प्रचण्डलाई रुकुमबाट बधाई सहित तीन सुझाव

व्यक्तिगत इगो र हठलाई त्यागेर बृहत कम्युनिष्ट एकताको लागि पहल गर्नुपर्ने

आईतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक नेपालको प्रधानमन्त्री बन्नु भएको छ ।

दश वर्षे जनयुद्धको नेतृत्व हुँदै देशको ४४ औ प्रधानमन्त्री हुनुभएका प्रचण्डलाई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले रुकुमबाटै बधाइ सहित तीन सुझाव दिनुभएको छ ।

उहाँले माओवादीको नेतृत्वमा जनताको जीवनस्तर बदलेर देशको समृद्धिको कामना सहित महत्वपूर्ण सुझाव सार्वजनिक गर्नुभएको हो । जनयुद्धको आधार इलाका मानिएको रुकुमबाट रोकाले आफ्नै पार्टीका केन्द्रिय अध्यक्षलाई महत्वपूर्ण तीन सुझाव दिनुभएको हो । उहाँले बधाईलाई दीर्घकालिन खुशिमा बदल्न तीन वटा कामलाई मुख्य प्राथमिकता दिन अनुरोध गर्नुभएको छ ।

रोकाले उल्लेख गर्नुभएका तीन कुरा यहाँ उल्लेख गरिएको छ ।

तेस्रो पटक प्रधानमन्त्री हुनुभयो बनाउनुभयो बधाई छ ।

यो बधाईलाई दीर्घकालीन खुशीमा बदल्न ३ वटा कामलाई मुख्य प्राथमिकतामा राखौं ।

१. निर्माणाधिन ऐन कानुनलाई यथाशिघ्र टुङ्गो लगाई शान्ति प्रक्रियालाई पूर्णता दिने ।

२. ठुलठूला विकासका महत्वाकांक्षी सपना देखाउनतिर नलागी वर्षौंदेखि अलपत्र परेका विकासे आयोजनाहरुलाई तिव्र गतिका साथ सम्पन्न गर्ने, विकासको लागि बाधक देखिएका खरिद ऐन र वन सम्बन्धी ऐन कानुनमा संशोधन गर्ने, आयोजना अलपत्र पार्नेहरुलाई ठाँउको ठाँउ कार्वाही गर्ने, सरकारको सेवा प्रवाह (service delivery) मा क्रान्तिकारी सुधार ल्याउने ।

३‍. व्यक्तिगत इगो र हठलाई पूर्ण रुपमा त्यागेर बृहत कम्युनिष्ट एकताको लागि सार्थक पहल गर्ने । व्यक्तिगत स्वार्थ र कुण्ठालाई छिन्नी भिन्न सैद्धान्तिक जामा भिराएर वाम एकता कमजोर पार्ने खालको दाउपेच पूर्ण रुपले बन्द गर्ने ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्