Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीकाे मुख्यमन्त्री बन्ने शाहीको सपना अधुरै, अबको मुख्यमन्त्री को ?

tribeni2

सुर्खेत / केन्द्रमा सत्तारुढ गठबन्धन टुटेसँगै कर्णालीमा पनि सत्ता समीकरण पनि फेरिएको छ ।

नेकपा एमाले लगायतका दलको सहयोगमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिसँगै कर्णालीमा पनि सत्ता समीकरण फेरिने भएको हो ।

केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताइन् । ‘अब माओवादी र एमालेको सरकार बन्छ । राप्रपाको पनि साथ रहन्छ, अध्यक्ष केसीले भनिन् ।

राष्ट्रिय राजनीतिमा तरङ्ग आएसँगै प्रदेशमा अबको मुख्यमन्त्री को भन्नेबारे चर्चा हुन थालेको छ । नेकपा र एमाले विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित उम्मेदवार छन् ।

कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने अध्यक्ष केसीले बताइन् । तर केन्द्रमा भागबण्डा नभएकाले पहिला कस्ले नेतृत्व गर्ने भन्ने बारे पछि टुंगो लाग्ने उनको भनाइ छ ।

केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आकलन पनि गरिएको छ । एमाले भन्दा माओवादीको सिट धेरै भएकाले पनि कर्णालीमा माओवादी नेतृत्वमा सरकार बन्ने नेताहरु बताउँछन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ । राप्रपा पनि सरकारमा गए २४ सिट हुनेछ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ ।

एमाले–माओवादीबीचको समीकरण बन्ने भएपछि नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीको मुख्यमन्त्री बन्ने चाहना पूरा नहुने भएको छ । हालका मुख्यमन्त्री शाही पुन: सोही पदमा दोहोरिन चाहेका थिए र उनी संसदीय दलको नेतासमेत चयन भएका छन् ।

माओवादीबाट रुकुम पश्चिमका राजकुमार शर्मालाई सम्भावित मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ । सुर्खेतका विन्दमान विष्टको पनि चर्चा कायमै छ ।

कांग्रेससँग प्रदेशमा १४ सिट रहेको छ । यदि स्वतन्त्रको १ र एकीकृत समाजवादीको एक सिट साथमा लिए पनि कांग्रेसको बहुमत पुग्न सक्ने स्थिति छैन । - अनलाइनखबर 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्