Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पाठ्क्रम नै नहुँदा बाल शिक्षामा समस्या

बाल विकास कक्षाका शिक्षकहरुको तलब बढाउन माग
tribeni2

रुकुम पश्चिमका बाल विकास कक्षाका शिक्षकहरुले पाठ्क्रमको अभावमा बाल शिक्षा सञ्चालनमा समस्या भैरहेको जनाएका छन् । शनिबार जिल्लाको त्रिवेणी गाउँपालिकामा एक कार्यक्रम आयोजना गरेर उनीहरुले सरकारले बाल शिक्षालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

कार्यक्रममा बाल शिक्षक सञ्जाल रुकुम पश्चिमका अध्यक्ष निर्मला ओलीले कक्षा १ देखि १२ सम्ममा पाठ्यक्रम व्यवस्था गरेको तर केहि स्थानीय तहमा विकास कक्षाको पाठ्क्रम व्यवस्था नगरेको बताउनुभयो । बालबालिकाको सर्वाङ्गिण विकासको पहिलो खुड्किलोमै विभेद भएको भन्दै बाल शिक्षाको विकास राज्यको प्राथमिकतामा नपरेको उहाँले जनाउनुभयो ।

बाल विकास कक्षाको लागि सिकाई सहजिकरण पुस्तिका, निर्देशिका, दैनिक क्रियाकलाप पुस्तिकाको व्यवस्था नहुँदा कक्षालाई थप प्रभावकारी बनाउन समस्या भैरहेको अध्यक्ष ओलीले उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी बाल विकास कक्षाका शिक्षकहरुले बाल शिक्षा र शिक्षकहरुको सेवा सुविधाको सवालमा राज्यले चासो नदिएको गुनासो गरेका छन् । उनीहरुले बाल शिक्षकहरुको तलब र सुविधा बृद्धिको माग गरेका छन् ।

स्थानीय सरकार तथा सरोकारवालाहरुसँगको अन्तरक्रियामा तलब सुविधा बृद्धिको माग गरेको बाल विकास कक्षा शिक्षक कमला चन्दले जानकारी दिनुभयो । हाल संघीय सरकारबाट १० हजार र स्थानीय सरकारबाट सात हजार गरेर १७ हजार रुपियाँ मासिक तलब पाउने गरेको उहाँले बताउनुभयो ।

बढ्दो महंगी र बाल शिक्षकहरुको मेहेनत, आवश्यकताका आधारमा तलब बृद्धि हुनुपर्ने माग बाल कक्षा शिक्षकहरुको रहेको छ । प्राथमिक विद्यालयका शिक्षकहरुको सेवा र सुविधा सरह बाल कक्षा शिक्षकहरुको तलब तथा सुविधा हुनुपर्ने उनीहरुको माग रहेको छ ।

कार्यक्रममा बाल कक्षा शिक्षकहरुका माग र समस्याका बारेमा स्थानीय सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराईएको सञ्जालले जनाएको छ । यसका साथै बाल कक्षा शिक्षकहरुको कामको मूल्याङकन सहि हुनुपर्ने, तालिमको व्यवस्था हुनुपर्ने र तीनै तहका सरकारको बुझाई साझा हुनुपर्ने माग राखिएको सञ्जालका जिल्ला अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले बाल कक्षा शिक्षकहरुका मागहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले बाल शिक्षकहरुलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गरिरहेकोले आगामी दिनहरुमा पनि तालिमको र पाठ्यक्रमको व्यवस्था गरिने अध्यक्ष केसीले बताउनुभयो । त्रिवेणी गाउँपालिकामा मात्र ४५ वटा विद्यालयमा बाल शिक्षाको कक्षा सञ्चालन भईरहेका छन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ति, सामाजिक विकास समितिका संयोजक रण बहादुर पुन, गाउँपालिकाका प्रवक्ता सुन्दर ओली, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्