Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घरदैलौमै स्थानीय सरकारको सेवा, गाउँमै योजना सम्झौता

५७ योजना सम्झौता, १९ अपांगता परिचयपत्र वितरण
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले घरदैलोमै पुगेर विभिन्न सेवाहरु प्रदान गरेको छ । घर आँगनमै सेवा दिने उद्धेश्यले सञ्चालित “एकिकृत सेवा प्रवाह घुम्ती शिविर” कार्यक्रम मार्फत नगरपालिकाले विभिन्न योजनाको सम्झौताहरु समेत गाउँमै गरेको जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहका अनुसार विभिन्न ५७ वडा योजनाहरु गाउँमै पुगेर सम्झौता गरिएको छ । यी सम्झौताहरु सात वटा वडाका मात्र हुन् । वडागत योजनाहरु, मुख्यमन्त्री तथा प्रधानमन्त्री रोजगार कार्यक्रम, नगरस्तरिय योजनाहरु सम्झौता गाउँमै गरिएको हो । नगरपालिकाको केन्द्रको नजिक रहेकाहरुलाई भने सम्झौताका लागि कार्यालयमै बोलाईने गरिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले वडा नम्बर १, २, ४, ५, ६, १३ र १४ वडामा पुगेर विभिन्न योजनाहरुको सम्झौता गरिएको बताउनुभयो । गत मङसिर ११ गतेबाट सुरु गरिएको एकिकृत घुम्ती शिविर करिब एक महिनासम्म सबै वडामा संचालन भएको हो । शिविरमा सिफारिस, विभिन्न कामहरुको सहजिकरण, सम्झौता, अपाङ्गगता परिचयपत्र वितरण लगायतका सेवाहरु रहेका थिए ।

नगरपालिकाका अनुसार घुम्ती शिविरमा वडा नम्बर १४ मा १० वटा, वडा नम्बर १३ मा सात वटा, वडा नम्बर ६ मा १० वटा, वडा नम्वर ५ मा तीन वटा, वडा नम्बर ४ मा तीन वटा, वडा नम्बर २ मा चार वटा, वडा नम्वर १ मा पाँच र अन्य वडामा १५ गरि जम्मा ५७ वटा विभिन्न योजना सम्झौता गरिएको छ ।

नगरपालिकाका योजना शाखा प्रमुख रत्नबहादुर परियारले घुम्ती शिविरबाटै १९ जनालाई अपाङ्गगता परिचयपत्र दिएको जनाउनुभयो । उहाँका अनुसार वडा नम्बर १४ मा ६ जना , वडा नम्बर १३ मा सात, वडा नम्बर २ मा एक जना र वडा नम्वर १ मा पाँच गरेर १९ जना अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको छ ।

आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले नगरपालिकाबाट प्रवाह गरिने सेवाहरुको विकेन्द्रीकरण गरेर सेवा प्रवाह गर्ने, सरल र सहज रुपमा सेवा उपलब्ध गराउने, सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्धेश्यका साथ नगरपालिकाले एकिकृत सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको बताउनुभयो ।

जनताको नजिकको सरकार मानिएको नगरपालिकाले जनताको आँगनमै सेवा पुगेर सेवा दिएपछि स्थानीयवासी खुशि भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्