सोसल मिडिया
रुकुम पश्चिम / मुसीकोट–३ स्थित माछिमीका ८३ वर्षीय घनु खत्रीका चार छोरा र एक छोरी छन्, सबै सरकारी जागिरे हुन् । जेठा छोरा रमेश अर्थ मन्त्रालयमा सहसचिव, माइला दिलीप राजस्व उपसचिव, साइँला कृष्णमान रुकुम अदालतका कम्प्युटर अपरेटर र कान्छा दीपक राजस्वमै शाखा अधिकृत छन् । छोरी सुशीला नापी विभागमा नायब सुब्बा छिन् ।
केही वर्ष भूमिसुधार कार्यालयमा सहयोगी काम गरेका स्थानीय नदीराम खत्रीले आफ्ना ४ छोरा र २ छोरीलाई जागिर गर्दै पढाए । उनका ६ सन्तान अहिले सबै जागिरे छन् । जेठा खिमबहादुर कोष तथा लेखा नियन्त्रक भएर गतवर्ष मात्रै सेवानिवृत्त भए, माइला नयन लेखापाल, साइँला देवबहादुर र कान्छा रामबहादुर लेखा अधिकृत पदमा कार्यरत छन् । जेठी छोरी शारदा शिक्षिका छिन् भने कान्छी छोरी सुवर्णा नायब सुब्बा छिन् ।
घनुका जेठा छोरा रमेश केसीले २०४६ मा लोकसेवामा लडेर नाम निकालेका थिए । जनस्वास्थ्य कार्यालय जाजरकोटमा मुखिया पदबाट जागिर सुरु गरेका खत्रीको मनमा त्यतिबेलै सबै छोराछोरीलाई आफूजस्तै सरकारी सेवामा प्रवेश गराउने सोच आएको थियो ।
‘त्यो बेला गाउँमा नपढेकाहरूले खेती–किसानी गर्थे, एसएलसीसम्म पास गरेकाहरूको रुचि भने निजामतीमै हुन्थ्यो,’ उनले भने, ‘सबैले लोकसेवा पढ्न थाले र धमाधम जागिर गर्न थाले ।’ उनका अनुसार अहिले छिमेकी गाउँहरू सन्चौर, रातामाटा लगायतमा पनि घरैपिच्छे सरकारी जागिरे छन् ।
आफ्ना सन्तान विभिन्न पदमा रहेर सरकारी सेवा गरिरहेकोमा नदीराम गर्व गर्छन् । ‘त्यो बेला अहिलेजस्तो सजिलो थिएन, दिनभरि घरबारीको काम गरेर रातभरि दियालोको झर्रोमा छोराछोरीले पढे,’ उनले भने, ‘मिहिनेत गरेर सरकारी जागिरमा नाम निकाले ।’ छोराछोरी कमाउने भएपछि आफूले कार्यालय सहयोगीबाट राजीनामा दिएको उनको भनाइ छ । तत्कालीन समयमा घरखर्च टार्न सानै भए पनि सरकारी जागिर गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण आफूहरू निजामती सेवामा लागेको कार्यालय सहयोगीबाट निवृत्त भएका स्थानीय रामबहादुर खड्काले बताए ।
अग्रजहरू सबैले पढेर सरकारी जागिर खानुपर्छ भन्ने भएपछि सरकारी सेवामा प्रवेश गरेको नापी विभागमा नायब सुब्बामा कार्यरत सुशीला केसी बताउँछिन् । ‘बुवाआमा खेतीपातीमै व्यस्त हुँदा घाँसदाउराका लागि उहाँहरूले गरेको जस्तो दुःख गर्न पनि नपर्ने र इज्जत पनि हुने भएर हामी सरकारी जागिरप्रति आकर्षित भयौं,’ उनले भनिन्, ‘सबैले सानो/ठूलो नभनेर सरकारी जागिर खानैपर्छ भनेपछि हामीमा स्वाभाविक दबाबका बढ्यो र गाउँभरि नै लोकसेवा तयारीको माहोल बन्यो ।’
बेलैमा जागिर खाएर देश–विदेश पुगेका कारण यहाँ शिक्षाको स्तर पनि अरु ठाउँको तुलनामा धेरै छ । यसकारण सबैका घर–आँगन सफा र चिटिक्क छन् । सरकारी सेवामा नलागेका र सेवा निवृत्त भएकाहरूलाई आँगनको फूलबारीदेखि खेतबारीको तरकारी र खाद्यान्न उत्पादनको कामले भ्याइनभ्याइ छ । सहसचिव केसीले सरकारी जागिर गरेर धनी हुने सपना देख्नेहरूले यस क्षेत्रमा हात नहाल्दा नै राम्रो हुने सुझाव दिए । ‘इज्जत र प्रतिष्ठाका साथ देश र जनताको सेवा गर्ने हो भने सरकारी जागिर नै एउटा महत्त्वपूर्ण ठाउँ हो,’ उनले भने, ‘जागिरका क्रममा सरकारले तोकेको जिम्मेवारी र खटाएको ठाउँमा गएर प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न महत्त्वपूर्ण पदमा बसेर सेवा गरियो, यो मेरा लागि ठूलो अवसर हो, यसबाट म र मेरो परिवार पूर्णरूपमा सन्तुष्ट छौं ।’
माछिमीकै शेरबहादुर खड्काका चार भाइ छोरा र एक छोरी गरी पाँच सन्तान छन् । जेठा छोरा भूपेन्द्र खरिदार, माइला नायब सुब्बा र साइँला रविन नेपाली सेनामा कार्यरत छन् । कान्छा छोरा र छोरी लोकसेवाको तयारी गरिरहेका छन् । कृषि पेसा गरिरहेका शेरबहादुरले आफ्नो चाहना अनुसार नै छोराछोरी सरकारी सेवामा लागेकामा खुसी व्यक्त गरे । मुसीकोट–३ का वडाध्यक्ष दशरथ केसीले माछिमी गाउँका प्रायः जसो लोकसेवाको प्रतिस्पर्धामार्फत सरकारी जागिरमा जोडिएको विषय सबैका लागि प्रेरणा भएको बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन र नयाँ पुस्तालाई पनि सरकारी सेवामा आबद्ध बनाउन स्थानीय सरकारले लोकसेवा तयारीमा सहयोग गर्ने योजना रहेको बताए । उनले भने, ‘सरकारी सेवामा यो गाउँको योगदानलाई कायम राख्न र देशमै बसेर जनताको सेवा गर्ने यो अवसरमा पछिल्लो पुस्तालाई जोड्न योजना बनाएर लाग्छौं । पूर्वशिक्षक भीमबहादुर खत्री पनि निजामती सेवा प्रवेश गरेर माछिमीले हिजोदेखि बनाएको परिचयलाई कायम राख्न जरुरी ठान्छन् । सरकारले निजामती कर्माचारीलाई समयानुकूल सेवासुविधामा वृद्धि गरेर यसप्रति आकर्षण बढाउन जरुरी रहेको उनको भनाइ छ । - इकान्तिपुरबाट