Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुन्तला प्रशोधन तथा जुस उत्पादन तालिम पाएपछि किसान खुशी

२०७९ पुस १२
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ७ र ८ सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिन्छ । यहाँका किसानहरु सुन्तला खेतीबाट जीविकोपार्जन गरिरहेका छन् । सुन्तलको बगैचा नै बनाएर खेती गरेता पनि यहाँका सुन्तलाले बजार नपाउँदा भने किसानहरुलाई समस्या गुनासो आउने गरेको छ ।

किसानहरुको यहि समस्यालाई मध्यनजर गर्दै एकिकृत कृषि तथा पशुपक्षि विकास कार्यालयले सुन्तला प्रशोधन तथा जुस उत्पादन सम्बन्धि तालिम दिएको छ । तालिम पश्चात किसानहरु खुशी भएका छन् । गत आईतबार देखी मंगलबारसम्म सुन्तलाको जुस प्रशोधन सम्बन्धि तालिम सिस्ने गाउँपालिकाको वडा नम्बर ८ लम्पाकोटमा चलाईएको थियो ।

एकिकृत कृषि तथा पशुपक्षि विकास कार्यालयले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका ७ र ८ नम्बर वडाका व्यावसायिक सुन्तला कृषकहरुलाई लक्षित गरेर तीन दिने तालिमको आयोजना गरेको थियो ।

भौगोलिक हिसाबले सदरमुकाम भन्दा टाढा र जिल्लामा राम्रो बजारीकरण नहुदा यहाँका सुन्तला लामो समयसम्म नरहने हुदा सोचेको आम्दानी नहुने गुनासो किसानहरुको रहेको छ । बोटसम्म पुग्ने उपभोक्ताहरुले ठूलो र गुणस्तरीय सुन्तला मात्र किनबेच गर्ने तर सानो सानो दाना भने कुहिएर जाने समस्या पनि यो तालिमले हल गर्ने तालिम प्रशिक्षार्थी तथा कृषक गणेश रावलले बताउनुभयो । तीन दिनसम्म सिकेको यो तालिमलाई व्यवहारमा उतार्दै जुस प्रशोधन व्यवसायलाई अझ फस्टाउदै लैजाने उहाँले बताउनुभयो ।

यस्तै सिस्ने गाउँपालिका ८ का किसान गीता कल्यालले सुन्तला खेती गर्दै आएको तर उत्पादित सुन्तलाहरुले राम्रो बजार नपाउदा यस तर्फ मन मर्दै गएको भएपनि यो तालिमले भने लघुउद्यमी तर्फ आकर्षित गरेको बताउनुभयो । लामो समयसम्म भण्डारणका लागि चिस्यान घर नहुँदा र समयमै बिक्रि नहुदा गरेको मेहनत खेर जाने गरेको बताउनुहुँदै उहाँले अब भने बिक्रि नभएको सुन्तलाबाट जुस प्रशोधन गरी व्यावसायिक बन्न सकिने बताउनुभयो ।

किसानहरुको मागमा आधारित रहि आयोजना गरिएको यो तालिमले बिक्रि नभएका सुन्तलाहरुको पनि व्यवस्थापन गर्न सकिने एकिकृत कृषि तथा पशुपक्षिं विकास कार्यालय रुकूम पूर्वका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो ।

तालिमबाट जुस उत्पादन देखि प्याकेजिङ र बजारीकरणसम्म कार्यको लागि वडामै सुन्तला जुस उत्पादन समूह गठन गरिएको र अबका दिनहरुमा उक्त समितिले नै बजारीकरणका लागि काम गर्ने बस्नेतले बताउनुभयो । आज नै उक्त समितिलाई जुस प्रशोधन मेसिन पनि कार्यालयले हस्तान्तरण गरेको छ ।

३ दिनसम्म संचालन गरेको उक्त तालिममा १ सय ५ के जी सुन्तलाको जुस निकालिएको छ । तालिमको प्रशिक्षण खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका भेष बहादुर थापाले दिनु भएको थियो ।

कार्यालय प्रमुख पिताम्बर बस्नेतको अध्यक्षता रहेको तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहोन बहादुर के सी को प्रमुख आतिथ्यता र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, ७ नम्बर वडा अध्यक्ष शसिधर बुढा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन कृषि अधिकृत थलराज बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्