जग्गामा गरिएको खेतीमा करिब दुई हजार पाँच सय बोट मकै लगाईएको थियो । हमालले करिब दुई हजार मकैका बोट बिक्रि हुने आशा राखेको बताउनुभयो ।

पोलेको मकै खानलाई साउन, भदौ महिना नै कुर्नपर्ने अवस्था नरहेको स्थानीय व्यवसायी कबिन्द्र गौतमले जनाउनुभयो । हरियो, पोसिलो र रसिलो मकै स्थानीय स्तरमै पोलेर खाना पाईएको उहाँले उल्लेख गर्नुभयो ।

हमालले मकै बारीमा बाँदर र स्यालको क्षति गर्न थालेपछि चाँडै नै स्थानीय बजारमा बेच्न थालेको बताउनुभयो । खेतीयोग्य जमिनक्षेत्रमा तारबारको आवश्यक रहेको समेत उहाँले उल्लेख गर्नुभयो । पहिलो पटक लगाएको बेमौसमी मकैले यसरी बजार पाउँला भन्ने आफूले नसोचेको समेत उहाँले जनाउनुभयो ।

बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुबाट अनुदान प्राप्त गरी विगत चार वर्ष देखि कृषि कर्ममा जुटेकी हमालले अहिले तरकारी खेतीबाट नै आफ्नो परिवार पाल्दै आउनुभएको छ । उहाँले १० रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य