यस्तो बन्दैछ रुकुमकोटको छिप्रिदह

छिप्रीदहको संरक्षण र सौन्दर्यताका लागि मन्दिर र पार्क बनाईदै
२०७९ पुस १४

रुकुम पूर्व / छिप्रिदह, रुकुम पूर्वको सिस्ने गाउँपालिका –६ रुकुमकोटमा रहेको ऐतिहाँसिक एवम् धार्मिकस्थल हो । यहि छिप्रिदह संरक्षणको लागि मन्दिर र पार्क निर्माणको काम अघि बढेको छ ।

रुकुमकोट शहरिकरणउन्मुख भएपछि बढेका विभिन्न गतिविधिहरुको कारण छिप्रिदह संकटका परेको भन्दै स्थानीय सरकारले छिप्रिदह संरक्षण तथा मन्दिर निर्माण योजना ल्याएको हो ।

प्राचिनकालमा राधा र कृष्णको विवाह भएको स्थानका रुपमा छिप्रिदहलाई लिने गरिएको सिस्ने गाउँपालिका वडा नम्वर –६ का पूर्व अध्यक्ष सुधन रेग्मीले जानकारी दिनुभयो । विवाहका वखत हवनगर्दा जलकुण्ड बनेको स्थान छिप्रिदह र त्यसको करिब ५० मिटर पर खोप्टेनीमा अग्नीकुण्ड बनेको किंवदन्ती रहेको छ ।

रेग्मीका अनुसार शिवलिङ्गको माथी ब्रह्मपासको आकारमा उत्तरपट्टि फर्केको अवस्थामा छिप्रिदह रहेको छ । वर्षायाममा छिप्रिदह पानीले भरिएमा खोप्टेनीमा पानी निस्कने गर्दछ ।

सिस्ने गाउँपालिका –६ मा रहेको हालको छिप्रिदह ।

सिस्ने गाउँपालिका ६ का ८० वर्षिय तारकबहादुर शाहका अनुसार धेरै वर्ष पहिला छिप्रिदहको पानी पीउन योग्य थियो । नजिकै रहेको बिन्द्यावासीनी मन्दिरमा जल चढाउन छिप्रिदहकै पानी प्रयोग गरिन्थ्यो । यसका अलावा छेउछाउमा आएर गाईभैसीले पानी पिउने गर्दथे ।

ऐतिहाँसिक र धार्मिक आस्था बोकेको छिप्रिदह शहरिकरण र बढ्दो जनसंख्याको कारण संकटमा पर्नथालेपछि संरक्षणको बृहत योजना बनाएको पूर्व वडा अध्यक्ष रेग्मीले उल्लेख गर्नुभयो ।

रुकुमकोट बजारको ढल निकास गर्दा जम्मा भएको फोहोरले दहको सौन्दर्यता हराएपछि छिप्रिदह संरक्षण तथा मन्दिर निर्माणको बृहत योजना बनाएर काम सुरु गरिएको हो । उहाँका अनुसार यस योजनामा सिस्ने गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले लगानी गरेको छ ।

बिस्तृत आयोजना प्रतिवेदन अनुसार अहिले दहमा मन्दिर निर्माणको काम सुरु भएको छ । तलाउको बीचमा मन्दिर निर्माणको लागि पुल बनाउनलाई पिल्लर निर्माण गरिसकिएको छ ।
रेग्मीका अनुसार छिप्रिदह संरक्षण पश्चात सुन्दर रुकुमकोटको सौन्दर्यता थप बढ्नेछ । छिप्रिदहको बीचमा शेषनाग माथी बिष्णुको मन्दिर हुनेछ । कमलको फूललाई शेषनागले घेरेको, फूलमाथी ब्रह्मजी बसेको मन्दिर बन्ने उहाँले जनाउनुभयो ।

यस्तो हुनेछ छिप्रिदह

सिस्ने गाउँपालिका इन्जिनियर कर्ण केसीका अनुसार नौ रोपनी जग्गामा छिप्रिदह रहेको छ । दहमा निर्माण भएका ५० पिलर माथी यो वर्ष ढलान हुनेछ । दह माथीको पुल र मन्दिरको निर्माणस्थल यसै बर्ष ढलान पश्चात दुईतले मन्दिर बन्नेछ । यस कार्यका लागि ७६ लाखमा ठेक्का सम्झौता भैसकेको छ ।

मन्दिरमा डाँची इट्टा फिनिसिङ्गको रुपमा प्रयोग हुनेछ भने सालको मात्र काठ प्रयोग हुनेछ । मन्दिरमा आँखि झयाल रहेन छ भने बुट्टा कुदिएका ढोका रहनेछन् । मन्दिरको गुजर प्यागोडाशैलीको तामाको हुनेछ ।

दहको वरिपरी घेराबार हुनेछ, त्यसभित्र फुटपाथ हुनेछ । योसँगै चारैतिर रेलिङ्गको योजना रहेको छ । दहको उत्तरपट्टि प्रवेशद्वार हुनेछ । त्यसलगत्तै पानीको फोरा फाल्ने वाटर फाउन्टेन हुनेछ । अनि बल्ल मन्दिर जाने पुल आउनेछ । त्यसपछि तालको अवलोकनका लागि गोल घेरामा काठे पुल पनि हुनेछ । जहाँबाट दह र मन्दिरको फोटो लिन सकिनेछ ।

फुटपाथको ६ स्थानमा आरामदायी बेन्च हुनेछ । दहको बाहिरी घेरामा थप सुन्दरताको लागि वृक्षारोपन हुनेछ । यस बृहत योजनाको लागि चार करोड ४६ लाख ५२ हजार ४८५ को लागत अनुमान गरिएको छ ।

एगल्स सोलुशन काठमाडौले आर्थिक वर्ष ०७७÷०७८ मा यो बिस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो । आर्थिक वर्ष ०७८÷०७८ बाट काम सुरु भएको यो योजना प्रदेशको समपुरक योजनामा समावेश भएको छ । संसद विकास कोषको १७ लाख, सिस्ने गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको सहलगानीमा ९६ लाख गरेर एक करोड १३ लाख रुपियाँ लगानी भैसकेको सिस्ने गाउँपालिकाले जनाएको छ ।

उक्त योजना तीन वर्षसम्म सिस्ने गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको समपुरक योजना अन्तर्गत निर्माण संचालन हुनेछ भने बाँकि श्रोतको खोजी गरिने बताईएको छ ।

दहमाथी मन्दिर सहितको कृतिम संरचना बनाउनुको उद्धेश्य दहको ऐतिहाँसिक महत्वलाई संरक्षण र थप प्रवद्र्धन गर्नु रहेको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । यसका साथै सार्वजनिक सम्पति माथी हुनसक्ने अतिक्रमणलाई रोक्नको लागि पनि यस खालका योजना गाउँपालिका अगाडि सारेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

यस कार्यले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको समेत रेग्मीको भनाई छ । यस खालका गतिविधिमा गाउँपालिकाले पर्यटन शुल्क लगाएर आन्तरिक आयमा बृद्धि गर्नेछ भने स्थानीयको आर्थिक अवस्थामा समेत टेवा जनाईएको छ ।


(तस्बिरहरु एगल्स सोलुशन काठमाडौले तयार पारेको आयोजनाको बिस्तुत परियोजना प्रतिवेदनबाट लिईएको हो ।)

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्