दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौँ /  प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको हो ।

एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बन्नुभएको छ । एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्री बन्नेहरूमा एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई रहेका छन् । त्यस्तै जनमत पार्टीका उपाध्यक्षसमेत रहेका अब्दुल खानले पनि मन्त्रीको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूको कार्यभार पछि तोकिने बताइएको छ ।

सोमबार पहिलो चरणमा मन्त्रिपरिषद् गठन गरिएको र पछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्