Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कामबाट निकालिएका १३ नेपाली मलेशियामा अलपत्र

रुकुम पश्चिमका ४ जना र सुनसरीमा ९ जनालाई कम्पनीले झुक्काएर सम्झौता गराएको आरोप
tribeni2

नेपालबाट रोजगारीको सिलसिलामा मलेसिया पुगेका १३ जना युवा अलपत्र परेका छन् । कम्पनीले कामबाट निकालेपछि १३ युवाहरु एक महिनादेखि एउटा कोठामा थुनिएर बसेको जनाएका छन् ।
रुकुम पश्चिमका चार जना र सुनसरीका नौ जना युवाहरु मलेसियाको निलाई ७ मा अलपत्र गरेको जनाएका छन् । बैदेशिक रोजगारीको लागि गत कार्तिकमा उनीहरु मलेसिया पुगेका थिए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ४ का ईन्द्रबहादुर ओली र टिकाराम भण्डारी, सोहि नगरपालिका ११ का टेकबहादुर केसी र सुनिल शाहसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई, दिपकचन्द्र बंशी, देवनारायण यादव, भरतप्रसाद यादव, सन्तोष यादव कामबिहिन अवस्थामा रहेका छन् । त्यसैगरी सुनसरीकै कोशि गाउँपालिकाका विवेक कुमार मण्डल, हरिनगरा गाउँपालिकाका सुधिर कुमार पाल, कुन्दनकुमार पाल र दिपेन्द्र कुमार पाल अलपत्र परेको जनाएका छन् ।

उनीहरु रुकुम पश्चिमका यज्ञबहादुर बटाला, सुनसरीका शम्भु मण्डल र विष्णु घिमिरे एजेन्ट मार्फत ग्लोबल रिक्रुटमेन्ट प्रा.लि.नामक मेनपावरको सम्पर्कमा गएका थिए । यहि मेनपावर कम्पनीले उनीहरुलाई एचआर त्रिबेणी मेनपावरबाट भिसा लगाएर मलेशियामा क्लिनरको काम गर्ने भन्दै पठाएको पीडितहरुले जनाएका छन् ।

ग्लोबल मेनपावरका हरि क्षेत्रीले आफूहरुलाई कामको ब्रिफिङ गर्दा सजिलो काम र धेरै पैसा आउने भन्दै आश्वास दिलाएको उनीहरुले जनाएका छन् । तर उता जाँदा जंगलको अप्ठ्यारो काममा लगाएको जनाईएको छ ।

मलेसियामा आफूहरु अलपत्र अवस्थामा रहेको बताउनुहुँदै ईन्द्रबहादुर ओलीले उद्धारको लागि अपिल गर्नुभएको छ । असाध्यै अप्ठ्यारो अवस्थाको काममा लगाएपछि आफुहरु काम गर्न नसक्ने अवस्थामा पुगेको उहाँले जनाउनुभयो । आफूलाई नेपालको कम्पनीले झुक्काएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको कुरा मलेसिया पुगेर मात्र थाह भएको ओलीको भनाई छ ।

सम्झौता अनुसारको काममा लगाईपाउँ भन्दा कम्पनीले हामीलाई निकालिदियो, कसरी बाँच्ने हो ? हामीलाई समस्या भयो,’ मलेसियाबाट सुनसरीका सन्देश राईले गुहार गर्दै भन्नुभयो ‘हामीलाई कि काम गर्ने, कि घर पुग्ने वातावरण मिलाईदिनुपर्यो ।’ पीडितहरुका अनुसार कम्पनीले एर्पोट पुगेको बेला भिसा, टिकट र पासपोर्ट एकैसाथ दिएको थियो । अंग्रेजिमा भएकोले आफूहरुले कामको पढ्न नसकेको तर मलेसिया पुग्दा भनिएको काम भन्दा फरक रहेको थाहा भएको उनीहरुको भनाई छ ।

ईलाईट ह्युमन रिसोर्स कम्पनीले ग्लोबल ईन्टरनेशनल म्यानपावर मार्फत मलेसियाको नेगिरी सिम्बिलिन भन्ने ठाउँमा रहेको पिआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा उनीहरुलाई पठाएको बुझिएको छ ।

आफूहरु नेपालबाट आउँदा जनही दुई लाख ६० हजार देखि दुई लाख ८० हजार सम्म तिरेको आएको उनीहरुले बताएका छन् । अब नेपाल फर्काईदेउ भन्दा कम्पनीले उल्टै पैसा माग्ने पैसा माग्ने गरेको उनीहरुको गुनासो रहेको छ ।

म्यानपावर कम्पनीका एजेण्ट सुनसरीका बिष्णु घिमिरेले आफूहरु मार्फत मलेसिया पुगेर अलपत्र परेका भनिएका युवाहरुलाई कि काममा लगाउन कि नेपाल फर्काउन मेनपावर कम्पनीसँग लगातार दवाव दिईरहेको बताउनुभयो । उहाँले कम्पनीलाई तुरुन्त भनेबमोजिमको काममा लगाउन अल्टिमेटम दिएको उल्लेख गर्नुभयो । काममा नलगाएमा भोलिबाटै नेपाल फर्काउन थालिने उहाँले उल्लेख गर्नुभयो ।

रुकुमको चौरजहारी निवासी एजेन्ट यज्ञबहादुर बटालाले कम्पनीले भने अनुसारको काममा नलगाएकोले कम्पनी परिवर्तन नै गर्ने प्रक्रियामा गएको बताउनुभयो । ‘कम्पनी बदल्नको लागि पासपोर्ट अर्को कम्पनीमा बुझाईसकेका छौ,’ बटालाले भन्नुभयो, ‘केहि दिनमै काम बन्नेछ ।’ उहाँले नआत्तिन समेत अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्